क्यानाडाले सबै सहयोग रोक्ने

काठमाडौं, १६ वैशाख । क्यानाडाले नेपालमा दिँदै आएको आर्थिक सहयोगका सबै कार्यक्रम रोक्ने भएको छ । क्यानाडा सरकारले नेपालस्थित क्यानाडाली अन्तर्राष्ट्रिय सहयोग नियोग (सिडा)लाई पत्राचार गरी नयाँ सहयोग कार्यक्रम रोकिएको जनाएको छ ।
आफ्ना नागरिकलाई सुविधा बढाउने भन्दै क्यानाडाले आर्थिक सहयोग कटौती गरेको हो । सञ्चालनमा रहेका पुराना कार्यक्रमलाई भने सन् २०१४ सम्म निरन्तरता दिने जनाइएको छ । ३१ मार्च २०१४ पछि  नेपालमा क्यानाडाको कुनै कार्यक्रम र आर्थिक सहयोग रहने छैन । नयाँ सहयोग कार्यक्रम यसै वर्षदेखि रोकिने छन् ।
नेपालमा रहेको सिडाको कार्यालय छ महिनाभित्रै हटाउने तयारी गरिएको छ । कार्यालयका एक कर्मचारीले भने, ‘थप आर्थिक सहयोग नगर्ने क्यानाडा सरकारको निर्णयपछि ६ महिनाभित्र कार्यालयसमेत उठाउने कुरा भएको छ ।’ ती कर्मचारीले नेपालमा रहेका कार्यालय, कार्यक्रम र सामान व्यवस्थापनका लागि ६ महिना लाग्ने उल्लेख गरे ।
क्यानाडा सरकारले १ अप्रिलमा नेपालमा आर्थिक सहयोगका कार्यक्रम रोक्ने निर्णयसहितको पत्र पठाएको थियो । क्यानाडाली सरकारको पत्रपछि सिडाले नेपाल सरकार र त्यस मातहतका सबै निकायलाई आर्थिक सहयोग रोकिएको जानकारी पठाइसकेको छ । सिडा स्रोतका अनुसार १३ अप्रिलमा नेपाल सरकार, युएनडिपीका साथै अन्य सहयोग संस्थालाई समेत पत्राचार गरिएको छ ।
सिडाले भने आर्थिक सहयोगको कार्यक्रम स्थगनका विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले क्यानाडाले नेपालसहित विभिन्न देशको आर्थिक सहयोग कटौती गरिएको जानकारी दिए । ‘हाम्रो देश मात्र होइन,’ प्रवक्ता थापाले भने, ‘नेपालसहित १३ देशमा क्यानाडाले आर्थिक सहयोग रोक्ने भएको छ ।’ प्रवक्ता थापाले ३१ मार्च २०१४ पछि मात्र क्यानाडाले आर्थिक सहयोग रोक्ने जानकारी दिए । ‘नयाँ कार्यक्रम मात्र रोकेको हो,’ उनले भने, ‘सञ्चालनमा रहेका कार्यक्रममा कुनै असर पर्दैन ।’प्रवक्ता थापाले आर्थिक सहयोगको कार्यक्रम रोक्नेसम्बन्धीे पत्र केही दिनअघि मात्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए । ‘यही महिनामा हामीलाई पत्र आएको छ,’ उनले भने । आफ्ना जनतालाई सुविधा बढाउन भन्दै तीन सय ७७ मिलियन डलर आर्थिक सहयोग कटौती गर्ने नीति क्यानाडाले बनाएको छ । उसले नेपाल, कम्बोडिया, चीन, रुवान्डा, जाम्बिया, तान्जानिया, अफगानिस्तान, बोलिभिया, मोजाम्बिक, पाकिस्तान, जिम्बाबेसहित १३ देशको आर्थिक सहयोग कटौती गरेको छ । सिडा स्रोतका अनुसार यसअघि क्यानाडाली सरकारले तान्जानिया, अफगानिस्तान, बोलिभिया, मोजाम्बिक र पाकिस्तानमा आर्थिक सहायता घटाउने योजना बनाएको थियो ।
क्यानाडाले १९७० देखि नेपालमा सहयोग गर्न थालेको हो । एचआइभी/एड्स, शिक्षा, कृषि, लैंडिक समानता, वातावरण, लोकतन्त्रको विकास, शान्ति स्थापनाजस्ता कार्यक्रममा क्यानाडाले  सहयोग गर्दै आएको छ । गत वर्ष मात्रै सिडाले नेपालमा लोकतान्त्रिक विकास सहयोग कोषअन्तर्गत २८ करोड रुपियाँ विभिन्न समुदायमा अधिकारबारे जनवकालत गराउन भन्दै खर्च गरेको थियो । त्यसमध्येकै झन्डै १२ करोड रुपियाँ विभिन्न १९ वटा जातीय, क्षेत्रीय र पेसागत गैरसरकारी संस्थाका सञ्जाललाई बाँडेको थियो । क्यानाडाले सन् २०१०/०११ मात्र नेपाललाई ४५ लाख ५२ हजार तीन सय ६७ डलर सहयोग गरेको थियो ।
अफगानिस्तान क्यानाडाली सहयोग प्राप्त गर्ने प्रमुख देशका रूपमा रहेको छ । अफगानिस्तानले सन् २०११ मा झन्डै दुई सय अमेरिकी डलर एक वर्षका लागि प्राप्त गरेको थियो । क्यानाडाले चीनमा मानवअधिकार र वातावरण संरक्षणको विकासमा ३० मिलियन अमेरिकी डलर सहयोग दिइरहेको थियो ।

प्रतिक्रिया