दुई दिनमा पनि पुगेन फाइल बागदरबारबाट अनामनगर

काठमाडौं, ६ वैशाख । काठमाडौं महानगरपालिकाले सिभिल ट्रेड सेन्टरको फाइल काठमाडौं उपत्यका नगर विकास समिति (काठमाडौं उपत्यका विकास प्राधिकरण)मा पठाएको बताए पनि फाइल भने हालसम्म समितिमा पुगेको छैन । महानगरपालिकाका कर्मचारीले सधै“ चिठीपत्र बोकेर समितिमा लैजाने गरे पनि सेन्टरसम्बन्धी फाइल भने दुई दिन बितिसक्दासमेत समितिमा पुग्न नसकेको हो । समितिका पूर्वनियोजक डा. भाइकाजी तिवारीले महानगरपालिकाबाट सेन्टरको सम्बन्धमा माग गरिएको कुनै फाइल समितिमा नआएको बताए ।
महानगरपालिका कार्यालय बागदरबारबाट समितिको कार्यालय अनामनगर (लोकसेवा आयोगनजिक) जम्माजम्मी तीन किलोमिटरको दूरीमा छ । सेन्टरले समितिको स्वीकृति नलिई महानगरपालिकाको गेटनेर भवन बनाएको पाइएपछि त्यसबारे अध्ययन गर्न समितिले महानगरपालिकासग फाइल माग गरेको थियो । सेन्टरसम्बन्धी फाइल उपलब्ध गराइदिन बारम्बार पत्राचार गरिए पनि महानगरपालिकाले उपलब्ध गराउन मानिरहेको थिएन । सोमबार भने महानगरपालिकाले समितिमा फाइल पठाएको बताइएको छ । सोमबारै फाइल समितिमा पठाइएको महानगरपालिकाले बताए पनि दुई दिनसम्म फाइल पुगेको छैन । डा. तिवारीले सेन्टरका विषयमा समितिले माग गरेको फाइल नआएको बताए । ‘आजसम्म हामीले माग गरेको फाइल आइपुगेको छैन,’ डा. तिवारीले सौर्यसग भने ।
कुनै पनि व्यापारिक भवन निर्माण गरिदा समितिसग स्वीकृति लिनुपर्ने प्रावधान छ । स्वीकृति नलिई बनाइएको भवन समितिले भत्काउन सक्छ । डा. तिवारीले सेन्टरले समितिको स्वीकृति नलिएको यसअघि नै बताइसकेका छन् । सेन्टरले महानगरपालिकासग नौ तलाको भवन बनाउनेगरी नक्सा पास गरे पनि ११ तला भवन बनाएको दाबी महानगरपालिकाले गर्दै आएको छ । नौ तलाको नक्सा पास गरेर ११ तलाको भवन बनाइएको विषयमा अध्ययन गर्न महानगरपालिकाले नक्सा प्रमुख उत्तरकुमार रेग्मीको संयोजकत्वमा एउटा समिति बनाएको छ ।
सेन्टरका लगानीकर्ता इच्छाराज तामाङ भने महानगरपालिकासग नक्सा पास गरिएविपरीत भवन नबनाइएको दाबी गर्छन् तर सेन्टरकै वेबसाइट डब्लुडब्लुडब्लु डट सिभिल होम डटकममा राखिएको विज्ञापनमा भने सो भवन ११ तलाकै भएको उल्लेख छ । वेबसाइटमा भवन ११ तलाको हुने बताएको सेन्टरले नौ तलाको मात्र नक्सा पास गरेको महानगरपालिकाका अधिकारीको भनाइ छ । महानगरपालिकाका अनुसार सामान्यत ११ फिटको एक तला हुने भए पनि सेन्टरले २० फिटको एउटा तला बनाएको छ । सेन्टरले त्यसलाई एक तला दाबी गरेको छ भने महानगरपालिकाका इन्जिनियरले त्यसलाई दुई तला दाबी गरेका छन् ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले विज्ञापनमै ११ तलाको प्रचार गरिएको भए सेन्टरलाई कारबाही गर्न सहज हुने बताए । ‘के रहेछ, म हेरेर आवश्यक प्रक्रिया अघि बढाउछु,’ अधिकारीले सौर्यसग भने ।

प्रतिक्रिया