परिवार नियोजनका आधुनिक साधन पढेलेखेकाले नै प्रयोग गर्दैनन्

काठमाडौं, ८ वैशाख । देशमा शैक्षिकस्तर बढ्दै गए पनि परिवार नियोजनको आधुनिक साधनको प्रयोग भने घट्दै गएको छ । अशिक्षितको तुलनामा शिक्षितले नै परिवार नियोजनका आधुनिक साधन कम प्रयोग गर्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण प्रतिवेदनले पढे लेखेका व्यक्तिमा परिवार नियोजनका आधुनिक साधनको प्रयोगदर घट्दै गएको र प्राकृतिक विधि अपनाउनेको संख्या बढ्दै गएको देखाएको छ । सरकारले परिवार नियोजनका आधुनिक साधनको प्रयोग बढाउन वार्षिक १५ करोड रुपियाभन्दा बढी रकम खर्चिंदै आएको छ तर प्रयोगमा भने कमी आएको छ । पाच वर्षअघि चार प्रतिशतले मात्र प्राकृतिक विधि अपनाउने गरेकामा यसपटक यो दर सात प्रतिशत पुगेको छ । आधुनिक साधन प्रयोग गर्नेको संख्यामा पनि एक प्रतिशत कमी आएको छ । सन् २००६ को सर्वेक्षणमा अस्थायी साधनको प्रयोगदर ४४ दशमलव२ प्रतिशत रहेकामा सन् २०११ मा ४३ दशमलव २ प्रतिशतमा झरेको छ ।
‘परिवार नियोजनका कार्यक्रम थालिएको झन्डै पाच दशकपछि आधुनिक साधनको प्रयोगदर घट्दै गएर प्राकृतिक विधि अपनाउनेको संख्या बढिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अस्थायी साधन प्रयोग गर्नेमा पनि पढे लेखेकाभन्दा नपढेका र कम पढेका बढी छन् ।’ पाच वर्षको अवधिमा आधुनिक साधनको प्रयोग बढाउन करोडौ खर्च तथा निःशुल्क वितरण गरिए पनि प्रयोगमा कमी आउनाले सरकारी कार्यक्रमको प्रभावकारिता कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘सन् २००६ पछि शिक्षाको स्तरमा ठूलै उपलब्धि हासिल भएको छ । सरकारले परिवार नियोजनका आधुनिक साधनबारे देशभर चेतना पनि फैलाएको छ,’ स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले भने, ‘तापनि, सन् २००६ को परम्परागत विधि अपनाउनेको प्रतिशत चारबाट वृद्धि भई अहिले सात पुगेको छ ।’ उनका अनुसार परम्परागत विधिमा वृद्धि हुनाको कारण यौनसम्पर्कका समयमा पुरुषले वीर्य बाहिर खसाल्ने विधि बढ्नु नै प्रमुख कारण हो ।
प्रतिवेदनले पनि परम्परागत विधि अपनाउनेको संख्या बढ्नामा वीर्य योनिबाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौनसम्पर्क राख्नेको संख्यामा वृद्धि हुनुलाई देखाएको छ । प्रतिवेदनअनुसार एसएलसीभन्दा माथि अध्ययन गरेका १३ दशमलव १, माध्यमिक तहसम्मका ८ दशमलव २, प्राथमिकसम्मका ६ दशमलव ६ र कुनै पनि शिक्षा हासिल नगरेका ३ दशमलव ९ प्रतिशतले परम्परागत विधिअन्तर्गत वीर्य बाहिर झार्ने वा रजस्वलाको समय मिलाएर यौनसम्पर्क राख्ने गरेका छन् । वीर्य बाहिर खसाल्नेमा एसएलसीभन्दा माथि पढेका ११ दशमलव ३, माध्यमिकसम्मका ७ दशमलव १, प्राथमिकसम्मका ५ दशमलव ६ र नपढेका २ दशमलव ८ प्रतिशत छन् । यस्तै रजस्वलाको समय मिलाएर यौनसम्पर्क राख्नेमा एसएलसीभन्दा माथिका १ दशमलव ८, माध्यमिकसम्मका १ दशमलव १, प्राथमिकसम्मका ० दशमलव ८ र अशिक्षित १ दशमलव १ प्रतिशत छन् ।
परम्परागत विधि अपनाउनेमा ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका बढी छन्  । सहरका ९ दशमलव ८ र गाउ“का ६ प्रतिशतले परम्परागत विधि अपनाएका छन् । यसैगरी, पहाडका सबैभन्दा बढी र हिमाली क्षेत्रका सबैभन्दा कम छ । प्रतिवेदनका अनुसार पहाडका ७ दशमलव ६, हिमालका ५ दशमलव ३ र तराईका ५ दशमलव ९ प्रतिशतले परम्परागत विधि अपनाउ“छन् । विकास क्षेत्रका आधारमा सबैभन्दा बढी पूर्वाञ्चलका १० दशमलव २ र त्यसपछि क्रमशः पश्चिमाञ्चलमा ७ दशमलव ४, मध्यमाञ्चल ४ दशमलव ८, सुदूरपश्चिमाञ्चलमा ४ दशमलव ८ र मध्यपश्चिमाञ्चलमा ४ प्रतिशत छन् ।
साधन प्रयोग गर्ने संख्यामा कमी आएकाले नेपालले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न कठिन पर्ने पनि अध्ययनले देखाएको छ । लक्ष्यअनुसार सन् २०१५ मा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ तर सरकारी तथ्यांकले नै ४३ दशमलव २ प्रतिशतले मात्र साधन प्रयोग गर्ने गरेको देखाएको छ । सन् २००६ को तुलनामा यस वर्ष कन्डम, सुई र महिला बन्ध्याकरण गर्नेको संख्या घटेको छ । पुरुष बन्ध्याकरण, पिल्स, इम्प्लान्स र आइयुडीको प्रयोगमा वृद्धि भए पनि समग्रमा आधुनिक साधन प्रयोग गर्नेको संख्या घटेको छ ।
जनसंख्या महाशाखाका सहसचिव पदमराज भट्टले परिवार नियोजनका साधनको प्रयोग घट्नुमा गर्भपतन र वैदेशिक रोजगारीमा जाने पुरुषको संख्यामा वृद्धि भएकाले हुन सक्ने बताए । ‘पाच वर्षको अवधिमा साधन प्रयोगमा उल्लेख्य वृद्धि हुनुपर्ने थियो,’ उनले भने, ‘तर यसमा थप कमी आएको छ । त्यसकारण सहस्राब्दी विकास लक्ष्य पूरा गर्न कठिन हुने भएको छ ।’

प्रतिक्रिया