पस्दा मन्त्री, निस्कँद भ्रष्टाचारी

काठमाडौँ । एघार वर्षे लामो भ्रष्टाचार मुद्दाको सुनुवाइ सुन्न मङ्गलबार दिउँसो २ः२० मा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता सर्वाेच्च अदालत पुगेका थिए । बा ३ च ७७३९ को ल्यान्डरोभर जिपमा राज्यमन्त्री सुरिताकुमारी साह, मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)का महासचिव आत्माराम साह र अन्य पार्टी कार्यकर्ता उनीसँगै आएका थिए ।
अदालतमा ‘टि ब्रेक’ को समय भएकाले केहीबेर प्राङ्गणमा बसेर गुप्ता ८ नम्बर इजलासमा पुगे ।  न्यायाधीश सुशीला कार्की र तर्कराज भट्ट रहेको ८ नम्बर इजलासको पहिलो बेन्चमा उनी सहकर्मीसंँग बसे । उनी इजलासमा बसेको बेला बाहिर सञ्चारकर्मी र मधेसवादी दलका नेता तथा कार्यकर्ताको भिड लागिसकेको थियो ।
मानवअधिकारवादी, कानुनव्यवसायीबीच सम्भावित फैसलाका विषयमा अड्कल चल्न थाले । कसैले भन्दै थिए, सर्वोच्चले बहालबाला मन्त्रीलाई सफाइ दिन्छ । कोही पुनः फैसलाको मिति सारिने आँकलन गर्दैथिए  । केही दिनअघि गुप्ताले दिएको विवादास्पद अभिव्यक्तिका बारेमा पनि टीकाटिप्पणी भएको थियो  । प्रहरीको भिड पनि बढिसकेको थियो ।
यता इजलासमा गुप्ता कसैसंँग बोलेनन् । अन्य कार्यकर्ताले केही सोधे पनि टाउको मात्र हल्लाएका देखिन्थे । भ्रष्टाचार मुद्दाको फैसला सुन्न उनी मात्र होइन कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा मुद्दा खेपिरहेका बिपी यादव र घुस प्रकरण लागेका डिबी कार्की पनि इजलासमा पुगेका थिए । सभासद् सल्मा खातुन र सविता यादव पनि त्यहीँ थिए ।
साँझ करिब ५.२० बजे  इजलासमा दुवै न्यायाधीशको उपस्थिति भयो । उनीहरुको इजलासले गुप्तालाई डेढ वर्ष कैद तथा करिब एक करोड ७० रुपियाँ लाखको बिगो र जरिवाना तोक्यो । फैसला आउनासाथ त्यहाँ उपस्थित पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका तत्कालीन स्वकीय सचिव गोकर्ण पौडेल अदालतबाटबाहिरिएका थिए । पौडेल कोइरालाका स्वकीय सचिव हुँदा गुप्ता प्रेस सल्लाहकार थिए । उनी पनि हाल सर्वाेच्चमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।
फैसला आएको तीन मिनेटभित्र गुप्ताले स्वीकारोक्तिको निवेदन दिए । संभवतः अदालतको फैसलाबारे अनुमान गरेर नै गुप्ताले पहिल्यै निवेदन तयार गरेर ल्याएका थिए ।  इजलासमा निवेदन दिएपछि उनले अदालतमा आफैँ उपस्थित भए बापत २० प्रतिशत कैद र जरिवाना छुट पाएका छन् ।
फैसला सुन्न अदालत प्राङ्गणमा सञ्चारकर्मीको कुम्भमेला नै लागेको थियो । फैसलापछि अदालतभित्रबाट गुप्ता आउँदै गर्दा उनका समर्थकले ‘जेपी गुप्ता जिन्दावाद, मधेसी मोर्चा जिन्दावाद’ जस्ता नारा लगाए । भित्रै नारा लगाउँदा अदालतको मानहानि हुने भएपछि गुप्ता आफैंँले नारा लगाउन रोके । उनले भने, ‘साथीहरु संयमित हुनुहोस्, यो अदालत हो ।’
त्यसपछि मधेसी मूलका कानुन व्यवसायीहरुले पनि नारा लगाउनेलाई हपार्न थाले । ल्यान्डरोभर जिपमा आएका मन्त्री गुप्ता प्रहरीको ट्रकमा चढे । मन्त्रीका रुपमा आएका गुप्ता अदालतबाट भ्रष्टाचारीको बिल्ला भिरेर निस्के ।

सम्पादकीय टिप्पणी
सर्वोच्च अदालतको यस फैसलाले कानुनी शासन र न्यायपालिकाको विश्वसनीयतालाई बल प्रदान गरेको छ । अब अदालतमा विचाराधीन अन्य ठूला भ्रष्टाचार मुद्दाहरुलाई छिटो किनारा लगाउन अदालतले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया