जेलबाट छुटेका अभियुक्तलाई सम्मान

चितवन, १३ वैशाख । नेकपा (एमाले)को र भ्रातृसंगठन युवा संघका कार्यकर्ता सञ्जय लामा हत्या अभियोगमा कारागारमा रहेका ११ जनालाई बुधबार नारायणगढमा नेपाली कांग्रेसको एउटा समूहले नगर परिक्रमा गराउँदै सम्मान गरेको छ । मन्त्रिपरिषद्को बैठकले लामा हत्याका अभियुक्तको मुद्दा फिर्ता लिने निर्णयपछि उनीहरूले अदालतबाट सफाइ पाएका हुन् ।
नेपाली कांग्रेस चितवनका सचिव देवेन्द्र गुरुङ पक्षले कार्यक्रम गरी तत्कालीन नेपाल तरुण दल अध्यक्ष शिव पौडेललाई मरणोपरान्त र अन्यलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रममा सभापति विकास कोइराला तथा उनका पक्षधर नेता कार्यकर्ता उपस्थित थिएनन् ।
सम्मान कार्यक्रममा लामा हत्या अभियोगबाट सफाइ पाएका ११ मध्ये छ मात्रै उपस्थित थिए । तरुण दल नगर उपसभापति प्रमेश राई, चन्द्र लामा, साजन गुरुङ, अनिल परियार, राजु गुरुङ र यमबहादुर कार्कीलाई सम्मान गरिएको थियो । उनीहरूलाई कांग्रेस जिल्ला सचिव गुरुङ र प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठले सम्मान गरेका थिए । यस्तै शिव पौडेलकी श्रीमती बिनु र छोरा सिविनलाई पनि सम्मान गरिएको थियो ।
१५ फागुन ०६८ मा मन्त्रिपरिषद्ले पौडेलसहित १२ को अभियोग फिर्ता लिने निर्णय गरेको थियो । निर्णयपछि आइतबार जिल्ला अदालत चितवनले मुद्दा फिर्ताको निर्णय सदर गर्दै पौडेलसहित १२ को ज्यान मुद्दाको अभियोग फिर्ता लिएको थियो । अभियोग फिर्ता लिएको फैसलाको तीन दिनपछि उनीहरू बुधबार चितवन आएका हुन् । चितवन आएका उनीहरूलाई कांग्रेस नेता तथा कार्यकर्ताले नारायणगढमा मोटरसाइकल र्‍यालीसहित नगर परिक्रमा गराएका थिए ।
युवा संघ चितवनका कार्यकर्ता लामाको १० भदौमा कविलास केराबारीमा गोली हानेर हत्या गरेको आरोपमा उनीहरू पुर्पक्षका लागि थुनामा थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तत्कालीन तरुण दलका अध्यक्ष पौडेलसहित १२ लाई पक्राउ गरेको थियो । जिल्ला कारागार भरतपुरभित्रै आक्रमणमा परी पौडेलको २ पुसमा मृत्यु भएको थियो ।
सम्मानपछि तरुण दलका नगर उपसभापति राईले यसअघि भएको घटनालाई लिएर तरुण दलले कुनै खतराको अवस्था नल्याउने प्रतिबद्धता जनाए । उनले पत्रकारसँग एमाले भ्रातृसंगठन युवा संघका कार्यकर्तासँग कुनै दुस्मनी नरहेको बताउँदै कुनै समस्या आए दलले विवेकी भएर वार्ताको माध्यमबाट समस्या सुल्झाउने बताए ।
नेपाली कांग्रेस चितवन सभापति कोइरालाले संस्थागत परामर्श नगरी सम्मान कार्यक्रम राखिएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीको केन्द्रीय निर्णयअनुसार उनीहरूको मुद्दा फिर्ता भएको तर पार्टीको एक झुन्डले आफ्नो राजनीतिक अभीष्ट पूरा गराउन कार्यक्रम गरेको आरोप लगाए । उनले अभियोग फिर्ता भएकालाई समाजमा पुन:स्थापना गर्न आफू पनि सक्रिय हुने बताए ।

प्रतिक्रिया