दाङमा हवाई टिकट अभाव

दाङ, ४ चैत । नेपाल वायु सेवा निगमले पर्याप्त टिकटको  व्यवस्था गर्न नसकेपछि अभाव चर्केको छ । लामो समयसम्म बन्द भएको हवाई सेवा सञ्चालनमा आउँदा उत्साहित भएका स्थानीयवासी टिकट अभावमा पुनः दुःखी भएका छन् । सेवाग्राहीको माग अत्यधिक हुँदाहुँदै पनि दाङका लागि साताको शुक्रबार आठ वटामात्र टिकट बिक्रीको अनुमति दिइएको छ ।
‘हवाई यात्रुको चाप छ, तर टिकट भने सातामा आठ वटामात्र दिइन्छ,’ तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकप्रसाद  बस्नेतले भने ।  निगमबाट टिकट बिक्रीको जिम्मा तुलसीपुर उद्योग वाणिज्य सङ्घले पाएको छ । ०६६ पुसमा दाङमा यात्रु अभाव भएको समस्या देखाउँदै निगमले हवाई सेवा बन्द गरेको थियो । सङ्घलगायत जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाकोे दबाबपछि गत माघदेखि साप्ताहिक रूपमा हरेक शुक्रबार नियमित उडान सुरु गरेको थियो । निगमको दाङमा आफ्नै कार्यालय नभएका कारण टिकट बिक्री सङ्घले गरिरहेको छ । ‘पहिले दाङमा हवाइजहाज चढ्ने यात्रु छैनन् भनेर बहाना गरियो तर अहिले यात्रुहरूले टिकट नपाउने स्थिति छ,’ सङ्घका कार्यालय सचिव पारेश्वर भट्टराईले भने । सङ्घका संयोजक दीपेन्द्रकुमार खत्रीले आगामी दिनमा निगमसँगै निजी क्षेत्रको सीता एरलाइन्सले पनि उडान भर्ने सहमति गरिसकेको जानकारी दिए । यसअघि सरकारले दाङको टरिगाउँमा रहेको विमानस्थलका लागि १० करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरिसकेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै दुई करोड ५० लाख र विमानस्थल कालोपत्रेका लागि आठ करोड रुपियाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया