सिंहदरबारका कर्मचारीको टाइमपास

काठमाडौं, ८ वैशाख । केही महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्  कार्यालयका सचिव लीलामणि पौड्यालले आङ्खना कार्यालयका कर्मचारीले तास खेलिरहेको फेला पारेका थिए । उनले ती कर्मचारीलाई अरु मन्त्रालयमा सरुवा गराएका पनि थिए । उनले आचरणविपरीत काम गर्ने कर्मचारीलाई कारबाही भएको बताए । भने, ‘पहिले त्यस्तो पाइए पनि अहिले सिंहदरबारका सबै कर्मचारी काममा बढी व्यस्त रहन्छन् ।’
शान्ति तथा पुनःनिर्माण मन्त्रायका शाखा अधिकृत रामजी दनाईंको अधिकांश समय फेसबुक र कम्प्युटरमा तास खेल्दैमा बित्छ । मन्त्रालयको तेस्रो तलामा कार्यकक्ष् रहेका दनार्इं बिहान कार्यालय पुगेपछि सबैभन्दा पहिले कम्प्युटर अन गर्छन् र फेसबुक खोल्छन् । अनलाइनमा आफन्त तथा साथीसग गफिन सुरु गर्छन् । मन्त्रालयका एक अधिकारीका अनुसार दनाईं फेसबुकमा मात्र होइन, कम्प्युटरमा तास खेलेर पनि समय बिताउछन् ।
यसरी कार्यालय समयमा फेसबुक चलाउने, तास र अरु कम्युटर गेम खेलेर बिताउने, शान्ति मन्त्रालयका दनार्इं एक्ला कर्मचारी भने होइनन् । सिंहदरबारभित्र रहेका अरु मन्त्रालयका धेरै कर्मचारीले पनि त्यसरी  नै टाइमपास गर्छन् । कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत खेमनाथ शर्मा पनि कार्यालयका अन्य काम सुरु गर्नु पहिले कम्प्युटरमा फेसबुक खोल्छन् र समय बिताउछन् तर उनी आफूले फेसबुकमा समय नबिताएको बताए । उनले भने, ‘कहिलेकाही फ्रेस हुनाका लागि आधुनिक सञ्चारको प्रयोग  गरिन्छ, लत नै भने छैन, हाम्रो धेरै समय कार्यालयकै काममा बित्छ ।’
छिटो र व्यवस्थित तरिकाबाट सरकारी काम होस् भनेर सरकारले सिंहदरबारभित्रका सबै कार्यालयमा इन्टरनेट र कम्प्युटरको व्यवस्था गरिदिएको छ  तर सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारी त्यसको दुरुपयोग गर्दै फेसबुक चलाउने, गेम खेल्ने, अश्लील साइट हेर्नेजस्ता अनुत्पादक काममा बढी समय खर्च गर्छन् ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक उपसचिवले आङ्खनो दिमागलाई एकीकृत गर्न कहिलेकाही कम्युटरमा तास खेल्ने गरेको बताए । ‘काम गर्दा गर्दा हैरान भएपछि केही समय निकालेर दिमागलाई अन्तै प्रयोग गरिनुलाई नराम्रो भन्न मिल्दैन’ उनले थपे, ‘तर, यसलाई लतका रुपमा प्रयोग भने गर्नु हुदैन ।’ तर, मन्त्रालयका सचिव गणेशराज जोशीले भने कार्यालय समयमा कम्प्युटरमा कुनै पनि प्रकारका गेम खेल्न नपाइने बताए । ‘कुनै कर्मचारीले गेम खेलेको पाएमा अनुशासनको कारबाही गरिन्छ’, सचिव जोशीले भने, ‘यस विषयमा ध्यान नै गएको थिएन, अब अनुगमन गर्छु ।’ उनले फेसबुकमा गफिन वा तास खेल्न सरकारले कम्प्युटर उपलब्ध नगराइएको बताउदै  थपे, ‘काम व्यवस्थित र वैज्ञानिक होस् भनेर नै कर्मचारीलाई कम्प्युटरको व्यवस्था गरिएको हो ।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दीपकराज पाण्डेले भने कर्मचारीले फेसबुक र कम्प्युटर गेममा समय बिताउने गरेको स्विकार्दै भने, ‘काम नपुगेर कार्यालय समयमा कार्यालयमै फेसबुक च्याट गर्ने र गेम खेल्ने गरेका हुन् ।’ उनले पद्दति बसालेर काम लगाउन सकियो भने, कर्मचारीलाई त्यसरी समय खेर फाल्ने फुर्सद नै नपाउने बताए । ‘अझ पहिले पहिले त कर्मचारीले ढोका नै थुनेर तास खेलेको पाइन्थ्यो’ उनले थपे, ‘अहिले त्यस्तोचाहि भेटिएको छैन ।’
तुलनात्मक रुपमा अन्य मन्त्रालयभन्दा गृहमा बडी भिड र कामको चाप हुन्छ तर पनि गृहका धेरै कर्मचारी टिफिन टाइमपछि कम्युटरमा तास खेलेर बिताउने गर्छन् । गृहका एक अधिकारीका अनुसार गृहका सहप्रवक्ता एकमणि नेपाल पनि कम्प्युटरमा राम्रैसग तास खेल्छन् । फेसबुक च्याटमा पनि उनको समय बित्छ । स्रोतका अनुसार मन्त्रालयमा सचिव नभएको समयमा उनी ढोका थुनेरै कम्प्युटरमा तास खेलेर बसेका हुन्छन् । तर नेपालले आफूले कम्प्युटरमा तास खेलेर समय खेर नफालेको बताए । उनले भने, ‘कामको चापले बोल्नेसम्म फुर्सद हुदैन कहा तास खेल्नु ? कहिलेकाही फेसबुक र इमेलमा देखापरेका साथीहरुसंग गफ गर्नुलाई अन्यथा ठान्नु हुदैन ।’
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव दिनेशहरि अधिकारी आफ्नो मन्त्रालयका कुनै पनि कर्मचारीले तास खेलेर या फेसबुकमा गफिएर समय नबिताएको दाबी गर्छन् । उनले सौर्यसंग भने, ‘मैले बेलाबेलामा अनुगमन गरिरहेको हुन्छु, आजसम्म त्यस्तो फेला पारेको छैन । म त कार्यालयमा इमेल समेत खोल्दिन, मेरो नामको इमेलमा आएका डकुमेन्ट अरु साथीले नै हेरेर प्रिन्ट गरी ल्याउछन् ।’
सिचाइ सचिव विन्द्रा हाडा त्यसबारेमा आफूलाई जानकारी नभएको बताउछिन् । ‘मलाई इमेल चेक गर्नेसम्म फुर्सद हुदैन, अरुले के गर्छन् त्यो जानकारी राख्दिन’ उनले भनिन्, ‘कर्मचारी सिस्टममा चलेका छन् भने तिनले अन्यत्र ध्यान दिने समय नै पाउदैनन् ।’

प्रतिक्रिया