रत्नपार्कछेउका मस्जिद, हल्लाखोर परका हाजीहरु

ठमाडौंको हल्लाखोर क्षेत्र रत्नपार्कनजिकै, नेपालको सबैभन्दा जेठो क्याम्पस त्रिचन्द्रको आडैमा र घण्टाघरको पछाडि छु म । कस्मिरी तकिया (मस्जिद) को उत्तर फर्केको कब्रस्तानमा बसेर म हेरिरहेको छु – छेउको पोखरी र नजिकैको शिरीषको फूल । पोखरीमाथि परेवाहरू यत्रतत्र उडिरहेका छन् । तिनका पखेटाले हावाभरि पानीका थोपा छचल्काइदिन्छन् र विशाल कस्मिरी मस्जिदको भव्य सन्नाटा तोडिदिन्छन् । टलक्क टल्काइएको मार्बल–भूमिमा रूखका एक/दुई पात झर्छन् । छेउबाटै जान्छन् मदरसामा पढ्ने हरियो कुर्ता, जालिदार सेतो टोपी र सेतै सुरुवालधारी स–साना नानीहरू । जो भर्खरैसम्म नमाज पढिरहेका थिए । गलैंचामा घुँडा टेकी शिर झुकाएर भित्तापट्टि फर्केर मौनता साँधिरहेका उनीहरू समाधिमा लीन तपस्वीझैँ देखिन्थे ।
मुलुककै ठूला कस्मिरी तकिया र नेपाली जामे मस्जिद नेपाली मुसलमानका लागि त्यत्तिकै आस्थाविन्दु बनेका छन्, जति हिन्दूहरूका लागि पशुपतिनाथ बनेका छन् । यहीँ उपस्थित हुन्छन्, सबैभन्दा बढी मुसलमान । दिनभरिमा पाँचपटक नमाज पढ्नु उनीहरूको धार्मिक दैनिकी हो । शुक्रबारचाहिँ विशेष छ, शिवजीलाई पूजा गर्ने हिन्दूहरूलाई साउने सोमबारको महत्त्वजस्तै । एकै खालको पहिरन अनि दाह्री उनीहरूको समानता हो, बिस्मिल्लाह हलाल मासु पसलको मजदुर अनि पाकिजा होटलका मालिक दुवै एकै लहरमा बसेर अल्लाह पुकार्छन्, त्यो लहरले वर्गीय विभेद पटक्कै देखिन दिँदैन । धनाढ्य मारवाडीका अगाडि निरीह बनेर बिनालाइन खुरुखुरु भित्र छिर्न दिने पशुपतिको रबैयाले यो समानतालाई जिस्क्याउन सक्तैन ।
तर, कुनै–कुनै कुरामा यी दुई मस्जिद पनि अलिकति हैकमी स्वभावका भने रहेछन् । काठमाडौंबाहिरका मुसलमानले यिनको सदस्यता पाउँदैनन् । सदस्यदेखि सञ्चालक समितिसम्म काठमाडौंका रैथाने मुसलमान मात्रै रहने परम्परा रहेछ । भन्न त इस्लामले भन्छ– ‘जोसुकैलाई समान दृष्टिले हेरिन्छ ।’ तर, यी दुई मस्जिदले के गरेका हुन् खोइ कुन्नि ? काठमाडौंबाहिरका मुसलमान आफ्नै धार्मिक संरचनाभित्र पनि अवसरका दृष्टिले सीमान्तीकृत रहेछन् । लामो दाह्री पालेका, जालीदार सेतो टोपी लगाउने बूढा मुसलमानहरू जैन फकिरजस्ता लाग्छन् । ती बूढा हाजीहरू हजुरबुबाले सुनाएका तथ्यांक सुनाउँदै छन्– नेपाली जामे मस्जिद करिब तीन सय वर्षअघि स्थापना भएको हो भने कस्मिरी तीन सय ८५ वर्षअघि । कस्मिरी मस्जिदमा कस्मिरी समुदायका साह, सैयद, ख्वाजालगायत समुदायको वर्चस्व छ, जामेमा भने पुराना व्यापारीहरूको हालीमुहाली ।

यी मस्जिदलाई यति भव्य कलात्मकता दिलाउने ती मुसलमान हातहरूको इतिहास अहिले कता गायब भयो ? कति मजदुरका पसिनाले टल्किएको हो त्यो भित्तो ? यो भव्यता कुनै एउटा मात्र महान् शिल्पीको करामत त पक्कै होइन । समयका शृंखलाबद्ध पत्रहरूभित्र सयौँ वर्षसम्म पोखिएका ती उर्बर पसिनाको अभिलेख कहाँ छ ? अतीतको छारोमा पुरिएका ती कर्मशील कालिगढका कलाशील पाखुरीहरूले दिनभर मस्जिदका भित्ता र छाना घोट्दा हुन् अनि बिहानबेलुकी आँखा चिम्लिएर आत्मामा परब्रह्म अल्लाहको सुन्दर रूप सजाउँदा हुन् † सम्भवत: इतिहास सधैँ सम्भ्रान्तहरूबाट दबाइन्छ ।
जीवन एक खुद्रा व्यापार हो कि झैँ लाग्छ । मानिसको सम्झनामा निकै ठूला घटना मात्र सुरक्षित रहन्छन् । तिनै घटनाको आधारमा मान्छे आफ्नो सफलता र असफलताको ब्यालेन्स–सिट निकाल्न व्यस्त छ । सफलताका लागि नै मानिसले धर्म गुहार्छ, अल्लाह पुकार्छ, ओम्कार गाउँछ । म मस्जिदभित्रका प्रत्येकजसो कुनामा छरिएका कलाका अनेक स्वरूपमा अन्तर्निहित अर्थहरूको खोजी गर्न चाहन्छु । मस्जिदका प्रत्येक धर्सा, विम्ब र भित्तामा कोरिएका चित्रको अर्थ बुझ्न बडो कठिन छ । तिनले संकेत गरेका लक्षणहरू के होलान् ? यस धर्म र कलाकृतिका अर्थ खोज्दै छु, सैयौँ वर्षअघि रचना गरिएका यी धरोहरका ।

अँ † ती दुई मस्दिज पुग्नुअघि नै एउटा चिहान भेटिन्छ (अनुहारमा हतारो पोतिएका पैदल यात्रुलाई पुलमुनिको यो चिहानको चासो नहुनु स्वाभाविक हो), नेपाली जामे मस्जिदलाई आडै पारेर बसेको । यसको कथा बडो गौरवपूर्ण छ । यो चिहानले त्यस संसारको कहानी भन्छ, जुनबेला काठमान्डुका जनता राणा शासनको पञ्जामुनि कैद थिए । अनि भन्छ, कहिल्यै सूर्य नअस्ताउने साम्राज्य बेलायतले एक–एक गरी कब्जामा लिइएका भारतीय रियासतहरू र आफ्नो विलासिताको अन्त्य गर्दै अंग्रेज राजबाट खेदिएका मुस्लिमको नेपाल प्रवेश र अन्य कथाहरू । ‘नेपाली जामे मस्जिद’ छेउ तेर्सिएको लखनउकी बेगम ‘हजरत’ को मकबरा (चिहान) को कथा यस्तो छ–
अंग्रेजले सन् १९०२ मा अवध र आगरालाई गाभेर उत्तरप्रदेश बनाउनुभन्दा ४५ वर्षअघि अंग्रेज मित्रहरूको गुहारमा राणाकालीन नेपाली सैनिकहरू सिपाही विद्रोह दबाउन लखनउ पुगे । तत्कालीन गभर्नर जनरल लर्ड केनिङको अनुरोधमा एक सय ५४ वर्षअघि सिपाही विद्रोह दबाउन ६ रेजिमेन्ट गोर्खाली सैनिक २ जुलाई १८५७ मा लखनउ पुगेको थियो । जंगेका फौजले इतिहास कायम गर्ने गरी अंग्रेजको भक्ति देखाए र ‘लखनौ लुट’ को मुहावरा दिएर गए । त्यसलगत्तै नबाबसहितको ठूलो समूह नेपाल प्रवेश गरेको थियो । १० डिसेम्बरमा लखनउ पुगेका थप तीन पल्टन गोर्खालीको नेतृत्व तत्कालीन श्री ३ तथा कमान्डर–इन–चिफ जंगबहादुर राणा आफैँले गरेका थिए । जंगबहादुरले स्वराज आन्दोलनको श्रीगणेश गरेका विद्रोही भारतीय सैनिकलाई तीन महिनामा तह लगाएर अंग्रेजका हातमा लखनउ सुम्पेका थिए ।
सिपाही विद्रोहको समयमा हो, लखनउका नबाब वाजिद अलि साह जुत्ता लगाइदिने सेवक पर्खंदै गर्दा महलमै समातिए । वाजिद अलि साह जस्ता नबाब विलासिताका कारण यति हदसम्मको मूर्खतापूर्ण काम गर्थे, जसबाट उनी समातिनु स्वाभाविकै थियो । जंगबहादुरको फौजको उपद्रोले नबाब वाजिद अलि साहकी बेगम हजरत महल र विद्रोहका संरक्षक मुगल वंशका अन्तिम सम्राट बहादुर साह जफरका धर्माधिकारी मौलना सर्फराज अलि साहसहितको ठूलो समूह सन् १८६० मा प्रशस्त गहना, हीरा, जवाहरातका साथ नेपाल आएर काठमाडौंको घन्टाघर र बागबजार क्षेत्रमा बस्यो भने अन्य समूहले तराईमा आश्रय लिए । लाग्छ, जामे मस्जिदको आडमा वर्षौंदेखि चिहानभित्र गहिरो निद्रामा सुतेकी लखनउकी महारानी ‘बेगम हजरत’को मकबराले उसबेलाको काठमाडौं र बागबजारको इतिहासलाई सुरक्षित राखेको छ ।
त्यसबेला काठमाडौंमा धेरै बगैँचा थिए । त्यसैले हो, काठमाडौंको भित्री बजार लखनउबाट आएका मुलमानको त्यो समूहले ‘बागबजार’ बनाए, बागबजार अर्थात् बगैँचाको दुई सम्प्रदाय छ– सिया र सुन्नी । तर, कुरानमा सुन्नी र सिया शब्द छैन,’ कस्मिरी जामे मस्जिदमा सेतो लामो दाह्री पालेका, कुर्सीमा अडेस लाएर ढल्किएका क्षेत्रपाटीका ७२ वर्षे हाजी अल्लाउद्दिनले भने । उनले दिएको यो परिचय विश्वभरका मुसलमानको हो, यो विश्व परिचयबाट छुट्टै पहिचान खोतल्ने हो भने उनीहरूलाई फरक देखाउने शब्दचाहिँ एउटै छ– नेपाली ।
नेपाली जामे मस्जिदभित्र सन् १९९६ मा स्थापना भएको ‘मद्रसा इस्लामिया स्कुल’ छ जहाँ थुप्रै विद्यार्थी छन् । ‘दृष्टिकोण फरक पर्छ’, मदरसामा कुरान पढ्ने र स्कुलमा पढ्ने विद्यार्थीको अन्तर सोध्दा मदरसाका विद्यार्थी १४ वर्षे जिक्रर्उल्लाह भनिरहेका थिए, ‘हामीहरू कुरान मात्र पढिरहेका हुन्छौँ, उनीहरू किताब र अनेक प्रविधिसँग रमाउँछन् ।’ मदरसामा उर्दु, फारसी, अरबी कक्षा चल्छ । मदरसाले मुसलमान बालबालिकालाई भाषिक र धार्मिक शिक्षा त दिन्छ तर धर्मकेन्द्रित भएकाले मुलुकको आवश्यकता र विश्व परिवेशमा यसको सकारात्मक छवि बनिसकेको छैन । भनिन्छ, यिनले पाकिस्तानलगायत अन्य अरब मुलुकबाट पैसा ल्याउँछन्, भारतका मिडिया रिपोर्टहरूमा नेपाली तराईका कतिपय मदरसामा ‘पाकिस्तानी’ सहयोग भित्रिन्छ भन्ने छापिएको हुन्छ । तर, काठमाडौंका यी दुई मस्जिद र यिनका मदरसाका बारेमा त्यस्तो खास केही सुन्न पाइन्न ।

अग्लो कद, मीठो बोली, स्वाभिमानी आँखा, मेहनेती र झ्वाट्ट हेर्दा बाहुन/क्षेत्रीजस्ता लाग्ने पहाडिया मुसलमानहरू नेपालको ५५ पहाडी जिल्लामध्ये ४८ जिल्लामा छरिएर बसेका छन् । कस्मिरी मुसलमान, पहाडिया मुसलमान र तराईका मुसलमान । मुस्लिमहरू तिरहुत राज्यसँगै नेपाली समुदायको अंग बनिसकेका थिए । त्यसो त इ.सं. १४८२ मा राजा रत्न मल्लको शासनकालमै काठमाडौंमा मुस्लिमहरूको बसोवास थियो । रत्न मल्लको पालामै काठमाडौंमा कस्मिरी मस्जिदको निर्माण भएको थियो । डोरबहादुर विष्टको ठम्याइ हो त्यो । उनका अनुसार रत्न मल्लले कस्मिरी मुलमानलाई व्यापारका लागि काठमाडौं र नजिकका पहाडी भेगमा बसोबास गराउन थालेका थिए ।
ििि
यहाँका केही कर्मचारी यस्ता पनि छन्, जो मुस्लिम होइनन् । तर, आस्थापूर्वक सरसफाइ र अन्य काम गरिरहेछन् । नेपाली धार्मिक सहिष्णुता त्यत्तिकै दृष्टान्त बनेको कहाँ हो रहेछ र ? उनीहरू फरक धर्मावलम्बीको पूजा गर्ने ठाउँमा काम गर्छन्, यसमा असाध्यै खुसी पनि छन् । संयुक्त राष्ट्र संघले प्रयोग गरेभन्दा फरक छिमेकी मुलुक भुटानमा ह्यापिनेस अर्थात् नागरिकको खुसीलाई विकासको सूचक बनाएको छ, भूटानी राजाको अनौठो प्रजातन्त्रमा बनाइएको यो अद्भुत सूचक जामे र कस्मिरी तकियामा काम गर्ने हिन्दुका सन्दर्भमा ठ्याक्कै लागु हुन्छ ।

वि.सं. १८०० मा पृथ्वीनारायण शाह बनारसमा विश्वनाथको दर्शन गर्न गएका बेला नेपाल एकीकरण गर्ने मनसुवाले हतियार बनाउनुपर्ने भएकाले उतैबाट हतियार, हतियार बनाउने कालिगढका रूपमा मुसलमानलाई पनि सँगै लिएर आएका थिए । आफ्नो कालिगढीबाट मुसलमानले पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणमा सहयोग पुर्‍याए । नेपाली मुलमानहरू मुस्लिम धर्म, कुरान र नमाजमा समर्पित छन् तर हिन्दु र बौद्ध धर्मको कहिल्यै विरोध गर्दैनन् । यही नै हो उनीहरूको खास धार्मिक सहिष्णुताको दृष्टान्त । तर, विगतमा यसै समुदायका केही अगुवाको हत्या भयो । उनीहरूले त्यतिबेला सायद पहिलोपटक नेपालको मुटुमा असुरक्षित महसुस गरेका थिए । तैपनि, राज्य सुरक्षा प्रणालीप्रति उनीहरूको खासै गुनासो देखिन्नँ ।
शुक्रबार नमाज पढ्न ह्वारह्वार्ती दरबारमार्ग आउने र मस्जिद क्षेत्रवरिपरि छपक्कै देखिने यो समुदायका यतिविधि मानिस अरू बार सहरका गल्ली र छिँडीमा कतै पसिसकेका हुन्छन् । त्यतिबेला ‘काठमाडौंमा यति बढी मुसलमान छन् र ?’ प्रश्न उठ्छ तर उनीहरू काठमाडौं बनाइरहेका छन् ।

प्रतिक्रिया