महासंघ भित्र खतरनाक प्रवृत्ति भित्रिएको छः युनियन

काठमाडौं, १४ वैशाख । नेपाल पत्रकार महासंघ पछिल्ला केहि समय यता संगठनको मूल उद्देश्यसमेतको खिलाफ हुने गरी एकलौटी ढंगले एकपछि अर्को निर्णय गर्ने खतरनाक प्रवृति भित्रिएको नेपाल प्रेस युनियनले आरोप लगाएको छ ।
युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ती जारी गरेर महासंघको यस्ता खालका कार्यबाट पत्रकारको छाता संगठनको रुपमा रहेको नेपाली पत्रकारको पहिचानमाथि प्रश्न खडा भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो संगठनले पत्रकार, पत्रकारिता र लोकतन्त्रको अहित हुने खालका जुनसुकै निर्णय गर्ने हो कि भन्ने आशंका समेत उव्जिएको छ ।’
महासंघमा स्थापना गरिएका पुरस्कारहरु तथा स्वतन्त्रता सेनानी सम्मानहरुबाट बरिष्ठ पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्ने निर्णय गर्दा महासंघले मनोमानी  र अपारदर्शीता प्रदर्शन गरेको युनियनले आरोप लगाएको छ ।
‘पुरस्कार पारदर्शी र साझा हुन सकेन भने न त पुरस्कारको गरिमा कायम रहन्छ, न त पुरस्कृति हुनेहरुको सम्मान नै हुन्छ’, विज्ञप्तीमा भनिएको छ, ‘पुरस्कार बितरणको निर्णय गर्दा पुरस्कारलाई साझा बनाउनु निर्णयाकर्ताको न्युनतम दायीत्व हो ।’
युनियनले महासंघले यस पटक पुरस्कार र सम्मानको निर्णय गर्दा आफ्नो न्युनतम दायीत्व पनि बहन नगरेको जनाएको छ ।
महासचिव लम्सालले महासंघको वर्तमान नेतृत्वलाई तत्काल आफ्नो कार्यशैलिमा परिवर्तन गरी निर्णय प्रक्रियामा समावेशी सहभागिताको मान्यतालाई सम्मान गर्न र आम पत्रकारको भावनालाई समेट्न तथा साझा चरित्रलाई जोगाई राख्न सुझाव दिएका छन् ।

प्रतिक्रिया