दक्षिण कोरियालाई खरानी पार्ने धम्की

सोल, ११ वैशाख । उत्तर कोरियाले दक्षिण कोरियाका शासकविरुद्ध ‘अभूतपूर्व’ कारबाही गरेर उनीहरूलाई ‘खरानी पार्ने’ चेतावनी दिएको छ । यस्तो कारबाही चाँडै सुरु गर्ने जनाइए पनि कहिलेबाट कारबाही सुरु हुने र कारबाहीको प्रकृति कस्तो हुने भन्नेबारे केही खुलाइएको छैन ।
उत्तर कोरियाली सेनाले सोमबार वक्तव्य जारी गरी यस्तो चेतावनी दिएको हो । केही दिनअघि उत्तरले आफ्ना संस्थापक नेता किम इल सुङको जन्म भएको सय वर्ष पूरा भएका अवसरमा कार्यक्रम गर्दा दक्षिणका राष्ट्रपति लि म्युङ बाकले उत्तरको अपमान गरेको भन्दै उत्तर कोरियाली सेनाले यस्तो चेतावनी दिएको हो । गत साता राष्ट्रपति बाकले उत्तरतर्फ लक्ष्य गरी दक्षिणले थुप्रै क्षेप्यास्त्र तैनाथ गरिएको बताएका थिए ।
सुङको जन्मजयन्तीमा उत्तरले गर्ने भनेको भूउपग्रहवाहक रकेट प्रक्षेपणको पनि उनले चर्को आलोचना गरेका थिए । भूउपग्रहवाहक रकेट प्रक्षेपण गर्ने बहानामा उत्तरले लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्न लागेको आरोप लगाउँदै प्रक्षेपण कार्यक्रम रद्द गर्न दक्षिण कोरिया, जापान, अमेरिकालगायतले उत्तरलाई दबाब दिएका थिए । तर, उत्तरले भने शान्तिपूर्ण प्रयोजनका लागि भूउपग्रह प्रक्षेपण गर्नु सार्वभौम राष्ट्रको वैधानिक अधिकार रहेको जिकिर गर्दै प्रक्षेपण गरिछाड्ने अड्डी लिएको थियो । अन्तत: उत्तरले रकेट प्रक्षेपण गरे पनि प्रक्षेपण सफल भने हुन सकेको थिएन ।
प्रक्षेपण कार्यक्रमविरुद्ध बोलेर राष्ट्रपति बाकले आफूहरूको अपमान गरेको भन्दै उत्तर कोरियाली सेनाले राष्ट्रपति बाकको प्रशासनलाई खरानी पार्ने चेतावनी दिएको हो । वक्तव्यमा राष्ट्रपति बाक, दक्षिण कोरियाली प्रतिरक्षामन्त्री, विश्लेषक, कन्जरभेटिभ सञ्चारकर्मी आदिलाई ‘मुसातुल्य वस्तु’ को संज्ञा दिइएको छ । उनीहरूले स्वच्छ सोचाइ भएका जनताको धारणा बिगार्ने गरेको आरोप वक्तव्यमा लगाइएको छ ।
‘राष्ट्रद्रोहीहरूले तेस्र्याएका असावधानीपूर्ण चुनौतीको सामना गर्न हाम्रो क्रान्तिकारी सैन्य बलले चाँडै विशेष कारबाही थाल्नेछ, अभूतपूर्व र पृथक् तरिकाले गरिने कारबाहीबाट उनीहरूलाई तीनदेखि चार मिनेटभित्र खरानी पारिनेछ,’ वक्तव्यमा भनिएको छ । (एजेन्सी)

प्रतिक्रिया