ताराले पनि दिलाइन् तीन स्वर्ण

नेपालगन्ज, ११ चैत । नेपालगन्जमा सम्पन्न पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ६ वटा स्वर्णपदक प्राप्त गरेको छ ।
प्रतियोगिताको अन्तिम दिन शनिबार महिलातर्फ ६९ केजीमा नेपालकी तारा पुनले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा गरी ३ स्वर्ण जितिन् । उनले क्रमशः ६३ केजी, ९० केजी र १ सय ५३ केजी उचालेकी थिइन् । अन्तिम दिनको खेलमा ६९ केजी तौलसमूहमै राजलक्ष्मी थापाले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा ३ वटा रजत प्राप्त गरेकी छन् । उनले क्रमशः ५६ केजी, ६८ केजी र १ सय २४ केजी उचालेकी थिइन् ।
ताराले पनि तीन स्वर्ण दिलाएपछि प्रतियोगितामा नेपालले ६ स्वर्ण, ९ रजत र १२ कांस्य गरी कुल २७ पदक प्राप्त गरेको छ । नेपालका अनिल मल्लले प्रतियोगिताको पहिलो दिन शुक्रबार पुरुषको ६९ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा गरी तीन स्वर्णपदक प्राप्त गरेका थिए ।
७५ केजी तौलसमूहमा बङ्गलादेशकी सुल्ताना सापराले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा ३ वटा स्वर्ण प्राप्त गरेकी छन् भने नेपालकी लक्ष्मी वनले स्न्याच र टोटलमा ५० केजी र १ सय ८ केजी उचाल्दै रजतपदक प्राप्त गर्न सफल भइन् । नेपालकै चम्पा ठकुलाले क्लिन एन्ड जर्कमा ६० केजी उचाल्दै रजत प्राप्त गरिन् । कांस्यपदकमा भने स्न्याच र टोटलमा ४० केजी र १ सय केजी उचाल्दै नेपालकी चम्पा ठकुलाले २ कांस्य र नेपालकै लक्ष्मी वनले क्लिन एन्ड जर्कमा ५८ केजी उचाल्दै एक रजत प्राप्त गरिन् ।
महिलतर्फकै ७५ केजीभन्दा माथिको तौलसमूहमा श्रीलङ्काकी हरिशचन्द्र एमएमडीले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा क्रमशः ७० केजी, ८८ केजी र १ सय ५८ केजी उचाल्दै स्वर्णपदक प्राप्त गरेकी छन् भने नेपालकी राममाया थापाले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा क्रमशः ५८ केजी, ७८ केजी र १ सय ६ केजी उचाल्दै रजतपदक प्राप्त गरिन् । सोही तौलसमूहको स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा ५६ केजी, ६८ केजी र १ सय २४ केजी उचाल्दै बङ्गलादेशकी अख्तर जस्मिनले कांस्यपदक प्राप्त गरिन् ।
पुरुषतर्फ ८५ केजी तौलसमूहमा भारतका जसवन्त सिंहले स्न्याचतर्फ स्वर्ण, क्लिन एन्ड जर्कमा परेरा सिटिसी जेमाले र टोटलमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले स्वर्णपदक प्राप्त गरेका छन् । स्वर्णपदक प्राप्त गर्नेहरूले क्रमशः १ सय २६ केजी, १ सय २८ केजी र २ सय ३८ केजी उचालेका थिए ।
त्यसैगरी सोही तौलसमूहमा स्न्याच र क्लिन एन्ड जर्कमा अफगानिस्तानका कर्मन्द मोहम्मद मुस्तफाले १ सय १० केजी र १ सय २८ केजी उचालेर रजतपदक प्राप्त गरे भने नेपालका नारायण श्रेष्ठले टोटलमा २ सय २७ केजी उचालेर रजत प्राप्त गरे । त्यसैगरी नेपालकै नारायण श्रेष्ठले १ सय केजी र १ सय २७ केजी उचालेर स्न्याच र क्लिन एन्ड जर्कमा कांस्य, श्रीलङ्काका पेरेरा सिटिसी जेमाले क्लिन एन्ड जर्कमा १ सय ४५ केजी उचालेर कांस्य प्राप्त गरे ।
पुरुषतर्फ ९४ केजी तौलसमूहमा पाकिस्तानका खुराम शहजादले स्न्याचमा, बङ्गलादेशका मोहम्मद मुमिन अब्दुलाहले क्लिन एन्ड जर्कमा र टोटलमा श्रीलङ्काका समरासेखरा आरएमआरपीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । उनीहरूले क्रमशः १ सय ४० केजी, १ सय ४५ केजी र २ सय ६९ केजी उचालेका थिए ।
त्यसैगरी स्न्याचमा बङ्गलादेशका मोहम्मद मुमिन अब्दुलाह १ सय २० केजी, क्लिन एन्ड जर्कमा नेपालका ज्ञानबहादुर श्रेष्ठले १ सय ४० केजी र टोटलमा बङ्गलादेशका मोहम्मद मुमिन अब्दुलाहले २ सय ६५ केजी उचालेर रजतपदक प्राप्त गरेका छन् । कांस्यपदक प्राप्त गर्नेहरूमा स्न्याचतर्फ श्रीलङ्काका समरासेखरा आरएमआरपीले १ सय १७ केजी, क्लिन एन्ड जर्क र टोटलमा अफगानिस्तानका रसुल वाइएमएबी घापुरले क्रमशः १ सय ४० केजी र २ सय ६३ केजी उचालेर कांस्यपदक प्राप्त गरेका छन् ।
पुरुषतर्फको १ सय ५ केजी तौल समूहको प्रतियोगितामा भारतका क्रिस्टोफर भिएले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा ३ स्वर्ण हात पारेका छन् । उनले उक्त इभेन्ट्समा क्रमशः १ सय ४५ केजी, १ सय ८० केजी र ३ सय २४ केजी उचालेका थिए ।
त्यसैगरी सोही तौलसमूहमा बङ्गलादेशका विद्युतकुमार रायले स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा ३ रजतपदक प्राप्त गरेका छन् । उनले क्रमशः १ सय २० केजी, १ सय ४५ केजी र २ सय ६५ केजी उचालेका थिए । कांस्यपदकमा अफगानिस्तानका अब्दुल रावफ नुरीले स्न्याचमा १ सय १० केजी, क्लिन एन्ड जर्कमा १ सय ३० केजी र टोटलमा २ सय १० केजी उचालेर कांस्यपदक प्राप्त गर्न सफल भए ।
नेपाल भारोत्तोलन सङ्घ र बाँके जिल्ला भारोत्तोलन सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया