संवैधानिक समिति बैठक अनिश्चित

काठमाडौं, १७ वैशाख । नयाँ संविधानको एकीकृत मस्यौदा बनाउन आतुरमा संवैधानिक समिति आजदेखि अनिश्चितकालका लागि स्थगित भएको छ ।
समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव टेकप्रसाद ढुङगानाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नयाँ संविधान जारी गर्ने समय मुस्किलले २९ दिन मात्रै बाँकी रहेका समयमा एकीकृत संविधानको मस्यौदा बनाउने समिति बैठक नै अनिश्चितकालका लागि स्थगित भएको हो ।
समिति बैठकमा बिवाद समाधान उपसमितिका तर्फबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संघीयता र शासकीय स्वरुपमा गम्भिर छलफल भईरहेको भन्दै बिवादित विषयले मूर्त रुप लिन अझै केही दिन लाग्ने बताए । उनले बिवादित विषयमा गम्भिर्यताका साथ छलफल भएको र अझै केही समय लाग्ने भन्दै नेपालले उपसमितिका तर्फबाट सहमतिका लागि समय माग गरेपछि बैठक स्थगित भएको विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा समिति सभापति नीलाम्वर आर्चायले प्रमुख दलहरुलाई नयाँ संविधान जारी गर्ने समय अब एक महिनापनि बाँकी नरहेकाले विबादित विषयमा छिटो सहमति खोज्न भनेका थिए ।
४४ जना सदस्य उपस्थित बैठकमा १४ जना सभासद सदस्यले आ–आफ्नो तर्फबाट धारणा राखेका थिए । धारणा राख्ने अधिकांश सदस्यले प्रमुख दलको स्वार्थका कारण समिति अनिर्णयको बन्धक भएको भन्दै चिन्ता जनाएका थिए ।
समिति पछिल्लो समयमा औपचारीकतामा मात्रै सीमित हुँदै आएको थियो ।

प्रतिक्रिया