सुदूरपश्चिममा भव्य उद्घाटन

महेन्द्रनगर, १४ फागुन । राष्ट्रपति डाक्टर रामवरण यादवले धनगढीमा आयोजित एक विशेष कार्यक्रमबीच आइतबार छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन मन्तव्य दिँदै राष्ट्रपति यादवले छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम मात्र नभई राष्ट्रकै लागि गर्वको कुरा भएको बताए । उनले भने, ‘राष्ट्रिय खेलकुदले एकताको सन्देश दिन्छ, विभिन्न भूगोल र जनजातिलाई राष्ट्रिय खेलकुदले एकताको सूत्रमा बाँध्ने गरेको हुन्छ ।’
राष्ट्रपतिले राष्ट्रिय खेलकुदमार्फत खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटित हुने धारणा व्यक्त गरे । विकासका दृष्टिले पछि परेको सुदूरपश्चिममा तीन महिनामा नै सम्पूर्ण पूर्वाधार तयार भई राष्ट्रिय खेलकुद आयोजना हुनु महत्वपूर्ण भएको उनले बताए । ‘राष्ट्रिय खेलकुदको आयोजनाले सुदूरपश्चिममा विकासको ढोका खोलेको छ,’ राष्ट्रपतिले भने ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री कमला रोकाले छैटौँ राष्ट्रिय खेलकुद समग्र खेलाडी र सुदूरपश्चिमवासीकै लागि खुसीको कुरा भएको बताइन् । कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, नागरिक उड्डयन तथा पर्यटनमन्त्री लोकेन्द्र विष्ट, आपूर्तिमन्त्री लेखराज भट्ट, शिक्षा राज्यमन्त्री लीला भण्डारी, पूर्वगृहमन्त्री भीम रावल, पूर्वमन्त्री अर्जुननरसिंह केसीलगायत सुदूरपश्चिमका सभासद्को उपस्थिति थियो ।
प्रतियोगितामा सहभागी सबै टोलीको मार्चपासपछि सुदूरपश्चिमका झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । गौरा, हु, थारू नाच, मगर जातिको सारङ्गी नाच, मारुनी टप्पा, थणिया, सखिया, पञ्चेबाजा, होरी, थारू जातिको झुम्रा नाच, तामाङ समुदायको मेन्दो माया र मगर समुदायको पैचरी नाचलगायत झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी, प्याब्सन कैलाली र ऐश्वर्य विद्या निकेतनले राष्ट्रियता झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ओलम्पियन दीपक विष्टले दीप प्रज्वलन गरेका थिए । ओलम्पियन जितबहादुर केसी, कृष्ण बस्नेत, विमला मगर, हरिबहादुर रोकाया र राजकुमारी पाण्डेले लुम्बिनीबाट टर्च ल्याएका थिए । उनीहरूले उक्त टर्च सुदूरपश्चिमका ओलम्पियन डम्बरदत्त भट्ट र विष्णुबहादुर सिंहलाई हस्तान्तरण गरेका थिए । ती दुईजनाले सो टर्च सदस्य–सचिव लामालाई र लामाले विष्टलाई हस्तान्तरण गरेका थिए ।
उद्घाटन कार्यक्रम त्यति व्यवस्थित थिएन । प्रमुख अतिथि आइपुग्न ढिलो भएका कारण कार्यक्रम निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको थियो । कार्यक्रमअघि पासको अभावमा थुप्रै अधिकारी प्रवेशद्वारबाहिरै लामो समयसम्म बस्न बाध्य देखिए ।
‘हामीलाई पास उपलब्ध गराउन नै ढिला गरियो,’ नेपाल आइटिएफका अफिसियल सूर्य भट्टराईले भने । दिउँसोको चर्को घाम र सरसफाइप्रति खासै ध्यान दिइएको छैन । यसले गर्दा खेलाडीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ, केही बिरामी पनि भएका छन् । मध्यमाञ्चलकी स्प्रिन्टर नीरा खड्का त अस्वस्थ नै भइन् । उद्घाटनअघि नै भएको फुटबल खेलमा स्वास्थ्यकर्मीको उपस्थिति थिएन ।

पहिलो दिन दस स्वर्णको निर्णय

शैलेशलाई तीन र श्रेयालाई दुई स्वर्ण
वीरगन्ज, छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार भएको पौडी प्रतियोगिताको पहिलो दिन मध्यमाञ्चलका शैलेश राणा एक्लैले तीन स्वर्ण र एक रजत गरी चार पदक जितेका छन् ।
उनले पुरुषतर्फको दुई सय मिटर ब्रेस्टस्ट्रोक, दुई सय मिटर ब्याकस्ट्रोक र एक सय मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण जितेका हुन् । त्यस्तै, उनले चार सय मिटर फ्रिस्टाइलमा रजत जितेका हुन् ।
महिलातर्फ आइतबार भएका चार स्पर्धामा मध्यमाञ्चलकै श्रेया धिताल एक्लैले दुई स्वर्ण र एक रजत पदक जितेकी छन् । श्रेयाले एक सय मिटर बटरफ्लाई र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले दुई सय मिटर फ्रिस्टाइलमा पनि रजत जितेकी हुन् ।
पुरुषतर्फको चार सय मिटर फ्रिस्टाइलमा मध्यमाञ्चलकै शिरीष गुरुङ स्वर्णपदक जित्न सफल भएका छन् । उनले एक सय मिटर बटरफ्लाई र दुई सय मिटर ब्याकस्ट्रोकमा रजत पनि जितेका छन् । दुई सय मिटर ब्रेस्टस्ट्रोकमा पनि उनले कांस्यपदक जितेका छन् ।
पुरुषतर्फको चार सय मिटर फ्रिस्टाइलमा मध्यमाञ्चलकै प्रवेश अधिकारीले कांस्यपदक जितेका छन् । महिलातर्फको दुई सय मिटर फ्रिस्टाइलमा मध्यमाञ्चलकी शैला राणाले स्वर्ण पदक जितेकी छन् । महिलातर्फकै दुई सय मिटरको ब्रेस्टस्ट्रोकमा करिस्मा कार्कीले स्वर्णपदक हात पारेकी छन् । आइतबार भएका आठवटै स्पर्धामा पदक हात पार्ने खेलाडी मध्यमाञ्चलकै छन् ।
आदर्शनगरको स्विमिङ पुलपरिसरमा सञ्चालन भइरहेको पौडी प्रतियोगितामा ५४ पुरुष र २७ महिलासहित ८१ खेलाडीको सहभागिता छ । प्रतियोगितामा २७ स्वर्ण, २७ रजत र २७ कांस्यपदकका लागि प्रतिस्पर्धा हुँदै छ ।

चन्द्र, निशम, वसन्त र मिङमार सेमिफाइनलमा
महेन्द्रनगर, छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोतर्फका खेलहरू महेन्द्रनगरको कभर्डहलमा आइतबारदेखि सुरु भएका छन् । पहिलो दिन पुरुषको ५४ केजीतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि पिएलए स्पोर्टस क्लबका चन्द्र रानामगरले पूर्वाञ्चलका निशम अम्बुले राई तथा सुदूरपश्चिमाञ्चलका वसन्त साउदले मध्यमाञ्चलका मिङ्मार लामासँग सोमबार भिड्नेछन् ।
चन्द्रले पश्चिमाञ्चलका जोर्डनविक्रम श्रेष्ठ, निशमले एपिएफका पुष्प थापामगर, वसन्तले मध्यपश्चिमाञ्चलका लक्ष्मण थापा तथा मिङ्मार लामाले नेपाल प्रहरीका सुरेन्द्र खड्गीको यात्रामा पूर्णविराम लगाएका हुन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्रबाट २७ का दरले एक सय ३५ तथा प्रहरी, पिएलए र एपिएफबाट २२ का दरले ६६ गरी जम्मा दुई सय एक खेलाडी सहभागी छन् । बिहीबारसम्म चल्ने तेक्वान्दोमा कुल २५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । (सौस)
भावना र कृष्णा फाइनलमा
ललितपुर, छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासतर्पm महिला एकलमा डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा आइतबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको खेलमा भावनाले सेरा तामाङको चुनौती ११–१, ११–० र ११–६ ले सहजै पन्छाइन् । कृष्णाले भने क्षितिज गुरुङमाथि ११–७, ६–११, १२–१०, ९–११ र ११–७ ले निकै चुनौतीपूर्ण जित हासिल गरिन् ।
पुरुष एकलतर्फ पूर्वाञ्चलका वीरबहादुर नेपालले सोही क्षेत्रका निशान अग्रवाललाई ११–५, ११–५ र ११–२, पूर्वाञ्चलका नयनबहादुर मगरले मध्यमाञ्चलका सुरज श्रेष्ठलाई १३–११, ११–८ र ११–६, मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीले मध्यमाञ्चलका प्रवीण कंसाकारलाई १४–१२, ११–४ र ११–८ तथा मध्यमाञ्चलका विनोदरत्न शाक्यले पश्चिमाञ्चलका हरिकृष्ण काउछालाई १५–१३, ११–९ र ११–७ को सोझो सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष एकलमै डिफेन्डिङ च्याम्पियन पश्चिमाञ्चलका हीराबहादुर थापा र छविलाल पाइजा पुन, मध्यमाञ्चलका सुरेश गुरुङ तथा सुदीपबहादुर सिंह बाई पाएर क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगितामा १९ पुरुष र आठ महिलासहित कुल २७ खेलाडी सहभागी छन् ।

मध्यमाञ्चल र एपिएफ फाइनलमा
महेन्द्रनगर, छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत लनटेनिसको पुरुष टिम स्पर्धामा मध्यमाञ्चल र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चल तथा एपिएफले पश्चिमाञ्चललाई समान २–० को नतिजामा पाखा लगाए । हारसँगै मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल कांस्यमा सीमित भए । बिहीबारसम्म चल्ने प्रतियोगितामा २२ पुरुष र सात महिला गरी २९ खेलाडी सहभागी छन् ।

साहिन र तुलिन अगाडि
ललितपुर, छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङको पहिलो दिन आइतबार महिलाको १० मिटर एयर पेस्तोलमा मध्यपश्चिमाञ्चलकी डा. साहिन प्रविन शीर्ष स्थानमा छिन् । साहिनले कुल चार सयमा तीन सय ४३ अङ्क जोडिन् ।
तीन सय ४१ अङ्कसहित नेपाल प्रहरीकी सविता बस्नेत दोस्रो तथा तीन सय ३२ अङ्क ल्याएर सुदूरपश्चिमाञ्चलकी राजकुमारी सिंह तेस्रो स्थानमा छन् । ललितपुरको सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको महिलाको १० मिटर एयर राइफलको चार सय पूर्णाङ्कमा तीन सय ६६ अङ्क बटुल्दै पश्चिमाञ्चलकी तुलिन राणा अग्रस्थानमा छिन् । तुलिनको जत्ति नै अङ्क जोडेकी पूर्वाञ्चलकी खुसबु चौधरी सिरिज सटका आधारमा दोस्रो स्थानमा रहन बाध्य भइन् । तेस्रो स्थानमा रहेकी मध्यमाञ्चलकी कला बोहोराको तीन सय ४३ अङ्क छ ।

फुटबलमा पुलिसको विजयी सुरुआत
धनगढी, धनगढीमा उद्घाटनभन्दा अघि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यपश्चिमलाई ४–१ ले पराजित गर्यो । पुलिसका लागि योगेश श्रेष्ठ, भरत शाह, रमेश कटवाल र प्रदीप बानियाँले गोल गरे । मध्यपश्चिमका लागि विनोद केसीले गोल गरे । अन्य खेलमा एपिएफ र सुदूरपश्चिमबीच गोलरहित बराबरी भयो । यसै गरी, पिएलएले विश्वविद्यालयलाई २–० ले पराजित गर्यो । पिएलका लागि प्रेम लामा र श्यामलाल श्रेष्ठले गोल गरेका थिए ।

ब्याडमिन्टनमा टिम स्पर्धा
महेन्द्रनगर, ब्याडमिन्टनको आइतबार बिहान सम्पन्न पुरुष टिम इभेन्ट्समा नेपाल एपिएफ क्लबले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै बेस्ट अफ फाइभमा खेलाइएको खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–० ले, सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–० ले र नेपाल प्रहरीले पिएलएलाई ३–० पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ टिम इभेन्टस्मा नेपाल एपिएफले पिएलएलाई २–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । यसै गरी, सुदूरपश्चिमाञ्चलले नेपाल पुलिसलाई २–० ले, पूर्वाञ्चलले मध्यमाञ्चललाई २–० ले र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अव्यवस्थाले खेलकर्मी अलपत्र
महेन्द्रनगर, राष्ट्रिय खेलकुद सञ्चालन गर्न आएका एथलेटिक्सका ३० जना निर्णायक बस्ने र खाने व्यवस्था नभएर शनिबार राति अबेरसम्म अलपत्र परे । धनगढीको डिभोटी होटलअघि निर्णायकहरू राति नौ बजेसम्म पनि बाहिरै बसेका थिए । निर्णायक विश्वम्भर पटेलले सौर्यसँग भने, ‘हामीले बारम्बार आयोजकलाई खबरगर्यो, अझैसम्म कुनै व्यवस्था गरिएको छैन ।’
आर्चरीका खेलाडी पनि दिनभर अलपत्र परेका थिए । ‘रातभर सुत्न पनि पाएका थिएनौँ । दिउँसो पनि बाटोमा अलपत्रपर्यौं,’ मध्यमाञ्चलका आर्चरी खेलाडी रमेश भट्टचनले भने । भट्टचनका अनुसार एलिना गुरुङ र जितबहादुर मोक्तानसहित केही आर्चरी खेलाडी बिरामी परेका छन् । (सौस)

प्रतिक्रिया