राजनीतिक परामर्श भईरहेको छः अध्यक्ष दाहाल

काठमाडौ, २२ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रियाको मूलभूत विषयका रुपमा रहेको सेना समायोजनको कार्य सकिएपछि संविधान लेखनले तिव्रता पाउने बताएका छन् ।

संवैधानिक समितिका सभापति नीलाम्वर आर्चायसँग आफ्नै निवास लाजिम्पाटमा आज विहान भएको भेटका क्रममा अध्यक्ष दाहालले शान्ति र संविधानका लागि आफू गम्भिर रहेको बताए । उनले  निकासका लागि राजनीतिक परामर्श निरन्तररुपमा चलिरहेकाले जेठ १४ भित्र संविधान आउने बताएको भेटपछि सभापति आर्चायले जानकारी दिए ।

चैत्र मसान्तसम्ममा सेना समायोजनको काम सकिने र संविधान लेखनलाई गति दिन सहज हुने अध्यक्ष दाहालको भनाई थियो ।

दाहालले संविधान लेखनमा देखिएका विवादित मुद्दामा समाधान खोज्नका लागि सभापति आचार्यको पहलप्रति आफू सकारात्मक रहेको र यस विषयलाई चाँडै नै अन्तिम टुङ्गोमा पुराउने आश्वासन दिए ।

समिति सभापति आचार्यले संबिधानसभाको म्याद छोटिँदै गएकाले संविधान निर्माणमा गम्भीर बन्न दाहाललाई आग्रह गरेका थिए । प्रमुख दलका शीर्ष नेताहरुको ध्यान संविधान निर्माणमा केन्द्रित गर्न भेटवार्तालाई तिब्र बनाउदै आएका आर्चायले आज एमाओवादी अध्यक्ष दाहालसँग भेटगरेका हुन् ।

आर्चायले संविधानसभाको म्याद सकिन अब ५४ दिन मात्रै बाँकी रहेका बारेमा समेत दाहालको ध्यानाकर्षण गराएका छन् ।

दलहरुका बीच संविधानसभामा मुख्य गरी राज्यको पुनःसंरचना, निर्बाचनप्रणाली, शासकीयस्वरुपलगायतमा मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया