घुस प्रकरणमा मन्त्रीका पिए पक्राउ

काठमाडौं, १७ फागुन । वन राज्यमन्त्री लक्ष्मण महतोका निजी सहायक (पिए) नागेन्द्र यादवलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खट्टिएको प्रहरी टोलिले घुस लिदालिदै रङगेहात पक्राउ गरेको छ ।
काठमाडौंको अनामनगर, हनुमानस्थान नजिकै रहेको पीस प्वाईन्ट रेष्टुरेण्टबाट यादवलाई नगद ५० हजार सहित पक्राउ गरेको अख्तियारले जनाएको छ । डिएसपी लालमणी आर्चाय नेतृत्वको प्रहरी टोलिले नगद सहित यादवलाई पक्राउ गरेको हो ।
रारा राष्ट्रिय निकुञ्जका ७७ घर परिवारबाट जनहि ३ हजार ५ सयका दरले रकम माग गरेपछि यादवलाई पीडितहरुको उजुरीका आधारमा रङगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । स्थानीय सर्वसाधारणका जग्गा र घर रारा राष्ट्रिय निकुञ्ज भित्र परेपछि सरकारले उनीहरुलाई क्षतिपूर्ति उपब्लध गराएको थियो ।
सरकारले अर्थमन्त्रालय बाट निकासा गरेर बन मन्त्रालय हुँदै वितरणमा पठाएपछि बन राज्यमन्त्री महतोका निजी सहायक यादवले जनहि ३ हजार ५ सयाका दरले घुस रकम माग गरेका थिए । क्षतिपूर्ति बापतको रकमबाट घुस माग पछि पीडितले अख्तियारको ढोका ढकढकाएका थिए ।
भ्रष्टाचारको अभियोगमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता जेल परेको साता दिन बित्न नपाउदै वन राज्यमन्त्रीका निजी सहायक यादव घुस लिदालिदै रङगेहात पक्राउ परेका छन् ।

प्रतिक्रिया