पूर्वविजेता भारतको लज्जास्पद बहिर्गमन

काठमाडौं, ३० फागुन। चौथो एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकपको समूहचरणमै सीमित भएका दक्षिण एसियाली दुई छिमेकी राष्ट्र भारत र नेपालबीच धेरै समानता रहे । दुवै टोलीले समूहका कुनै खेलमा पनि जित हात पार्न सकेनन् र गोल पनि गर्न सकेनन् । जित हात पार्न र गोल गर्न नसक्ने यी मात्र प्रतियोगिताका दुई टोली बने । यी नै समानताका बीच एउटा भने असमानता रह्यो, यी दुई टोलीमा  । त्यो हो– खाएका गोलको सङ्ख्यामा ।
चार टोली रहेको समूहमा तीन खेल खेल्ने क्रममा नेपालले ६ गोल खायो भने भारतले आठ गोल । समूह ‘बी’ अन्तर्गत मङ्गलबार आफ्नो अन्तिम खेलमा उत्तर कोरियाविरुद्ध ४–० ले पराजित भएपछि खाएका गोलको सङ्ख्यामा नेपाललाई भारतले उछिनेको हो । यसअघि भारतले ताजिकिस्तान र फिलिपिन्ससँग समान २–० ले हार व्यहोरेको थियो ।
एएफसी च्यालेन्जकपमा यो नतिजासँगै भारतले इतिहासकै खराब नतिजा सामना गर्नुपरेको छ । सन् २००८ को संस्करणमा विजेता बनेको तथा दुई महिनाअघि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनसिप जितेको भारतको धज्जी मज्जैले उडेको छ । ‘सिनियर खेलाडीले जिम्मेवारी देखाएनन्,’ दोस्रो खेलपछि नै अघिल्लो चरण नपुग्ने निश्चित भएको भारतका प्रशिक्षक सेभिओ मडेराले भने, ‘मैदानमा खेलाडीको ध्यान नै देखिएन ।’ खेलाडीको विषयलाई लिएर आफूले भारतीय फुटबल सङ्घसँग कुराकानी गर्ने उनको भनाइ छ । उत्तर कोरियाविरुद्ध भारतीय टोलीको प्रदर्शन बिर्सनलायक रह्यो । उत्तर कोरियाले खेलभर लगातार आक्रमण रचेको थियो ।
कुनै पनि साफ सदस्य राष्ट्रले सेमिफाइनल यात्रा नगरेको पृष्ठभूमीमा नेपालले समूह ‘ए’ अन्तर्गतको खेलमा प्यालेस्टाइनसँग २–०, माल्दिभ्ससँग १–० र तुर्कमेनिस्तानसँग ३–० ले पराजय व्यहोरेको थियो । नेपालविरुद्ध जित हात पार्नुबाहेक अन्य सबैमा माल्दिभ्स हा¥यो ।
समूह ‘ए’ अन्तर्गत प्यालेस्टाइन र तुर्कमेनिस्तानले दुई जित र एक बराबरी खेले । समूह ‘बी’ मा उत्तर कोरियाले तीनवटै खेलमा जित हात पा¥यो भने फिलिपिन्सले दुई र ताजिकिस्तानले एक खेलमा जित हात पारे । प्रतियोगितामा एउटा पनि गोल नखाएको उत्तर कोरियाले आठ गोल ग¥यो । यसअघिका दुवै खेलमा उत्तर कोरिया समान २–० अन्तरले विजयी भएको थियो ।

ताजिकिस्तान बाहिरियो
सन् २००६ मा भएको पहिलो संस्करणको विजेता ताजिकिस्तान यसपटक समूहचरणमै सीमित भयो । २००८ को संस्करणको विजेता भारत बाहिरिएको दुई दिनपछि मङ्गलबार ताजिकिस्तानको यात्रा पनि सेमिफाइनलसम्म नबढ्ने निश्चित भएको हो । पहिलो खेलमा उत्तर कोरियासँग २–०  ले पराजित हुनुका बाबजुद भारतलाई २–० ले पराजित गरी उत्कृष्ट पुनरागमन गरेको फिलिपिन्स मङ्गलबार ताजिकिस्तानलाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको  हो  ।
जित्नैपर्ने दबाबका बीच उत्रिएका दुवै टोलीबीचको रोमाञ्चक भिडन्तमा पनि फिलिपिन्सले सानदार पुनरागमन गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा पछि परेको फिलिपिन्स ५३ औं मिनेटमा गोल गरी बराबरीमा आएको थियो । फिलिप योङहज्वेन्डले बराबरीमा ल्याइपु¥याएको खेलमा एन्जेल गुइराडाले फिलिपिन्सका लागि ७० आंै मिनेटमा निर्णायक गोल गरेका हुन् । समूह ‘बी’ मा उत्तर कोरियाको ९ अङ्क भयो भने फिलिपिन्स ६ अङ्कका साथ दोस्रोमा रह्यो ।  मङ्गलबारका खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा उत्तर कोरियाले समूह ‘ए’ को उपविजेता प्यालेस्टाइनको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता तुर्कमेनिस्तानले समूह ‘बी’ को उपविजेता फिलिपिन्सको चुनौती सामना गर्नेछ । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् ।

प्रतिक्रिया