फाइनलमा चेल्सी र बायर्न


म्याड्रिड, १५  वैशाख । यस वर्षको युरोपियन च्याम्पियन्स लिगको उपाधि भिडन्त बेलायती क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिखबीच हुने भएको छ । बुधबार राति म्युनिखमा भएको दोस्रो लेगमा २–१ ले रियल विजयी भएपछि रियल र बायर्न ‘एग्रिगेट’ मा ३–३ ले बराबरीको अवस्थामा पुगेका थिए । त्यसपछि भएको पेनाल्टी सुटआउटमा बायर्न ३–१ ले सफल रह्यो  । अब आगामी मे १९ मा उपाधि भिडन्त गर्ने बायर्न च्याम्पियन्स लिगको इतिहासमै घरेलु मैदानमा फाइनल खेल्ने पहिलो टोली बनेको छ ।
पेनाल्टी सुटआउटमा रियलका सर्जियो रामोसको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरिएपछि बास्टिग स्वेस्नाइगरले सफल प्रहार गर्दै बायर्नको जित निश्चित गरे । स्टार खेलाडी रोनाल्डो र काका दुवैजना पेनाल्टी सुटआउटमा चुकेपछि १० वर्षको अन्तरालमा पहिलो पटक फाइनल खेल्ने रियलको अभियानमा धक्का लागेको हो । सन् २००२ मा उपाधि जितेयता रियल च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्न असमर्थ रहँदै आएको छ ।
खेलको समाप्तिपछि पनि रियलका खेलाडी लामो समयसम्म आँसु बगाउँदै मैदानमै रहिरहे । खेलको समाप्तिपछि रियलका प्रशिक्षक होसे माउरिन्हो केही बोल्नै नसक्ने भए भने कप्तान इकेर कासियासले स्वाभाविक प्रतिक्रिया दिए, ‘पेनाल्टी भनेको चिठ्ठाजस्तै हो । हामीले राम्रो खेलेका थियाँ तर के बिर्सनु हुँदैन भने बायर्न पनि राम्रो टोली हो ।’
चार पटकको विजेता बायर्न भने पछिल्ला तीन संस्करणमध्ये दुईमा फाइनल प्रवेश गरेको हो । सन् २०१० को फाइनलमा बायर्न इटालियन दैत्य इन्टर मिलानसँग पराजित भएको थियो ।
पछिल्लो साता म्युनिखमा भएको पहिलो लेगमा २–१ ले पराजित रियलले बुधबार म्याड्रिडमा भएको दोस्रो लेगमा छैटां मिनेटमा नै अग्रता लिएको थियो । मारियो डि एन्जोलोको क्रस म्युनिखका रक्षक डेबिड एल्वाको हातमा लागेपछि रियलले पेनाल्टी पाएको थियो । त्यसलाई उपयोग गर्दै रोनाल्डोले अग्रता दिलाए । १४ औं मिनेटमा मेसुट ओजिलको पासलाई उपयोग गर्दै रोनाल्डोले अर्को गोल गरेपछि रियल नै फाइनल प्रवेश गर्ने सम्भावना प्रबल देखिएको थियो । २७ औं मिनेटमा पेपेले मारियो गोमेजलाई तानेपछि प्राप्त पेनाल्टीलाई आर्यन रोबेनले गोलमा परिणत  गरे ।
यसपछि नियमित र त्यसपछि थपिएको अतिरिक्त समयमा समेत कुनै गोल नभएपछि सन् २००७ यता पहिलोपटक च्याम्पियन्स लिगमा सेमिफाइनल खेलको निर्णय टाइब्रेकरको आधारमा लिनुपर्‍यो । पाँच वर्षअघि यसैगरी भएको निर्णयप्रक्रियामा बेलायती क्लब लिभरपुल चेल्सीलाई हराउँदै सेमिफाइनल जितेर फाइनल प्रतिस्पर्धी बनेको थियो ।
बायर्नका प्रशिक्षक हेन्केसले जितपछि कठिन अवस्थाबाट मुक्त भएको प्रतिक्रिया दिए । धेरै वर्ष पहिले हेन्केस सन् १९९८ मा रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा सो स्पेनिस टोलीका प्रशिक्षक थिए ।
पेनाल्टी सुटआउटमा चेल्सीका एल्वाले पहिलो प्रहार गोल गरे भने रोनाल्डोको प्रहार बायर्नका गोलरक्षक म्यानुएल नुयरले  रोके । रोनाल्डोले यसअघि रियलका लागि प्रहार गरेका  २७ पेनाल्टीमध्ये २६ मा सफल भएका थिए । यसअघि सन् २००९ मा अल्मेरियाका गोलरक्षक डिएगो एल्भिजले मात्र उनको पेनाल्टी प्रहार रोकेका थिए । म्यानचेस्टर युनाइटेडमा हुँदा २००८ को च्याम्पियन्स लिग फाइनलमा पनि रोनाल्डोको प्रहार पिटर चेकले बचाएका थिए ।
गोमेजले बायर्नका लागि दोस्रो सफल प्रहार गरे पनि नुयरले काकाको प्रहार पनि रोके । त्यसपछि इकेर कासियासले टोनी क्रसको प्रहार बचाउँदै रियलको आशा जगाएका थिए । जाभी अलोन्सोले सुटआउटमा रियलको पहिलो गोल गरे । यसको लगत्तै कासियास फ्लिप ल्हामको प्रहार पनि रोक्न सफल भए । रामोसले क्रसबारभन्दा माथि प्रहार गरे पनि स्वेस्नाइगरले बीचमै पेनाल्टी प्रहार गर्दा कासियासले बायाँतर्फ डाइभ दिइसकेका थिए ।
बायर्न र रियलबीच भएका पाँच सेमिफाइनल भेटमा यसपटक सँगै बायर्न चारमा विजय हात पार्न सफल भयो । स्पेनिस लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि म्याड्रिडले दुवै वर्ष यसैखाले धक्का सहेको छ । सन् २००२ पछि फाइनल प्रवेश गर्न असफल रियल दुई वर्ष होसे माउरिन्होको प्रशिक्षणमा रहेको छ । माउरिन्होले स्पेनिस लिगको व्यस्त तालिकाले आफ्नो टोलीको खेल प्रभावित भएको प्रतिक्रिया दिए । जर्मन बुन्ड्सलीगा अहिले बन्द छ भने रियलले यसै साता घरेलु उपाधिका लागि सबैभन्दा महत्वपूर्ण मानिने खेलमा बार्सिलोनालाई पराजित गरेको थियो ।

प्रतिक्रिया