प्रतिशोध लिने तालिबानको चेतावनी

काबुल, २९ फागुन । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा एक अमेरिकी सैनिकले १६ जना निहत्था नागरिकको हत्या गरेपछि चरमपन्थी समूह तालिबानले हत्याकोे बदला लिने चेतावनी दिएको छ । कान्दाहारमा रहेको अमेरिकी सैनिक केन्द्रका एक जवानले आइतबार बिहान अन्धाधुन्ध गोली प्रहार गर्दा ती अफगान नागरिकको मृत्यु भएको थियो । तालिबानले आफ्नो वेबसाइटमार्फत वक्तव्य जारी गरी मारिएका व्यक्ति ‘मानसिक रोगबाट ग्रस्त अमेरिकी सैनिकको बर्बरताको सिकार’ भएको जनाएको छ ।
उता, अमेरिकी राष्ट्रपति बाराक ओबामाले हत्याका विषयमा दुःख व्यक्त गरेका छन् । अफगान राष्ट्रपति हमिद कार्जाइलाई आइतबार टेलिफोन गरी ओबामाले घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । ती सैनिकलाई अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले पक्राउ गरिसकेको छ । राष्ट्रपति ओबामाले दोषीमाथि कारबाही गरिने दृढता व्यक्त गरेका छन् ।
पन्ज्वायी जिल्लाको नजीवन गाउँका हाजी समादले गोली प्रहारमा परी परिवारका ११ जनाको मृत्यु भएको बताए । अल्कोजाइ गाउँका हाजी सयद जानले परिवारका चार सदस्य गुमाएको जानकारी दिए ।
घटनापछि अफगानिस्तानमा अमेरिकाविरोधी प्रदर्शन हुने आशङ्कामा त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आह्वान गरिएको छ । केही दिनअघि अमेरिकी सेनाले मुस्लिमको धर्मग्रन्थ कुरान जलाएको भन्दै अफगानिस्तानमा हिंसात्मक प्रदर्शन भएको थियो । त्यस्तै प्रदर्शन दोहोरिने आशङ्कामा अफगानिस्तानमा रहेको अमेरिकी दूतावासले अमेरिकी नागरिकसँग यस्तो आह्वान गरेको हो । (एजेन्सी)

प्रतिक्रिया