बिम लच्कियो, बेयरिङ फुट्यो

काठमाडौं, ११ फागुन । काठमाडौँको थापाथलीबाट कोपुन्डोल जाने पुल आवत–जावतका लागि असुरक्षित रहेको खुलासा भएको छ । क्षमताभन्दा बढी सवारीसाधनको भारका कारण पुल असुरक्षित बनेको प्राविधिकहरूले बताएका छन् ।
सो पुलको अवस्थाबारे अध्ययन गरेका एक इन्जिनियरले तत्काल मर्मत नगरे समस्या आउने बताए । ती इन्जिनियरका अनुसार पुलको ‘सपोर्ट’ हुने ठाउँमा बेयरिङ फुटेको छ भने बिम पनि लच्किसकेको छ ।
‘बिमको ग्याप हेर्नु भो भने ढल्केको देख्नुहुन्छ,’ उनले भने, ‘तत्कालै मर्मत नगरे बिम भाँचिन सक्छ ।’ थापाथलीबाट कोपुन्डोल जाने पुल भारतले बनाइदिएको हो भने कोपुन्डोलबाट थापाथली आउने पुल जापानले । जापानले सन् १९९५ मा सो पुल बनाउँदा कोपुन्डोल जाने पुलमुनि ‘चेक ड्याम’ निर्माण गरिदिएकाले त्यसको जग जोगिएको विशेषज्ञको भनाइ छ । चेक ड्यामका कारण तत्काल भत्किने खतरा नरहे पनि तुरुन्त मर्मत गर्नुपर्नेमा पुलको अध्ययनमा संलग्न विशेषज्ञले जोड दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०२४ सालमा सो पुलको उद्घाटन गरेका थिए । डिजाइनका बेला पुलको भारवहन क्षमता ७० टन भनिएको थियो । प्राविधिकका अनुसार ४४ वर्षको अवधिमा यसको क्षमता झन्डै आधा कम हुन्छ । त्यसैले अहिले यसको वास्तविक क्षमता ३० देखि ४० टन मात्र हुने ती प्राविधिकले बताए ।
तर, जाम पर्दा पुलको एक छेउबाट अर्को छेउसम्म गाडी रोकिएका वेला कम्तीमा ८० टन भार पर्छ । थापाथली ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अञ्जना श्रेष्ठले बाग्मती पुलमा बिहान १० बजेतिर करिब ८० सवारीसाधन जाममा पर्ने जानकारी दिइन् । ‘पिक आवर’ मा पुलमा निकै जाम हुने गरेको उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल एक सय १० किलोदेखि दुई सय ५० किलो हुन्छ भने ट्याक्सी पाँच सय किलो, ठूला भ्यान एक हजारदेखि एक हजार पाँच सय किलो र मिनिबस एक हजार पाँच सयदेखि दुई हजार किलो हुन्छन् । ट्राफिक प्रहरीको तथ्याङ्कलाई आधार मान्दा पुलले जाम भएका वेला मानिससहित ८० टनभन्दा बढीको भार थेगिरहेको छ ।
‘पुलमा सवारीसाधन रोकिँदा २÷३ मिटर ग्याप रहनेगरी योजना बनाइएको हुन्छ,’ ती प्राविधिकले भने, ‘थापाथलीको पुलमा जाम हुँदा त्यति ‘ग्याप’ हुँदैन, त्यसैले बिम लच्किएको हो ।’ पुलको बियरिङमा समस्या आइसकेकाले विस्तारै बिम भाँचिने खतरा रहेको उनले बताए ।


सडक विभाग पुल परियोजनाका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रराज शर्माले तत्काल मर्मत गर्नुपर्ने पुलहरूका विषयमा डिभिजन सडक कार्यालयबाट लेखेर आउनुपर्ने बताए । ‘थापाथलीको बाग्मती पुलबारे केही जानकारी आएको छैन,’ शर्माले भने ।
विश्व बैंकले देशभरिका पुल मर्मतका लागि सहयोग गर्ने भएकाले सडक विभागले एक अध्ययन समिति बनाएको थियो । समितिले जोखिममा रहेका पुलको अध्ययन गरी प्रतिवेदन तयार पारिसकेको छ । शर्माका अनुसार प्रतिवेदन आएपछि मात्र सबै पुलको मर्मतका विषयमा निर्णय लिइनेछ ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख डिआइजी गणेशराज राईले पुलमा निकै सवारीसाधन रोकिने भए पनि त्यसको खतराबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया