अडान छोडेर राष्ट्रलाई निकास दिन्छौः गच्छदार

चितवन, ८ वैशाख । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राजनीतिक दलहरु आ—आफ्ना अडानबाट पछाडि हटेर राष्ट्रलाई निकास दिन तयार रहेको बताएका छन् ।
उनले राजनीतिक दलहरुले अडानबाट एक कदम पछाडि हटेर सहमति गर्न लागेको बताएका हुन् । थारु संयुक्त सघर्ष समितिले चितवनको टाडीमा आयोजना गरेको थारु राष्ट्रिय गोलमेच सम्मेलनको आज उद्घाटन गर्दै उनले सबैलाई मान्य हुने सहमति गरेर राज्यको पुनर्संरचनाको खाका तयार गर्ने बताए ।
‘राज्य पुनर्संरचना जस्तो जटिल विषयमा हतारिएर निर्णय लिन हुदैन ।’ मन्त्री गच्छदारले भने, ‘यो साह्रै असजिलो र जटिल विषय हो ।’ उनले  सहमतिमा पुग्नलाई गाह्रो विषय नै संघीयता भएको बताउदै राज्यको कसरी  विभाजन गर्ने भन्ने विषयमा नै दलहरु बीच सहमती हुन नसकेको स्पष्ट पारे ।
‘सबै दलहरुको आ–आफ्नो धारणा र अडान छ । त्यो अडानबाट केही पछाडि हटेर सर्वमान्य सहमती गर्ने प्रयासमा छौ ।’ उनले थपे –‘अहिलेपनि दुइ पक्षीय तीन पक्षीयदलहरुबीच छलफल भइरहेको छ ।’
उनले शनिबार मुख्य तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीच हुने  छलफलबाट निष्कर्ष निस्किने विश्वास व्यक्त गरे । शनिबार हुने दुइ पक्षीय, तीन पक्षीय छलफलले एउटा शुभ संकेत दिने उनको भनाई थियो ।
तीन ठूला दल सहित अन्य दलहरु हात्तीवनमा बस्दा भएको छलफलमा पनि एउटा सहमतीको अन्तिम चरणमा पुगेको उनले बताए । संघीयता बिनाको संविधान आउछ की भन्ने कसैलाई शंका छ भने त्यो हटाउन आग्रह गर्दै उनले संघीय गणतन्त्रबाट कुनैपनि हालतमा पछाडि हट्न नसकिने बताए ।
संघीयता बिनाको संविधान कुनैपनि हालतमा स्वीकार्य नहुने बताउदै सबै जात जाति भाषा, संस्कृति, पहिचानको आधामा संघ निर्माण गरिनु पर्ने मन्त्री गच्छदारको जोड थियो । उनले भने संघीयताको नारा विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेलाई घाडो भएको उनले टिप्पणी गरे ।
उनले चितवनलाई  विखण्डन नगरिने बताए । तीन वा त्यो भन्दा बढी प्रदेशमा राज्य पुर्नंसरचना भएपनि चितवनलाई विखण्डन नगरिने उनको भनाई थियो । चितवनको छुट्ुटै पहिचान र सामथ्र्य रहेको छ यसलाई टुक्रा बनाउन हामी चाहदैनौ उनले भने ।
थारुहरुको हक अधिकारलाई संविधानमा कसरी समावेश गर्ने भन्ने विषयमा २४ जिल्लाका दुई सय जना भन्दा धेरै थारुहरु भेला भएको गोलमेच सम्मेलनमा दुई दिन सम्म घनिभूत रुपमा छलफल हुने आयोजकले जनाएको छ ।
पहिचान सहित थरुहट तराइमा प्रदेशको निर्धारण, नमाङ्कन, सीमाङकन तथा नामाङ्कन एवम् थारु जातिको हक र अधिकारको विषयमा छलफल हुने छ । उद्घाटन कार्यक्रममा आदिवासी जन जाति महासंघका अध्यक्ष राजकुमार लेखी, सभाषद शान्ता चौधरीलगायतले थारुहरुको अधिकारका विषयमा बोलेका थिए ।

प्रतिक्रिया