कैलालीका सरकारी कार्यालयपनि बन्द

कैलाली, १७ वैशाख । अखण्ड सुदूरपश्चिमको माग गर्दै बिगत तीन दिनदेखि आन्दोलनमा उत्रिएका स्थानीयले आज कैलालीका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द गराएका छन् ।
बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भईरहेका समयमा आजदेखि सरकारी कार्यालय समेत आन्दोलनकारीले बन्द गराएका हुन् । बिहानैदेखि हातमा लाठी लिएर प्रदर्शनमा उत्रिएका अखण्ड सुदूरपश्चिमका समर्थकले कैलालीको अत्तरिया, टीकापुर तथा कञ्चनपुर लगायतका पहाडी जिल्लामा हाल कायम रहेको सुदूरपश्चिमको संरचनालाई नै संघीय राज्य कायम गर्नुपर्ने भन्दै सरकारी कार्यालय बन्द गराएका हुन् ।
उनीहरुले एकीकृत माओवादीले राज्य पुनर्संरचनाका लागि प्रस्ताव गरेका १० प्रदेशको बिरुद्ध चर्को नारापनि लगाएका थिए ।
सरकारी तथा गैरसरकारी कार्यालय समेत बन्द गराएपछि कार्यालयहरु सुनसान छन् । तीन दिनदेखिको लगातार बन्दका कारण अधिकांश कार्यालयमा न्यून संख्यामा कर्मचारी उपस्थि थियो ।
खुलेका कार्यालय आन्दोलनकारीले कार्यालयमै गएर बन्द गरिदिएपछि उनीहरु पनि कार्यालय बाहिर प्राङगण तथा प्रतिक्षालयमा केही समय बसेका थिए ।
उता, बझाङमा एकीकृत माओवादी बाहेकका अन्य राजनीतिक दलहरुले अखण्ड सुदूरपश्चिमको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र पठाएका छन् ।
कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनशक्ति पार्टी, नेकपा एकीकृत र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई ज्ञापनपत्र पठाएका हुन् ।

प्रतिक्रिया