शरणार्थीसित नेपाली नागरिकता र पासपोर्ट

काठमाडौं, १७ वैशाख । भुटानी शरणार्थीले नेपाली नागरिकता मात्र होइन पासपोर्टसमेत बनाई विदेश उड्ने गरेको रहस्य खुलेको छ । नेपाली नागरिकता र मेसिन रिडेबल पासपोर्ट (एमआरपी)सहित झापाको बेलडाँगी–२ स्थित शरणार्थी शिविरका २९ वर्षीय जितबहादुर सुब्बा पक्राउ परेपछि यो रहस्य खुलेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुब्बालाई बालुवाटारस्थित आइओएम (इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन)को ट्रान्जिट सेन्टरबाट शुक्रबार पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार भुटान पिपुल्स पार्टीका उपाध्यक्षसमेत रहेका सुब्बाले झापा जिल्ला प्रशासन कार्यालयबाट १३ फागुन ०६७ मा खुदुनाबारी–२ ठेगाना राखी ०४१००९–१०७० नम्बरको नेपाली नागरिकता लिएका थिए । नौ वर्षको उमेरमा शरणार्थी भएर नेपाल आएका उनले त्यही नागरिकता प्रयोग गर्दै २७ डिसेम्बर २०११ मा ०५७७१०७३ नम्बरमा एमआरपी लिए तर उनले लिएको नागरिकता नम्बरमा खुदुनाबारी–४ का प्रेमबहादुर दर्जीका छोरा मंगेश दर्जीको नागरिकता पनि जारी भएको पाइएको प्रहरीको भनाइ छ । शरणार्थी सुब्बाले नेपाली नागरिकता लिएको पाइएपछि जिप्रकामा उनीविरुद्ध उजुरी परेको थियो ।
राहदानी लिनुअघि सम्बन्धित जिप्रकाको सिफारिस अनिवार्य चाहिन्छ । त्यहीअनुरूप उनले झापा जिप्रकाबाटै सिफारिस लिएका थिए । सिआइबीका डिएसपी प्रवीण पोखरेलले उजुरी हुँदाहँुदै जिप्रकाले राहदानीका लागि सिफारिस दिनु शंकास्पद देखिएको बताए ।
प्रहरीका अनुसार सुब्बाका बुबा हर्कलालले समेत डेढ वर्षअघि झापा जिप्रकाबाटै नागरिकता लिइसकेका छन् । बुबाकै नगारिकताका आधारमा छोराले पनि नागरिकता लिएको प्रहरीको भनाइ छ । नागरिकता लिँदा हर्कलालले झापा जिरोपानीका गाविस सचिव विष्णु पौडेललाई ५० हजार रुपियाँ बुझाएको खुलासा भएको छ । सुब्बाले पनि गाविस सचिवलाई ३० हजार बुझाएको प्रहरीले जनाएको छ । डिएसपी पोखरेलका अनुसार नेपाली नागरिकता गाविस सचिवको एक्लो प्रयासले मात्रै वितरण हुन सक्दैन । ‘यस धन्दामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका कर्मचारीको समेत संलग्नता हुन सक्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्छौं ।’
प्रहरीका अनुसार नेपाली नागरिकता लिए पनि हर्कलाल भने शरणार्थीकै रूपमा अमेरिका गइसकेका छन् भने पैसा लिएर नागरिकता बनाइदिने गाविस सचिव पौडेल पक्राउ परेका छैनन् ।
प्रहरीका अनुसार सुब्बासहितको टोलीले नेपालीलाई समेत भुटानी शरणार्थीको परिचयपत्र बनाई अमेरिका र क्यानाडा पठाउने धन्दा सञ्चालन गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरूले विगतमा यही तरिकाले १५ जनाभन्दा धेरैलाई क्यानाडा पठाइसकेको प्रहरी दाबी छ । प्रहरीका अनुसार यस धन्दामा पार्टीका अर्का उपाध्यक्ष जागिरमान लामालगायत, आकाश राई, पदमलाल मिश्र संलग्न छन् ।
अभियुक्त सुब्बाले धेरै शरणार्थीले नेपाली नागरिकता र राहदानी बनाइसकेको बयान प्रहरीलाई दिएका छन् । थप अनुसन्धानका लागि सिआइबीले उनलाई महानगरीय प्रहरीपरिसर काठमाडौं पठाएको छ ।

प्रतिक्रिया