सहकारी ‘हब’ बन्दै काभ्रे

केही वर्ष पहिले छोराछोरी पढाउन ऋण काढ्नु पर्ने रविओपी-४, काभ्रेका ४६ वषर्ीय रघुनाथ कोइरालालाई अहिले खर्चको समस्या छैन । एउटा गाई पालेर व्यवहार चलाउन नसकेका कोइरालाको जीवन एकाएक सेतीदेवी दुग्ध उत्पादक सहकारीले परिवर्तन गर्‍यो ।
२०५० सालमा एउटा गाई पालेर दूध बिक्री गर्ने कोइराला अहिले उन्नत जातका आठवटा गाईमार्फत दैनिक ४५ लिटर दूध बिक्री गर्न थालेका छन् । सहकारीले उपलब्ध गराएको सहुलियत दरको रासायनिक मल, ढुटो पिना, दाना, पशु खोप, पशु क्षतिको राहत, भुसा काट्ने मेसिनमा अनुदान, सुधारिएको गोठ निर्माणमा सहयोग, डाले घाँस वितरण, अवलोकन भ्रमणमार्फत कोइराला परिवार एकल व्यावसायिक पशुपालनमा लागेका हुन् ।
दुई छोरालाई दूध बिक्रीकै आम्दानीबाट निजी विद्यालयमा अध्यापन गराइरहेका कोइराले विएसम्मको अध्ययनपछि छोरीको विवाह गरिदिसकेका छन् । जिल्लाकै उत्कृष्ट किसानको रूपमा पुरस्कृत कोइरालाको प्रयासलाई सहकारीबाहेक अन्य निकायको सहयोग छैन । सहकारीका अध्यक्ष टीकाबल्लव सापकोटाले कृषकलाई थप व्यावासायिक बनाउन नया कार्यक्रम लागू गर्न लागेको जानकारी दिए ।
काभ्रेमा दर्ता भई कारोबार गरिरहेका अधिकांश सहकारीले धेरै परिवर्तन ल्याइसकेका छन् । वाषिर्क ६ अर्बको कारोबार गर्ने काभ्रेका सहकारीमार्फत विद्यालय तथा अन्य उद्योग कलकारखाना, लघु उद्यम, स्वरोजगारका कार्यक्रममार्फत हजारौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । यहाँ प्रत्यक्ष रूपमा करिब सात हजारले सहकारीमा काम गरिरहेको जिल्ला सहकारी संघको अनुमान छ । काभ्रे पछिल्लो समय सहकारी ‘हब’का रूपमा विकास हुँदै गएको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी बताउँछन् ।
चालु आवको १५ चैतसम्म डिभिजन सहकारी कार्यालय काभ्रेमा एक हजार एक सय ४४ मध्ये सातवटा सहकारी एकीकरण भइसकेका छन् । यहाँ सञ्चालनमा रहेका बचत तथा ऋणमा चार सय ४९, बहुउद्देश्यीय एक सय ८३, दुग्ध दुई सय ७२, कृषि एक सय २६, विद्युत् १७, पशु बिमा ११, सीपमूलक ११, कफी सात, विविध सात, उपभोक्ता सात, तरकारी सात र पुराना सहकारी नौवटा दर्ता भएका छन् ।
सहकारी ऐन, २०४८ अनुसार ३० सहकारीलाई खारेजीको सूचना प्रकाशित गरिसकेको डिभिजन सहकारी कार्यालय काभ्रेका प्रमुख राजेन्द्र पौड्यालले बताए । खारेजीको सूचीमा परेका सहकारीमा २७ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् ।
सहकारीलाई व्यवस्थित गर्न र विश्वसनीय बनाउन सहकारी वर्षलाई उपयोग गर्दै सहकारी खुल्न नसकेका गाउँ विकास समितिमा सहकारी स्थापना गर्ने र धेरै भएका स्थानमा एकीकरण गर्ने अभियान सुरु गरिएको जिल्ला सहकारी संघका अध्यक्ष शुभ अधिकारीले बताए । काभ्रेमा तीन सहकारी एकीकरण गरी नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले कारोबार सुरु गरेको हो । करोडौं रकम कारोबार रहेको काभ्रेको सामुदायिक र मनकामना सहकारी पनि एकीकरण भएका छन् । शिक्षकहरूको सहकारी पनि एकीकरण भएको थियो । २०४८ सालको सहकारी ऐनपछि मात्र काभ्रेमा सहकारीको विकास भएको हो ।

करोडभन्दा बढी सेयर पुँजी रहेका सहकारी

विन्द्यबासिनी साकोस खोपासी : संस्थाको कूल सेयर पुँजी फागुन मसान्तसम्म ५५ करोड ६४ लाख ६९ हजार रुपियाँ रहेको छ । बचततर्फ ३९ करोड ८८ लाख ७८ हजार र लगानीतर्फ ३८ करोड आठ लाख ५६ हजार एक सय ९२ रुपियाँ रहेको छ । । यसले ५० करोड ७८ लाख ९९ हजार रुपियाँको कारोबार गरेको छ । यसमा ११ हजार २ सय ६० सेयरधनी रहेका छन् ।  बचतमा  यसले  आठदेखि १३ दशमलब ५ प्रतिशत ब्याज  दिने गरेको छ भने कर्जामा  १७ देखि १८ दशमलब ५  प्रतिशत ब्याज लिने गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ लाई लक्षित गरी अन्तर बैकिङ कारोबार, जेष्ठ बचत सदस्य कार्यक्रम, अपांग सदस्यलाई वाषिर्क भत्ता, उपचार कोषको व्यवस्था, लघु जीवन बिमा कार्यक्रम गर्ने बताएको छ ।
सामुदायिक साकोस पनौती  सात हजार पाँच सय ५० सदस्य रहेको यो सहकारीमा  सेयर पुँजी चार करोड ५९ लाख ८९ हजार रुपियाँ रहेको छ । यसले बचत निक्षेपमा  २७ करोड ९४ लाख १८ हजार संकलन तथा  ऋण लगानीमा २८ करोड ७१ लाख १२ हजार कर्जा प्रवाह गरेको छ । १४ माघ २०५१ मा स्थापना भएको यसले २०६५ मा राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पाइसकेको छ । त्यसैगरी २०६८ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ – नेफ्स्कुन)बाट पनि पुरस्कृत भइसकेको छ ।
मनकामना साकोस : नौ सय ५८ सदस्य रहेको यो सहकारीका सेयर पुँजी एक करोड २२ लाख २८ हजार रुपियाँ रहेको छ । यसले बचततर्फ १२ करोड ८० लाख ८८ हजार र  ऋण तर्फ १३ करोड २० लाख ८७ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । यसको कूल सम्पत्ति १५ करोड ५४ लाख ९६ हजार रुपियाँ रहेको छ । १८ मंसिर २०५२ मा स्थापना भएको हो ।
बनेपा विकास साकोस : शेयर पुँजी तीन :करोड ४९ लाख तनि हजार रुपियाँ रहेको यो सहकारीको सेयर सदस्य संख्या एक हजार दुई सय ७५ रहेको छ । यसले निक्षेपमा ११ देखि १७ प्रतिशतसम्म ब्याज दिने गरेको छ । यो सहकारीले सेयर सदस्यको स्वास्थ्य परीक्षण,  ट्राफिक व्यवस्थापनमा सहयोग, सडक बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरणजस्ता सामाजिक कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।
मोडल डेभलपमेन्ट साकोसः  सेयर पुँजी एक करोड ६८ लाख ८० हजार रहेको यसको निक्षेप तीन करोड ६९ लाख ४० हजार रुपियाँ रहेको छ । ऋणतर्फ  पाँच करोड आठ लाख ६० हजार रुपियाँ प्रवाह गरेको छ । यसले पाँच करोड ६१ लाख १४ हजार रुपियाँ कारोबार गरेको छ । बचतमा १० देखि १६ दशमलब पाँच तथा ऋणमा १६ देखि १८ दशमलब पाँच प्रतिशत ब्याज लिने गरेको छ ।
अभाष साकोसः सेयर पुँजी चार करोड ४२ लाख ४४ हजार रुपियाँ रहेको यो सहकारीको निक्षेप नौ करोड १६ लाख ८० हजार रुपियाँ रहेको छ । कर्जा लगानी तथा सापटीतर्फ यसले १२ करोड १८ लाख ९८ हजार दुई सय  प्रवाह गरेको छ । एक हजार तनि सय ६ सदस्य रहेको यो सहकारीले बचतमा ९ देखि १६ प्रतिशत र ऋणमा १७ देखि २० प्रतिशत ब्याज लिने गरेको छ । २०६४ सालमा स्थापना भई छोटो समयमै सदस्यहरूको मन जित्न सफल यसले ठूला योजनामा समेत लगानी गर्ने लक्ष्य राखेको छ । सामाजिक कार्यअन्तर्गत आँखा शिविर, रक्तदान,  वृद्धवृद्धाको हेरचाहजस्ता कार्यलाई पनि यसले निरन्तरता दिएको छ ।
बुडोल सामुदायिक साकोसः तीन हजार एक सय ७५ जना सदस्य रहेको यो सहकारीले ४९ लाख नौ हजार रुपियाँ लगानी गरेको छ । यसको स्थिर सम्पत्ति  ४० लाख ६२ हजार रुपियाँ रहेको छ । कूल कारोबार १९ करोड ८९ लाख ६२ हजार रहेको पनि उसले जनाएको छ । यसले संस्थामा आबद्ध भएका सदस्यलाई निःशुल्क  एक लाख रुपियाँ बराबरको दुर्घटना बिमा,  मृत्यु वा अशक्त भएमा  २० हजार, मनिट्रान्सफर सुविधा,  तीन सय ६५ दिन नै काउन्टर सुविधा, लेट डिपोजिट र कल डिपोजिट सुविधा, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, सुत्केरी भेटघाट तथा खुत्रुके वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
लक्ष्मी महिला साकोस :  महिलाहरू मात्रै संलग्न भई २०५६ जेठमा स्थापना भएको यसको बचत रकम दुई करोड २४ लाख ७० हजार रुपियाँ रहेको छ । अन्य लगानी चार लाख ९५ हजार,  ऋण लगानी दुई करोड ५८ लाख ९३ हजार रहेको छ । यसको कूल पुँजी तीन करोड १६ हजार रहेको छ भने  जगेडा कोषमा  आठ लाख २० हजार रुपियाँ छ । यसमा नौ सय ६३ सदस्य संख्या रहेका छन् ।
सेतीदेवी दुग्ध उत्पादक सहकारी : २०५० सालमा ग्रामीण भेगमा स्थापना भएको यो सहकारीमा ५ सय ४० सदस्य रहेका छन् । एक करोड दुई लाख ४७ हजार रुपियाँ बचत रहेको यो सहकारीले वाषिर्क चार करोड ८१ लाख ८७ हजार रुपियाँको कारोबार गर्ने गरेको छ । यसको तीनवटा दूध संकलन केन्द्र रहेका छन् भने दैनिक दुई हजार पाँच सयदेखि तीन हजार रुपियाँसम्म दूध संकलन गर्ने गरेको छ । यो सहकारी ०६६ र ०६७ मा पुरस्कृत भइसकेको छ ।
सफल साकोसः २०६५ मा स्थापना भएको यसको कूल सेयर पुँजी ५५ लाख रुपियाँ रहको छ । बचततर्फ एक करोड  र  कर्जा लगानी एक करोड ३५ लाख  गरेको यसमा ६ सय ७५ सदस्य रहेका छन् ।  बचतमा १० देखि १५ दशमलब पाँच र कर्जामा १८ देखि २१ दशमलब पाँच प्रतिशत ब्याज लिने गरको छ ।
पिपुल्स साकोसः एकका लागि सबै र सबैका लागि एक भन्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको यो सहकारीमा दुई हजार दुई सय ७१ जना सदस्य रहेका छन् ।  सेयर पुँजी ८४ लाख ४२ हजार रहेको यसको बचत तीन करोड ५१ लाख ७३ हजार रहेको छ  । कर्जातर्फ तीन करोड ९९ लाख ८७ हजार रुपियाँ प्रवाह गरेको छ । यसले सुयोग्य नारी बचत योजना, पिपुल्स डायमन्ड बचत योजना, जेष्ठ नागरिक सम्मानजस्ता खाता सञ्चालनमा ल्याएको छ ।
ज्ञानकुञ्ज विद्यालय सहकारी : २०५९ सालमा स्थापना भएको यो सहकारीले विद्यालय स्थापना गर्ने अवधारणा नै नभएको समयमा ज्ञानकुञ्जले विद्यालय स्थापना गरी सञ्चालन गरेको हो । माध्यमिक तहको शिक्षासँगै उच्च मावि र क्याम्पस तहको कक्षा यसले सञ्चालन गरिरहेको छ । एक सय ५० विद्यार्थीलाई छात्रवृत्ति दिएको यो सहकारीमा  ५९ सेयर सदस्य रहेका छन् ।
ज्योति साकोसः सेयर पुँजी एक करोड १६ लाख ६९ हजार रुपियाँ रहेका यसको जगेडा कोष ३३ लाख ६ हजार रुपियाँ रहेको छ । बचत रकम दुई करोड ९७ लाख ५३ हजार रहेको यसको कूल  दायित्व चार करोड ७९ लाख ५० हजार रुपियाँ छ । सदस्य संख्या तीन हजार ६ सय ५१ रहेको यो सहकारीले बचतमा सात दशमलब पाँच देखि १४ दशमलब पाँच प्रतिशत ब्याज दिने गरेको छ भने ऋणमा १६ दशमलब पाँचदेखि १८ दशमलब पाँच प्रतिशत लिने गरेको छ ।
अर्थभूमि साकोसः सेयर पुँजी एक करोड पाँच लाख  रुपियाँ रहेको यसको बैंक मौज्दात ९५ लाख ५२ हजार रुपियाँ रहेको छ । यसले तीन करोड ५६ लाख १३ हजार रुपियाँ लगानी गरेको  छ । यसको कूल कारोबार  चार करोड ७४ लाख रुपियाँ रहेको छ । बचतमा १० देखि १७ दशमलब पाँच तथा ऋणतर्फ १८ देखि २० दशमलब पाँच प्रतिशत ब्याज लिने गरेको छ ।

प्रतिक्रिया