महानगरका सबै वडामा नेटवर्किङको तयारी

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरका ३५ वटै वडालाई महानगरपालिकासँग जोड्नका लागि काम थालिएको छ । सबै वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरी महानगरपालिका र वडा कार्यालयबीच ‘नेटवर्किङ’ गर्न लागिएको हो ।
महानगरपालिकाका अनुसार सेवाग्राहीलाई घरबाटै सेवा दिलाउने उद्देश्यका साथ काम थालिएको छ । त्यसका लागि पहिलो चरणमा सबै वडा कार्यालयमा इन्टरनेट सेवा सञ्चालन गरिनेछ । इन्टरनेट सेवा जडान गर्न नेपाल टेलिकमलाई रकम बुझाउने निर्णय गरिसकेको महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए ।
सबै वडा कार्यालयमा इन्टरनेट जडानका लागि नेपाल टेलिकमलाई केही दिनमै रकम बुझाइने कार्यकारी अधिकृत अधिकारीको भनाइ छ । पाँच लाख रुपियाँ बुझाएपछि टेलिकमले सबै वडामा इन्टरनेट जडान गर्नेछ । इन्टरनेट जडानपछि सबै वडा कार्यालयमा महानगरपालिकासँग नेटवर्किङ गरिनेछ । जसका लागि सबै कार्यालयमा कम्प्युटर उपलब्ध गराइनेछ ।
अधिकांश वडा कार्यालयमा कम्प्युटर भए पनि केहीमा छैन, केही कार्यालयको कम्प्युटर बिग्रिएर थन्किएको छ । बिग्रिएका कम्प्युटर फेर्ने र नभएका कार्यालयमा कम्प्युटर उपलब्ध गराएपछि इन्टरनेट सेवा जडान गरिनेछ । महानगरपालिका सूचना शाखाका अनुसार इन्टरनेट सेवा आगामी असारभित्र सबै वडा कार्यालयमा पुर्‍याइनेछ । २० वटा कम्प्युटर खरिद गरिसकिएको छ ।
नेटवर्किङका लागि आवश्यक सºटवेयर निर्माण भइरहेको महानगरपालिकाका कर्मचारी बताउँछन् । सºटवेयर निर्माणपछि त्यसमार्फत सूचना संकलन गरिनेछ । त्यस्ता सूचना महानगरपालिकाले सिधै हेर्न पाउँछ । ‘सूचना आदानप्रदानका लागि नेटवर्किङले महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ,’ एक कर्मचारीले भने । वडा कार्यालयहरूले पनि आवश्यक फारम तथा अन्य रिपोर्ट वडा कार्यालयबाटै प्राप्त गर्न सक्नेछन् । २० लाख रुपियाँमा नेटवर्किङको काम भइरहेको ती कर्मचारीको भनाइ छ ।
वडासम्म इन्टरनेट सेवा विस्तारपछि वडाभित्रका सम्पूर्ण सूचना महानगरपालिकाले तुरुन्तै पाउनेछ । महानगरपालिकाको सूचना पनि वडा कार्यालयसम्म तत्कालै पुग्नेछ । सर्वसाधारणले आफूले प्राप्त गर्न चाहेको सेवा घरबाटै पाउन सकुन् भन्ने लक्ष्य राखिएकाले त्यसतर्फ यो कार्यक्रम फलदायी हुने अपेक्षा महानगरपालिकाको छ ।
अधिकारीका अनुसार इन्टरनेटबाटै सर्वसाधारणले आवश्यक सेवा पाउनेगरी काम भइरहेको छ । सेवाग्राहीले घरबाटै सेवा अहिले नै माग नगर्ने भए पनि दीर्घकालीन योजनामा आफूले चाहेको सेवा उनीहरूले इन्टरनेटबाटै लिन पाउनेछन् । त्यसका लागि पहिलो चरणमा वडा कार्यालयमा इन्टरनेट सेवा पुर्‍याउने अनि दोस्रो चरणमा नेटवर्किङ गर्ने योजना छ । नेटवर्किङपछि सेवाग्राहीलाई सहज हुनेगरी अन्य काम गरिने अधिकारीले बताए ।

प्रतिक्रिया