चलचित्रको जेरीमा जेलिएको जिन्दगी

नायक श्रीकृष्ण श्रेष्ठलाई आमाले धेरैचोटि ‘बिहे गर नानी’ भनेकी छन् । तर उमेरले भर्भराउँदो युवा जोसलाई अर्धबैंसतिर धकेलिसक्दा पनि उनी अविवाहितै छन् । किन गरेनन् त बिहे ? यो उनैलाई पनि थाहा छैन । के उनले कसैलाई प्रेम गरे ? ‘गरेँ नि, क्याम्पस पढ्दै । एउटी थिइन् निकै लजालु । तर उनको बिहे भइसक्यो । छोराछोरी भइसके । अहिले पनि उनको माया लाग्छ’, उनी फ्ल्यासब्याकमा पुगे ।
‘सिनेमाले मायाको खेती मात्र गर्छ, यहाँ माया चोखो हुँदैन । पर्दाभित्र र बाहिरको मायामा धेरै अन्तर छ’, श्रीकृष्णले भने । श्रीकृष्णलाई ‘कुनै सिनेमाले दर्शकलाई भित्री मनसम्म छोयो’ भने त्यो सफल हो भन्ने लाग्दो रहेछ । नेपाली सिनेमामा रोनाधोनाका ‘दृश्य’मा उनी साँच्चै रुन्छन् रे । उनले अहिलेसम्म ‘ग्लिसरिन’ प्रयोग गरेनन् रे । ‘म त्यसै रुन्छु, भावुक छु नि’, सुनाए ।
०००
वास्तविक हिरोको आयतन कति ? एउटा काल्पनिक चलचित्रको परिधिभित्र रहेर कथानकलाई सुखद मोडमा पु¥याएर दर्शकको प्रशंसा बटुल्न सक्ने खुबी नायकत्व कि त्यसबाट पनि बढेर देश अनि समाजलाई उन्नतिको मार्गमा अवतरण गराउन सक्नु ? ‘देश, समाज परिवर्तन गर्ने नै वास्तविक हिरो हो’, उनले सुनाए, ‘मैले समाज परिवर्तन गर्न नसके पनि वर्षौँदेखि त्यसको प्रयासचाहिँ गरिरहेको छु ।’
पर्दाभित्र र बाहिरको श्रीकृष्णमा के समानता र फरक ? ‘फरक छ अनि समानता पनि । सिनेमाजस्तै बाहिर पनि मायालु छु । फरक के भने पर्दामा जे गरेको छु, त्यो बाहिर गर्न पाएको
(सकेको) छैन ।’ आफूलाई ‘सुपरस्टार होइन, मान्छेको मनमा बस्न सक्ने कलाकार’ ठान्ने यिनलाई नायिकाले सारी लगाएको ‘सेक्सी’ लाग्दो रहेछ, ‘अङ्ग प्रदर्शन गर्दैमा फिल्म चल्दैन । नायिकाले सारी लगाउँदा देखिएको सुन्दरता अरू बेला देखिन्न ।’ आफ्ना फिल्ममा चाहिँ अङ्ग प्रदर्शन गराउँदैनन् त उनी ? ‘अहँ गराउँदिनँ । मैले फिल्ममा नारीलाई नङ्ग्याएको छैन । सम्मान गर्छु नारीलाई, आफूभन्दा माथिल्लो प्रतिष्ठामा राख्छु ।’
०००
पर्दामा नायक–नायिका गीत गाउँछन्, रुन्छन्, कराउँछन् । दर्शकका मर्म समाउँछन् । अप्ठ्याराहरूमा अल्झिएको परिस्थितिलाई सुखद् परिणाममा पु¥याएर दर्शकलाई मीठो अनुभूति गराउँछन् । तर, हलबाट निस्कनासाथ दर्शकहरूले भोग्ने समाजको वास्तविकता भने अलिकति पनि परिवर्तन भएको हुँदैन । एकछिनको काल्पनिक मनोविलासजस्तो मात्र । पर्दाभित्रका नायक–नायिकाबाट समाजले के सिक्ने त ? ‘धेरै सिक्न सकिन्छ । माया, दया, घृणा सबै मिसिएर फिल्म बनेको हुन्छ । यिनै कुराको आडमा सामूहिकता, सभ्यता र अरू थुप्रै कुराको ज्वलन्त दृष्टान्त त्यहाँ स्थापित भएको हुन्छ,’ यी हिरोले सुनाए ।
त्यसो भए पर्दामा प्रस्तुत श्रीकृष्णबाट प्रभावित पुस्ता असल हुन सक्छ कि सक्दैन ? ‘कतै सकारात्मक भूमिकामा खेलेको छु, कतै  नकारात्मक पनि । तर, सन्देशचाहिँ कुनै न कुनै वर्गलाई सकारात्मक नै दिने गरी खेलेको छु । सुख–दुःख फिल्म पोखरामा ५१ दिन चल्दा हलमा एक जना बूढा मलाई कुरेर बसेका रहेछन् । उनले आँसु झार्दै मलाई नाति भने, निकै बेर अँगाले’, श्रीकृष्णले सुनाए, ‘मैले तिनको आँसु पुछिदिएँ । पहिले उनलाई हेलाँ गर्ने छोराबुहारीले सुखदुःख हेरेपछि माया गर्न थालेका रहेछन् । यो नै मेरो असल कामको उपहार हो ।’
चलचित्रको चस्माले अहिलेको समय नियाल्दा श्रीकृष्णलाई ‘डुबेर फेरि उत्रँदै गरेको एउटा युग’ जस्तो लाग्दो रहेछ । ‘पचासदेखि साठीको दशक नेपाली सिनेमाको ‘गोल्डेन’ युग हो । त्यसपछि खेप्नुपरेको राजनीति र युद्धले फिल्म मात्र होइन, सबै चकनाचुर भयो । मान्छेका सपना पनि फुटे’, श्रीकृष्ण बोल्दै गए, ‘बलेर निभेको ठुटोझैँ भएको छ, नेपाली फिल्म । फेरि सल्कने प्रयासमा छ ।’ नाच्न जान्नु, ह्यान्डसम हुनु हिरोको मानक बनेको छ । के एउटा हिरोको प्रभाव त्यतिले मात्रै पुष्टि गर्न सक्छ त ? ‘राम्रो रूप र बडी ल्याङ्ग्वेजसहित पढेको, बुझेको पनि हुनुपर्छ । नेपाली सिनेमामा नपढेका कलाकार धेरै छन्,’ यी स्नातकधारीले सुनाए, ‘आफ्नो अभिनयबाट छाप–छवि छोड्न सक्ने नै असली हिरो हो ।’
श्रीकृष्ण आउनुअघि नेपाली फिल्ममा एउटा खाली ठाउँ रहेछ, बान्की मिलाएर नृत्य गर्न सक्ने हिरोको । त्यो ठाउँ उनले भरे रे । अहिले भने नृत्य गर्न जान्ने हिरो अरू पनि थुपै्र छन् । यो अवस्थामा पछिल्लो पुस्ताले श्रीकृष्णको अभाव कसरी महसुुस गर्ला ? ‘नेपाली फिल्ममा जुन अरूले दिन सक्दैनन्, मैले दिएको छु । हाम्रा सिनेमाबाट मैले सिक्ने कुरा छैनन् । अभिनय गोविन्दा र अमिताभको हेरेर सिक्छु ।’ यसरी अरूबाट सिक्दा–सिक्दै उनीहरूको शैली चोरिने डर हुँदैन र ? ‘अभिनय सिक्न हुन्छ, फिल्मको कथा पो चोर्न हुन्न त । फिल्म चोर्नमा त बलिउड नै खप्पिस छ बरु, हामी पनि उसैबाट प्रभावित हुँदै गइरहेका छौँ, यो नराम्रो सङ्केतचाहिँ हो ।’
०००
चलचित्रमा अढाइ दशक लगाएर उक्लिएको रङ्गीन टाकुराबाट स्मृतिलाई विगततिर ओह्राल्दा कस्तो देख्छन् त उनी आफ्नो यात्रालाई ? ‘जिन्दगी र फिल्म उस्तै रहेछ, जेरीजस्तो, कहिल्यै छेउ फेला नपर्ने’, उनले भने, ‘धन्न, अझै नेपाली फिल्मले दर्शक पाएको छ ।’
नेपाली चलचित्रले साहु, सामन्तीको दमन अनि उनीहरूमाथिको बदलाका ३० वर्ष पुराना कथालाई अझै छाड्न सकेको छैन । साहुका ठाउँमा नेता आएका छन्, व्यापारी आएका छन्, गेटअप परिवर्तन भएका छन्, हिरोले मुक्का हान्ने शैली फेरियो तर अहिलेको समयमा बिल्कुलै उडन्ते लाग्ने कथाशैली पटक्कै फेरिएन । ‘आधुनिक समाजको कथा सिनेमाले नपक्डेकै हो,’ श्रीकृष्णले स्वीकारे, ‘सामाजिक जीवन फिल्मजस्तो पटक्कै छैन । फिल्ममा जसरी समाजमा जितिँदैन, समाजका यथार्थलाई फिल्मले जित्न सकेको छैन ।’
०००
लामो समयदेखि नेपाली फिल्मबाट अलप भएका श्रीकृष्णलाई राजमार्गमा देखेको एउटा यथार्थ घटनाले फेरि फर्कन घच्घच्यायो । धेरैले अनुमान लाएका थिए, अब श्रीकृष्ण फिल्ममा फर्कँदैन । तर, उनी सानदार रूपमा आए, त्यो पनि निर्माता भएर र राजमार्गमा जिउ बेच्ने युवतीको आँसु लिएर । फिल्मको नाम जु¥यो, कहाँ भेटिएला ? बाँच्नका लागि जिउ बेच्नुपर्ने युवती (नायिका), जो यौवनले भोकाएका स्यालसँग नाच्नुपर्ने हुन्छ । ऊ गुनगुनाउँछे–
रूपै खोज्ने आखाहरू धेरै–धेरै आउछन्
मन खोज्ने मायालुलाई कहा भेटिएला ?
ऊ सधैँ राजमार्गमा ट्रक गुडाउने ड्राइभरलाई आफ्नो शरीर सुम्पन सक्दिनँ र अन्त्यमा आत्महत्या गर्न तयार हुन्छे । एउटा युवक आउँछ र उसलाई अँगाल्छ । श्रीकृष्णले देखेको (अभिनय गरेको) यथार्थ तर पुरानैजस्तो लाग्ने कथा । पुरानै फर्मुलाबाट बगेको फिल्मी सार । श्रीकृष्णचाहिँ यो घटनाबाट यति भावुक भएछन् कि उनले कवितात्मक उपदेश दिए, ‘राजमार्गका ती युवती निरीह छन्, त्यहाँ त दुःख र आँसु मात्रै छ । तिमी शरीर चाखेर होइन आँखा पढेर तिनीहरूको गीत लेख । तिमी बैंस भोगेर होइन मन छामेर तिनीहरूको कविता लेख ।’


प्रतिक्रिया