त्रिभुवन विमानस्थलमा नयाँ प्रविधि परीक्षण

काठमाडौँ, ६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान तथा अवतरण (एप्रोच) प्रणालीका लागि नयाँ प्रविधि लागू हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपिएआर) प्रविधि लागू गर्न लागेको हो ।
जहाज निर्माता कम्पनी एयरबससँगको सहकार्यमा प्राधिकरणले सोमबार नयाँ प्रविधिको परीक्षण उडान गरेको छ । यसका लागि जहाज भने कतार एयरवेजले उपलब्ध गराएको थियो । परीक्षण उडानमा नेपाल तथा कतारको नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए ।
नयाँ प्रविधिको उडान परीक्षणका कारण सोमबार अपराह्न करिब तीन घण्टा अन्य उडान प्रभावित हुने बताइए पनि कुनै पनि उडान प्रभावित नभएको विमानस्थलमा खटिएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले जानकारी दिए । ‘सामान्य दिनमा जस्तै उडान अवतरण भयो,’ एक एटिसीले भने । परीक्षण उडानमा कुनै समस्या नदेखिएको र नयाँ प्रविधि पूर्ण रूपमा लागू गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार नेपालले चार वर्ष अघिदेखि यो प्रविधि लागू गर्ने प्रयास गरिरहेको थियो । प्राधिकरण सञ्चालक समितिको बैठकले गत वैशाखमै यो प्रविधि लागू गर्ने निर्णय गरेको हो । कतार एयरवेजको ए ३२० एयरबस जहाजमा सोमबार गरिएको परीक्षण उडानबाट प्राप्त प्राविधिक प्रतिवेदन अध्ययन गरी नयाँ प्रविधिको स्वीकृति दिइने मानन्धरले जानकारी दिए ।
प्राधिकरणका अनुसार नेपाल आउने अधिकांश विमान कम्पनीका जहाजमा यो प्रविधि जडान भएको छ । कतारबाहेक अन्य विमान कम्पनीका जहाजले पनि दिउँसो मौसम सफा भएका बेला आरएनपिएआरको परीक्षण गर्न सक्ने प्राधिकरणले जनाएको छ । तर, पूर्ण रूपमा यो प्रविधि लागू गर्न भने नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीका मुलुकले अनुमति दिनुपर्छ । मध्यपूर्वबाट नेपाल उडान गर्ने अधिकांश जहाज अत्याधुनिक प्रविधियुक्त छन् । तर, नेपाल वायुसेवा निगमका बोइङ जहाजमा भने यो प्रविधि छैन ।
प्राविधिकका अनुसार स्याटेलाइटमा आधारित यो प्रविधिमा जहाजको कपिटमा रहेको स्क्रिनमा हेरेर जहाज अवतरण गराउन सकिन्छ । यसलाइ ‘अटो पाइलट’ भनिन्छ । अहिले भिओर डिएमई, राडारलगायतका स्थलमा रहेका उपकरणको सहायताले जहाज अवतरण गराउनुपर्छ ।
प्राधिकरणका निर्देशक सञ्जीव गौतमका अनुसार स्याटेलाइटमा आधारित यो प्रविधिबाट जहाजमै रहेका उपकरणबाट जहाज उडान तथा अवतरण गर्न सकिन्छ । राडारलगायतका उपकरणको आवश्यकता पर्दैन । कठिन भूबनोटका कारण त्रिभुवन विमानस्थलमा यान्त्रिक अवतरण प्रणाली राख्न नमिल्ने भएकाले हालको सीमिततालाई यो प्रविधिबाट निराकरण गर्न सकिने गौतमको भनाइ छ ।
नयाँ प्रविधिबाट जहाजले डाँडा छल्दै घुमाउरो तरिकाले समेत उडान र अवतरण गर्न सक्छ । यसबाट विमानस्थलमा ठूला तथा अन्तर्राष्ट्रिय जहाजको उडान र अवतरण बढी सुरक्षित, प्रभावकारी तथा नियमित हुने विश्वास प्राधिकरणको छ । आरएनपिएआर प्रविधि पूर्ण रूपमा लागू भएपछि खराब मौसममा पनि जहाज उडान तथा अवतरण गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया