शिक्षकद्वारा गर्भवती पत्नीको ‘हत्या’

झापा, १८ चैत । तीनमहिने गर्भवती पत्नी हत्याको आरोपमा दमक–१२ का २५ वर्षीय सुनिल चौधरी पक्राउ परेका छन् ।
७ चैतमा चौधरीले २२ वर्षीया पत्नी राधिका पण्डितलाई दाइजो माग गर्दै कुटपिट गरेर हत्या गरेको पाइएको छ । ‘विद्यालयबाट आएपछि साझ ५ बजे टिभीमा धारावाहिक र समाचार हेर्ने निहुमा ठाकठुक परेपछि कुटेर मारेका रहेछन्,’ पण्डितका बुबा घनश्यामले भने, ‘१८ लाख दाइजो चाहिन्छ भनेर तनाब दिइरहेका बेला मार्ने निहु पाएछन् ।’
१० महिनासम्म प्रेमसम्बध भएका चौधरी र पण्डितको ३ जेठमा विवाह भएको हो । छोरीले नै रोजेपछि स्थानीय पशुपति मन्दिरमा पण्डित परिवारले चौधरीसग विवाह गरिदिएका थिए ।
‘सुरुमा दाइजो चाहिदैन भने । पछि १८ लाख रुपिया चाहिन्छ भनेर कुटपिट गर्न थालेछन्,’ बाबुले भने, ‘छोरीले यो कुरा लुकाएर राख्नाले ज्यान नै गयो । हामी खोजेर पनि दिन्थ्यौ ।’
चौधरी स्थानीय ग्लोबल बोर्डिङ स्कुल र मोडल क्याम्पसमा पढाउथे । विवाहपछि चौधरीले पत्नीलाई माइत जान नदिएको पण्डित परिवारको आरोप छ ।
प्रहरी अनुसन्धानमा राधिकाको शरीरमा निलडाम र घाटी थिचिएको पाइएको छ । घरमा झुन्डिएकी भनिए पनि उनलाई कपडा फेरेर अस्पताल लगिएको माइतीपक्षको आरोप छ । प्रहरीले चौधरी र उनका बाबु लक्ष्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर मिलन भट्टराईले बताए । दाइजोकै लागि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सौर्य समाचार

प्रतिक्रिया