कांग्रेस महामन्त्रीको चर्को आलोचना

काठमाडौं, १५ वैशाख । नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले कांग्रेस महामन्त्री प्रकाशमान सिंहलगायत पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पूर्वनेताहरू उमेशजंग रायमाझी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायतले महामन्त्री सिंहप्रति आक्रोश पोखेका हुन् । उनीहरूले पार्टी नेतृत्वले गणितीय खेलमा लागेर संगठन बिगारेको आरोप लगाए । पूर्वनेता रायमाझीले वरिष्ठ नेता शेरबहादुर देउवा पक्षलाई पाखा लगाएर पार्टी नचल्ने तर्क गर्दै सबैलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।
आलोचनापछि आºनो धारणा राखेका महामन्त्री सिंहले कुनै शक्तिबाट परिचालित र भागबन्डामा एक/दुई सिट नपुगेपछि असन्तुष्ट विद्यार्थी नेताहरू संघको नयाँ केन्द्रीय कार्यसमितिको विरोधमा उत्रिएको दाबी गरे । अधिकांश समय आरोपको खण्डनमै बिताएका सिंहले व्यक्तिलाई नभएर संगठनलाई प्राथमिकतामा राखेर आफूले निर्णय लिएको बताए । ‘समावेशी बनाउँदा संघको केन्द्रीय समिति केही ठूलो भएको हो,’ उनले भने, ‘१०१ मा को विद्यार्थी होइन देखाउन चुनौती दिन्छु ।’
संस्थापन पक्षले पूर्वसहमतिविपरीत संघको केन्द्रीय समिति गठन गरेको भन्दै देउवा पक्षबाट मनोनीत केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएपछि पार्टीमा विवाद सल्टिन सकेको छैन ।
पार्टी सभापति सुशील कोइरालाले युवा–विद्यार्थीलाई आफ्ना कार्यक्रम लिएर अघि बढ्न आग्रह गरेका थिए । विद्यार्थीको शक्ति र प्रेरणाबाटै माओवादीसँग आफूहरू छलफल र वार्तामा बस्ने गरेको उल्लेख गर्दै उनले भने, ‘विद्यार्थीको प्रेरणाबाट हामी अघि बढेका छौँ ।’

प्रतिक्रिया