रुद्रीपाठपछि चिकेन ज्युनार

महेन्द्रनगर, १७ चैत । धार्मिक भ्रमणका क्रममा सुदूरपश्चिममा रहेका पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार महेन्द्रनगरमा पाच घन्टा बिताए । महेन्द्रनगर बसाइमा उनले स्थानीय सिद्धबाबा मन्दिरमा पूजा र रुद्रीपाठ गरेलगत्तै होटेलमा कुखुराको मासु र कुखुराकै सुप ‘ज्युनार’ गरेका छन् ।
कैलालीको धनगढीबाट आफैले गाडी हाकेर महेन्द्रनगर पुगेका थिए, पूर्वराजा । दिउसो १२ बजे उनी मदनचोकदेखि समर्थकहरूको स्वागत ग्रहण गर्दै १.०० बजे पुरानो सिद्धबाबा मन्दिर प्रवेश गरे । मन्दिरमा उनले पहिला सिद्धबाबाको दर्शन अनि पूजा गरे । त्यसपछि नजिकै रहेको अर्को मन्दिरमा शिवजीको पूजा सकेर नवनिर्मित मन्दिर हलको उद्घाटन गरी १.३० बजे त्यही रुद्रीपाठसमेत गरेका थिए ।
ठीक २.०० बजे पूजा र रुद्रीपाठ सकेका पूर्व राजा ज्ञानेन्द्र २.१५ मा महेन्द्रनगरको एक मात्र सुविधासम्पन्न तीनतारे होटेल ओपेरा पुगे । पूजा र रुद्रीपाठ गरेको १५ मिनेटपछि होटेल छिरेलगत्तै उनले सुरुमा एक कचौरा चिकेन सुप पिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि खानास“ग पनि उनले ब्रोइलर कुखुराको मासु खाएका थिए ।
पूर्वराजाको भोजमा सहभागी एक व्यक्तिका अनुसार एक कचौरा सुप पूरै पिए पनि ठूलो कचौरामा रहेको चिकेन ग्रेभी भने आधा खाएर छाडेका थिए । खानापछि उनले होटेलका कर्मचारीलाई भनेर मिठापान मगाएर खाए ।
भ्रमणको केही दिनअघि नै आएका पूर्वराजाका सहयोगी फणिराज पाठकले होटेलको मेनु लगेका थिए । शुक्रबार दिउसो शाहका भान्सेले होटेलको भान्सामै पसेर उनको रुचिबमोजिमका परिकार बनाउन सिकाएको स्रोतले बतायो । शाहले अन्य परिकारका साथ भात, दाल र भिन्डीको तरकारी खाएका थिए ।

‘अन्य पाहुनालाई झै खाना कस्तो लाग्यो भनेर सोध्न मिल्दैन,’ राजाका भान्सेहरूले खाना लैजाने वेटरहरूलाई अगाडि नै यसरी सम्झाएका थिए । खाना खाएर ४५ मिनेट आरामपछि ३.३० बजेदेखि राजाले तलको हलमा झरेर आफ्ना समर्थकसग भेटघाट गरे । डेढ घन्टाको भेटघाटपछि ५.०० बजे उनी कैलालीको धनगढीतर्फ लागे ।
आफै गाडी हाकेर आएका पूर्वराजा फर्कंदा आफू पछाडिको सिटमा बसेर ड्राइभरलाई गाडी चलाउन लगाएका थिए । निर्धारित कार्यक्रमअनुरूप चार घन्टाका लागि महेन्द्रनगर आएका ज्ञानेन्द्र समर्थकहरूको भेटघाटका लागि एक घन्टा बढी बसेका हुन् । रुद्रीपाठ गरे पनि उनले समय अभावले होम गर्न भने भ्याएनन् । ‘रुद्रीपाठपछि होम गर्ने कार्यक्रम पनि थियो,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीता बोहराले भनिन्, ‘समय अभावले होम हुन सकेन ।’ एक घन्टाको पूजापाठ खर्चबापत पूर्वराजाले मन्दिर व्यवस्थापन समितिलाई एक लाख रुपिया दिएका छन् । पूरै एक लाख खर्च नभएकाले बाकी रकम मन्दिर व्यवस्थापन समितिले कोषमा जम्मा गर्ने जनाएको छ ।
शुक्रबार बिहान धनगढीबाट बा.४च३८०७ नम्बरको निजी ल्यान्ड क्रुजर गाडी आफै चलाएर शाह महेन्द्रनगर गएका थिए । बिहीबार गेटा विमानस्थलबाट धनगढीसम्म पुग्दा चालकले गाडी चलाए पनि शुक्रबार भने शाह आफैले चलाएका थिए । शाहसगै अर्को बा.१च५७६६ नम्बरको सोही कम्पनीको गाडीमा उनका सुरक्षाकर्मी र निजी सचिवालयका कर्मचारी गएका थिए । शाहको सवारीका लागि गत बुधबार नै काठमाडौंबाट उक्त गाडी ल्याइएको थियो । गाडी निजी भए पनि भाडामा ल्याइएको हो या होइन भन्ने आफूलाई जानकारी नभएको मूल स्वागत समारोह समितिका हरिलाल भट्टराईले बताए । पूर्वराजालाई करिब पाच सयको संख्यामा पहेलो टिसर्ट लगाएका शिव सेना नेपालका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गरेका थिए । सगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि परिचालन भएको थियो ।
हसिलो अनुहारमा देखिएका पूर्वराजालाई भेट्न तथा हेर्न धनगढीस्थित रुवस होटेलमा सर्वसाधारणको भिड लागेको भए पनि कसैलाई भेट दिइएको छैन । उनलाई राजनीतिक दलका कारण देशमा अराजकता छाएको भन्दै सक्रिय हुन उपस्थित भिडले आग्रह गरे पनि पूर्वराजाले कुनै प्रतिक्रिया दिएनन् । पूर्वराजा शाहको स्कर्टिङका लागि परिचालन भएकाहरूलाई मोटरसाइकलमा पेट्रोल तथा खानपानमा लाखौ रुपिया खर्च गरिएको छ । त्यसको सम्पूर्ण खर्च मूल स्वागत समारोह समितिले व्यहोरेको बताइएको छ ।
विशुद्ध धार्मिक भ्रमण भने पनि पूर्वराजाको स्वागतार्थ ठूलै तामजाम देखाइएको छ । धनगढीदेखि महेन्द्रनगरको बीच–बीचमा स्वागतद्वार बनाइएका छन् । ०६१ सालमा नागरिक अभिनन्दनका लागि धनगढी आएका पूर्वराजा राजतन्त्रपछि पहिलोपटक लामो समय भ्रमणको कार्यक्रम लिएर सुदूरपश्चिम आएका हुन् ।
उता, राजा सर्वसाधारण नागरिकसरह भइसकेको भन्दै अखिल नेपाल युवक संघले उनको स्वागतार्थ बनाइएको गेटास्थित स्वागतद्वार जलाएको छ । सो संघले अझै पनि पुरानै राजतन्त्रको झझल्को आउनेगरी शाहको स्वागत गरिएको भन्दै विरोधसमेत गरेको छ । रुवस होटेलमा बसेका पूर्वराजाले शनिबार धनगढीस्थित नैनादेवी भगवती मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
(कैलालीबाट दीपक ओलीको सहयोगमा)

प्रतिक्रिया