कृषि कर्जामा २१ प्रतिशत वृद्धि

काठमाडौँ, १५ फागुन । आर्थिक वर्ष २०६७,६८ मा कृषि कर्जामा २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ४१ जिल्लाको स्थलगत अध्ययनको आधारमा तयार पारेको प्रतिवेदनले त्यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा २२ अर्ब ८९ करोड रुपियाँ कर्जा गएको छ । आर्थिक वर्ष २०६६,६७ मा कृषि क्षेत्रमा १८ अर्ब ९२ करोड रुपियाँ मात्र कर्जा प्रवाह भएको थियो ।
राष्ट्र बैंकले काठमाडौँ क्षेत्रका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ र नुवाकोट, विराटनगर क्षेत्रका इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, सप्तरी र उदयपुर, जनकपुर क्षेत्रका सिरहा, धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली, वीरगन्ज क्षेत्रका बारा, पर्सा, मकवानपुर, रौतहट र चितवन, पोखरा क्षेत्रका कास्की, स्याङजा, गोर्खा, तनहुँ, लमजुङ, बाग्लुङ र पर्वत, सिद्धार्थनगर क्षेत्रका रूपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा, नेपालगन्ज क्षेत्रका बाँके, बर्दिया, दाङ र सुर्खेत एवं धनगढी क्षेत्रका कैलाली, कञ्चनपुर र डडेलधुराका गरी ४१ जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।
कृषि क्षेत्रको लगानी वृद्धिसँगै गत आर्थिक वर्षमा कृषि उपजले ढाकेको भूक्षेत्र, खाद्यान्न एवं अन्य बालीलगायत पशुजन्य उत्पादन वृद्धि भएको छ । राष्ट्र बैंकले बाली तथा बाली सेवा, चिया, सुर्ती, सनपाट, चिनी, पशुपालन, वन र माछापालन, पशु वधशाला एवं अन्य कृषि तथा कृषिजन्य सेवा गरी नौ समूहमा विभाजन गरेर कृषि कर्जाको अध्ययन गरेको हो । त्यसमध्ये कृषि तथा कृषिजन्य सेवाहरूमा सबैभन्दा बढी ४९ प्रतिशत कर्जा गएको छ । सो क्षेत्रमा ११ अर्ब १९ करोड ६० लाख रुपियाँ बंैक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।
त्यसैगरी प्रतिवेदनले पशुपालन तथा पशुपालन सेवा क्षेत्रमा कुल कृषि कर्जाको साढे १८ प्रतिशत कर्जा लगानी भएको देखाएको छ । बाली तथा बाली सेवा क्षेत्रमा १४ दशमलव ४३ प्रतिशत, चिया क्षेत्रमा करिब पाँच प्रतिशत र चिनी क्षेत्रमा साढे चार प्रतिशत कर्जा लगानी भएको देखाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी काठमाडाँै क्षेत्रमा कर्जा प्रवाह भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ क्षेत्रमा कुल कर्जाको २७ प्रतिशत, वीरगन्ज क्षेत्रमा २३ प्रतिशत, विराटनगर क्षेत्रमा १३ प्रतिशत, धनगढी क्षेत्रमा नौ प्रतिशत, सिद्धार्थनगर क्षेत्रमा आठ प्रतिशत, पोखरा क्षेत्रमा सात प्रतिशत एवं जनकपुर र नेपालगन्ज क्षेत्रमा ६÷६ प्रतिशत कर्जा प्रवाह भएको देखाएको छ ।
प्रतिवेदनले गत आवमा प्रमुख कृषि बालीहरूको उत्पादन पाँच दशमलव १७ प्रतिशतले बढेको देखाएको छ । त्यस्तै प्रमुख खाद्य बालीहरूमध्ये धानको उत्पादन नौ प्रतिशतले, मकैको आठ प्रतिशतले, गहुँको नौ प्रतिशतले र कोदोको उत्पादन दुई प्रतिशतले वृद्धि भएको उल्लेख छ । विगत दुई–तीन वर्षदेखि घरजग्गा क्षेत्रमा केन्द्रित बैंक लगानीका कारण बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्न थालेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंक तथा वित्तीय संस्थाको नाफामा भारी गिरावट आएको देखिएको छ ।
बैंकको घरजग्गा क्षेत्रको कर्जा तत्काल असुल हुन नसक्ने स्थिति आएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुँदै गए पनि कर्जाको माग कम भएपछि बिस्तारै बैंक तथा वित्तीय संस्थाहरू कृषि क्षेत्रतर्फ आकर्षित हुँदै गएको अर्थविद् डा.चन्द्रमणि अधिकारीले बताए । ‘नेपाल कृषिप्रधान देश हुनाले कृषिमा बैंकको लगानी बढ्नु सरहानीय पक्ष हो,’ उनले भने ।
राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशनमार्फत कुल कर्जाको १० प्रतिशत कृषि, पर्यटनलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न निर्देशन जारी गरिसकेको छ ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले कृषि क्षेत्रतर्फ तीन अर्ब २८ करोड ८५ लाख रुपियाँ लगानी गरिसकेका छन् । राष्ट्र बैंकको प्रतिवेदनले कृषि क्षेत्रमा कर्जा लगानी बढ्दै गए पनि उन्नत बीउ,बिजन, रासायनिक मल, आधुनिक प्रविधि, सिञ्चाई सुविधा, कर्जालगायत कृषि मजदुरको अपर्याप्त आपूर्ति कृषि क्षेत्रका प्रमुख समस्याका रूपमा रहेको औँल्याएको छ ।

प्रतिक्रिया