रोनाल्डो र मेसीको होड

म्याडि्रड, ३ वैशाख । स्पेनिस पि्रमेरा लिग फुटबल प्रतियोगितामा बार्सिलोना र रियल म्याडि्रडबीच उपाधि संघर्ष चर्किरहेका बेला यी क्लबका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो -रियल म्याडि्रड) र लिओनेल मेसी -बार्सिलोना) बीच कीर्तिमानको होड पनि बढेको छ ।
लिगमा पाँच खेल बाँकी रहँदा शीर्षस्थानको रियल म्याडि्रड र दोस्रो स्थानको बार्सिलोनाबीचको अंकदूरी चारको छ । यति नै बेला लिगमा सर्वाधिक गोलको कीर्तिमान बनाउने होडमा देखिएका छन्, रोनाल्डो र मेसी पनि । दुवै खेलाडीले जारी लिगमा कीर्तिमानी अहिलेसम्म समान ४१ गोल गरेका छन् ।
शनिबार राति भएको जारी लिगको आफ्नो ३३औं खेलमा रियलले गियोनलाई ३-१ ले पराजित गर्दा पोर्चुगलका पूर्वफिफा वर्षखेलाडी रोनाल्डोले एक गोल गरी स्पेनिस लिगमा ४१ गोलको नयाँ कीर्तिमान कायम गरे । यसअघि गत सिजनमा ४० गोल गरी उनी आफैले कीर्तिमान कायम गरेका थिए । रियलले जित हात पारेको केही घन्टापछि भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-० ले पराजित गर्‍यो जसमा दुवै गोल अर्जेन्टिनी मेसीले गरेका थिए । यी गोलपछि उनको गोलसंख्या पनि जारी लिगमा ४१ पुग्यो ।
गियोनविरुद्ध अर्जेन्टिनाकै एन्जेल डी मारियाको क्रसमा ७४औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए । उनले जारी सिजनमा सबै प्रतियोगितामा गरी ५३ गोल गरिसकेका छन् जुन यसअघि उनले एक सिजनमा गरेको सर्वाधिक गोलको बराबरी हो ।
७२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी लगातार तीनपटकका फिफा वर्षखेलाडी मेसीले केही घन्टाअघि मात्र रोनाल्डोले बनाएको कीर्तिमान बराबरी गरेका हुन् । त्यसअघि उनले ६४औं मिनेटमा खेलकै पहिलो गोल गरी लिगमा व्यक्तिगत ४०औं गोल पूरा गरेका थिए । लिगसँगै मेसी अर्को कीर्तिमान पनि तोड्ने दौडमा छन् । जारी सिजनमा सबै प्रतियोगितामा गरी उनले ६३ गोल गरिसकेका छन् । एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने युरोपियन खेलाडीको कीर्तिमान तोड्नबाट उनी पाँच गोलले मात्र पछि छन् । सन् १९७२/७३ को सिजनमा बायर्न म्युनिखका गेरार्ड मुलरले अहिलेसम्म पनि कीर्तिमानका रूपमा रहन सफल ६७ गोल गरेका थिए ।
कीर्तिमान बनाउने दौडमा मेसी र रोनाल्डो मात्र होइन रियल म्याडि्रड पनि देखिएको छ । रियलले जारी लिगमा १ सय ७ गोल गरिसकेको छ । यसअघि रियलले एकै सिजनमा गरेको यो नै सर्वाधिक गोलसंख्या हो । सन् १९८९-९० को सिजनमा रियलले यो सफलता हात पारेको थियो । शनिबार राति ८२औं मिनेटमा करिम बेन्जिमाले गोल गरी रियललाई यसअघिको क्लब गोल कीर्तिमान बराबरी गर्न सहयोग पुर्‍याएका थिए ।

प्रतिक्रिया