१४ जेठका लागि प्रहरीको उच्च सतर्कता

काठमाडौं, १३ वैशाख । १४ जेठ आसपास हुन सक्ने सम्भावित ‘सुरक्षा थ्रेट’लाई विश्लेषण गर्दै प्रहरी प्रधान कार्यालयले प्रहरीले पाउँदै आएको सुत्केरी र किरियाबाहेक अन्य बिदा नदिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

प्रधान कार्यालयले गत आइतबारदेखि नै लागू हुने गरी मुलुकभरका सबै प्रहरी कार्यालयमा पत्राचार गरी यस्तो निर्देशन दिएको हो । कार्यालयको पत्रमा उल्लेख भएअनुसार अर्को आदेश जारी नभएसम्म सबै कार्यालयमा सो निर्देशन कायम रहनेछ । प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले कार्यालयको निर्देशनपत्रमा मिति उल्लेख नभए पनि यो अवधि १४ जेठभन्दा पनि लम्बिन सक्ने बताए । डिआइजी सिंहका अनुसार प्रधान कार्यालयको सो निर्देशन मुलुकभर लागु हुनेछ । ‘मुलुकमा हुन सक्ने सम्भावित दुर्घटनालाई विश्लेषण गर्दै प्रधान कार्यालयले यस्तो निर्देशन जारी गरेको हो,’ डिआइजी सिंहले भने ।
सामान्य दिनमा प्रहरीले हप्ता बिदा, सट्टा बिदा, बिरामी बिदा, भैपरी बिदालगायतका बिदा पाउने गर्छन् । सुरक्षाका दृष्टिले १४ जेठ सामान्य नभएको प्रहरीको बुझाइ छ । १४ जेठमा नयाँ सविधान जारी हुने हँुदा त्यसको पक्ष र विपक्ष दुवैबाट नाराजुलुस हुने हुँदा झडपको सम्भावना बढी रहेको प्रहरीको विश्लेषण छ । प्रहरीका अनुसार यही अवधिमा आपराधिक समूहले समेत खेल्न सक्ने सम्भावना छ । डिआइजी सिंहले भने, ‘प्रधान कार्यालयले यही अवस्था विश्लेषण गर्दै मुलुकभरका प्रहरीलाई हाइ अलर्ट रहन निर्देशन जारी गरेको हो ।’
यसअघि नै महानगरीय प्रहरी आयुक्त कार्यालयले विशेष सुरक्षा अभियानका नाममा सुरक्षा व्यवस्था कडा पारिसकेको छ । आयुक्त कार्यालयका अनुसार यस अभियानका लागि मात्रै काठमाडौं उपत्यकामा चार हजार ६ सय ७७ प्रहरी परिचालन गरिएको छ । यसका लागि प्रहरीले सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग पनि अवश्यक सहयोग लिने जनाएको छ । आयुक्त कार्यालयले १ वैशाखदेखि नै विशेष सुरक्षा अभियान सुरु गरिसकेको हो ।
संविधानसभा भवनलाई केन्द्र बनाइएको अभियानअन्तर्गत भवन आसपासका ५० मिटर क्षेत्रमा नाराजुलुस गर्न निषेध गरिएको छ । अति विशिष्ट, विशिष्ट व्यक्तिका निवास तथा सरकारी कार्यालय आसपासका क्षेत्रमा समेत नाराजुलुस लगाउन निषेध गरिएको छ ।

एक घन्टा प्रहरीको नियन्त्रणमा
निषेधित क्षेत्रमा नाराजुलुस गरेको भन्दै प्रहरीले पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीसहित २५ जनालाई एक घन्टा नियन्त्रणमा लिएर छाडेको छ । उनीसँगै सभासद्मा एकीकृत नेकपा
(माओवादी)का मोहमदी सफिक मियाँ र इस्लाम मियाँ, नेपाली कांग्रेसका मोहमदी सिद्धिकी, नेकपा(एमाले)का नजिर मियाँ, सभासद् अब्दुलकलाम आजाद, स्वतन्त्र सभासद् सदरुलमिया हकसहित २३ पुरुष र दुईजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले संघीयताको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय र सिहंदरबार आसपासका क्षेत्रमा नाराजुलुस गरेका थिए । उनीहरुलाई प्रहरीले करिब एक घन्टा नियन्त्रणमा लिए छाडेको हो ।

प्रतिक्रिया