चिनियाँ प्रतिनिधि मण्डल आउने

काठमाडौं, १९ चैत । चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा अल चाईना वुमन फेडरेशनकी उपाध्यक्ष चेन झिली नेपाल भ्रमणका क्रममा सोमवार काठमाडौं आउनु हुने भएको छ ।

भ्रमणका क्रममा झिलीले कुटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ । प्रवक्ता शर्माले झिली नेतृत्वको १६ सदस्सीय भ्रमण टोलीले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्षलगायतका पदाधिकारीसंग शिष्टाचार भेटघाट गर्ने जनाएका छन् ।

त्यस क्रममा नेपालको संविधान लेखन प्रक्रिया, समसामयिक राजनीतिक बिषय, दुई मुलुकको आपसी सम्बन्ध, सहकार्यलाई अझै प्रवद्र्धन गर्ने लगायतमा समेत छलफल हुने छ ।

भ्रमणका क्रममा चिनियाँ भ्रमण टोलीले महिला र बालिबालिकासंग जोडिएका कतिपय बिषयमा समेत सम्बन्धित निकायसंग परामर्श गर्ने प्रवक्ता शर्माले बताएका छन् ।

संविधानसभा उपाध्यक्षको निमन्त्रणमा भोली सोमवार आउन लागेको टोली चैत २४ गते स्वदेश फर्कने छ ।

प्रतिक्रिया