‘नयाँ प्रस्ताव पछि कांग्रेस चकित’

काठमाडौं, १४ वैशाख । एकीकृत माओवादीले राज्य पुनर्संरचनामा नयाँ प्रस्ताव ल्याएपछि कांग्रेसले असहमति जनाएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज दिनभरी जारी छलफलहरुका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाका बिषयमा नयाँ प्रस्ताव ल्याएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
उनले भने, ‘एमाओवादीले राज्य पुनर्संरचनामा पहिलाको सहमतिबाट पछि हटेर नयाँ प्रस्ताव ल्याएको छ, यसबाट आशंका थपिएको छ ।’ पौडेलले माओवादी पूर्व सहमतिबाट पछि हटेको आरोप लगाए ।
एमाओवादीले राज्य पुनर्संरचना गर्दा जिल्लाहरु टुक्राउने, सीमाङकन तथा नामाङकनहरुमा नयाँ प्रस्ताव ल्याएको पौडेलको भनाई छ ।
यस अघि राज्य पुनर्संरचनाका बिषयमा प्रमुख चार दलका वीच संघीय राज्य थोरै बनाउने, जातीय राज्य नबनाउने, जिल्ला नटुक्राउने, सीमाङकन र नामाङकन लगायतमा प्रारम्भिक सहमति भईसकेको थियो । सो सहमति एमाओवादीले तोडेर नयाँ प्रस्ताव ल्याएको कांग्रेसको ठहर छ ।
संविधानसभा भवनमा रहेका एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा तथा एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले नयाँ संविधानका शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा छलफल गरिरहेका छन् ।
एक पक्षीय, दुई पक्षीय लगायतका बार्तामा दलहरुले आफ्ना एजेण्डामा अन्य दललाई सहमत गराउन राजनीतिक परामर्शमा जुटेका हुन् ।

प्रतिक्रिया