बार्सिलोना “आउट”, चेल्सी फाइनलमा


म्याड्रिड, १४ वैशाख । अहिलेका सर्वाधिक प्रभावशाली फुटबलर लिओनेल मेसी मंगलबार बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा ºयानहरूलाई रुवाउँदै आफू पनि रोए । रुने उनी मात्र एक्ला भने होइनन्, बार्सिलोनाका प्राय: सबै खेलाडी थिए ।
खेल सुरु भएको ३७ औँ मिनेटमै कप्तान जोन टेरीलाई गुमाउनाका साथै २–० ले पछि रहेको इंग्लिस क्लब चेल्सीले युरोपियन च्याम्पियन्स लिग फुटबल सेमिफाइनलको नोउ क्याम्पमा सम्पन्न दोस्रो लेग भिडन्तमा अप्रत्याशित नतिजा निकाल्दै २–२ ले बराबरी गरेपछि साबिक विजेता बार्सिलोना फाइनल पुग्न असफल भयो । यस नतिजाले समग्रमा ३–२ ले अगाडि रहँदै चेल्सीले फाइनल यात्रा तय गर्‍यो भने दुवै लेगमा सानदार प्रदर्शन गरे पनि बार्सिलोनाको यात्रा फाइनलसम्म पुग्न सकेन ।
दुई साताभित्र चेल्सीले स्पेनिस महारथी बार्सिलोनालाई दुईपटक हराएको हो । पहिलो लेगमा गत साता चेल्सीको गृहमैदान स्टाम्फर्डब्रिजमा उत्रिएको बार्सिलोना १–० ले पराजित भएको थियो ।
‘हाम्रा लागि यो ऐतिहासिक रात हो,’ सफलतापछि चेल्सीका प्रशिक्षक रोबर्टो डी माटेओले भने, ‘हाम्रा लागि यो सिजन केही कठिन रह्यो तर महत्वपूर्ण अवसरमा केही विशेष गरेर देखाउने हाम्रो लक्ष्य थियो । त्यो सफल भयो ।’ युरोपको सवैभन्दा ठूलो यस प्रतियोगितामा चेल्सी अहिलेसम्म उपाधिविहीन छ ।
यस नतिजाले क्लब फुटबलमा बार्सिलोनाको सबैभन्दा सफल ‘स्पेल’को अन्त्य भएको संकेत गरेको छ । स्पेनिस लिगमा पनि बार्सिलोना उपाधि होडमा कमजोर देखिएको छ । चार पटकको विजेता बार्सिलोना यसअघि १९९२, २००६, २००९ र २०११ मा युरोपियन च्याम्पियन भएको थियो ।
पछिल्ला चार सिजनमा तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्ने सपना मंगलबार चकनाचुर हुनुअघि बार्सिलोना गत साता मात्र रियल म्याड्रिडसँग पराजित भएको थियो, जसले गर्दा घरेलु लिगको उपाधि लगातार चौथो पटक जित्ने सम्भावनाबाट पनि सो क्लब टाढिएको छ ।
‘यस किसिमले बाहिरिनाले सबैलाई मर्माहत पारेको छ,’ बार्सिलोनाका मिडफिल्डर सेस फाब्रिगासले भने, ‘हामीले ‘पर्फेक्ट गेम’ देखाउनुपथ्र्यो तर गोलको कमीले गर्दा नतिजा हामीले खोजेजस्तो हुन सकेन ।’
पहिलो लेगमा १–० ले विजयी भएपछि उच्च मनोबलमा रहेको चेल्सी मंगलबार ४४ मिनेटसम्म २–० ले पछि पर्नाका साथै डिफेन्डर टेरी रातो कार्ड पाउँदै बाहिरिएपछि संकटमा परेको थियो तर पहिलो हाफको अन्त्यतिर रेमिरेजले काउन्टर एट्याकमा आकर्षक गोल गरी चेल्सीलाई ‘अवे गोल’को एडभान्टेज दिएपछि घरेलु टोली बार्सिलोना दबाबमा परेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाविरुद्ध चेल्सीले ‘डिफेन्सिभ’ खेल्यो । ४९ आँै मिनेटमा बार्सिलोनाले पेनाल्टी प्रहार गर्ने अवसर पाए पनि त्यसमा लगातार तीन पटकका फिफा वर्ष खेलाडी मेसी चुके । उनको प्रहार क्रस बारमा लागेर फर्कियो । यसले नै चेल्सीको फाइनल प्रवेशको भाग्य कोर्‍यो । खेलको अन्तिम १० मिनेटमा पनि मेसीको एक प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि उल्टै दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी फर्नान्डो टोरेजले गोल गरी चेल्सीलाई बराबरीमा ल्याइपुर्‍याए ।
‘हामी यहाँसम्म यसै बच्चा(मेसी)का कारण छाँै ।’ हारपछि बार्सिलोनाका प्रशिक्षक पिप गार्डिओलाले भने, ‘कुनै शंका छैन, उसको अहिले खराब समय चलिरहेको छ ।’ पछिल्ला तीन खेलमा मेसीले गोल गर्न सकेका छैनन्् । यी तीनवटै खेलमा बार्सिलोनाले महत्वपूर्ण पराजय बेहोरेको छ । सन् २००३ पछि पहिलो पटक बार्सिलोना लगातार तीन खेलमा पराजित भएको हो ।
यसअघि ३५ औं मिनेटमा सर्जिओ बस्क्वेट्सको गोलमार्फत बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि एलेक्सिस सान्चेजलाई घुँडामा हिर्काएका चेल्सीका टेरीले सोझै रातो कार्ड पाएपछि बार्सिलोनाले फाइनल यात्रा तय गर्न सक्ने धेरैको अनुमान थियो । त्यसो त ४४ औं मिनेटमा मेसीको पासमा आन्द्रेस इनेस्टाले गोल गरेपछि बार्सिलोनाले खेलमा २–० ले अग्रता लिएको पनि थियो तर त्यसपछि खेलले नाटकीय मोड लियो र समग्रमा नतिजा चेल्सीकै पक्षमा देखियो । केही महिनाअघि मात्र माटेआले प्रशिक्षण सम्हालेको चेल्सीले यसबीचमा घरेलु फुटबल प्रतियोगिता एफए कपमा पनि फाइनल यात्रा तय गर्दै खराब लय अन्त्य गरेको थियो । टोलीको लगातार खराब प्रदर्शनपछि आन्द्रेस भिल्लास बोआसलाई हटाएर चेल्सीले माटेओलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो ।
सन् २००८ पछि पहिलोपटक चेल्सीले यस प्रतियोगितामा फाइनल यात्रा तय गरेको हो । पछिल्लोपटक फाइनल पुग्दा चेल्सीले घरेलु प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग टाइब्रेकरमा हार बेहोरेको थियो । कार्डका कारण चेल्सीले फाइनलमा टेरीसहित इभानोभिक, रेमिरेज र मोरालेसलाई गुमाउने छ । उपाधि भिडन्तमा चेल्सीको भेट रियल म्याड्रिड र वायर्न म्युनिखबीच हुने खेलको विजेतासँग हुने छ ।
“केही दिनमै निर्णय लिन्छु”
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सेमिफाइनलबाट बार्सिलोना बाहिरिएपछि प्रशिक्षक पिप गार्डिओलाले केही दिनभित्रै क्लब छाड्ने/नछाड्ने विषयमा निर्णय लिने बताएका छन् । उनले बार्सिलोनाको व्यवस्थापनसँग यस विषयमा कुरा गर्ने बताइएको छ ।
बार्सिलोनासँग गार्डिओलाको करार यसै सिजनको अन्त्यमा सकिँंदै छ । ‘अबको केही दिनभित्रमै करार टुंग्याउने वा लम्ब्याउने भन्ने विषयमा निर्णय लिने छु ।’ सञ्चारकर्मीसँगको कुराकानीमा ४१ वर्षीय गार्डिओलाले भने । सन् २००८ मा बार्सिलोनाको प्रशिक्षण सम्हालेयता गार्डिओलाले दुई युरोपियन च्याम्पियन्स लिग र तीन स्पेनिस लिगको सहित १३ उपाधि दिलाएका छन् । जारी सिजनमा भने बार्सिलोनाले एउटा पनि उपाधि जित्न सकेको छैन ।

माटेओले फेरेको चेल्सी

४१ वर्षीय रोबर्टो माटेओले गत ४ मार्चमा सिजनभर चेल्सीलाई प्रशिक्षण गर्ने जिम्मेवारी पाएका थिए जतिबेला चेल्सी खराब लयमा थियो । त्यसअघि सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका माटेओले पूर्वप्रशिक्षक आन्द्रे भिल्लास बोआसको बर्खास्तीसँगै क्लब सम्हाल्ने जिम्मेवारी पाएका थिए । यतिबेला चेल्सी युरोपियन च्याम्पियन्स लिग प्रि क्वार्टरफाइनलको दोस्रो लेग खेल्न लागिरहेको थियो ।
उनको प्रशिक्षणमा खेलिएको पहिलो खेलमा बर्मिङ्घमलाई हराएर चेल्सी एफए कपको क्वार्टरफाइनल पुग्यो । पहिलो लेगमा ३–१ ले हार बेहोरेपछि युरोपियन च्याम्पियन्स लिग फुटबलबाट लगभग बाहिरिएको चेल्सीलाई दोस्रो लेगमा ४–१ ले जिताएर माटेओले यस इंग्लिस क्लबलाई यात्रामा फर्काए ।
यसपछि भने च्याम्पियन्स लिगका कुनै पनि खेलमा चेल्सीले हार बेहोर्नु परेन । चेल्सीले हार्छ कि भन्दाभन्दै च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बेनेफिका पराजित भयो भने सेमिफाइनलमा बार्सिलोना । यता एफए कपमा पनि चेल्सीले फाइनल यात्रा तय गरिसकेको छ । समकालीन क्लब फुटबलमा एकछत्र राज गरिरहेको बार्सिलोनाविरुद्ध प्राप्त सफलता माटेओका लागि अविस्मरणीय हुने छ ।

प्रतिक्रिया