सय मिटर वरपर, आठ सरकारी विद्यालय

काठमाडौँ, १३ फागुन । तपाईं भक्तपुर दरबार क्षेत्र घुम्न जाँदै हुनुहुन्छ ? त्यसो हो भने त्यहाँ ऐतिहासिक तथा पुरातात्विक महत्वका कुरा मात्र होइन, सरकारी विद्यालयको अवस्था पनि हेर्नलायक पाउनुहुनेछ ।
विद्यालय जान घन्टौँ हिँड्नुपर्ने बाध्यता अझै छ, ग्रामीण क्षेत्रका थुप्रै बालबालिकालाई । तर, भक्तपुर दरबार क्षेत्रमा भने करिब सय मिटरकै दूरीमा आठवटा सरकारी विद्यालय सञ्चालनमा छन् । पचपन्नझ्याले दरबार अघिल्तिर रहेको एक प्रावि त पाटीपौवामै सञ्चालित छ ।
दरबार क्षेत्र प्रवेश गर्नासाथ सुरुमा बायाँतर्फ जागृति र नवरात्रि माध्यमिक विद्यालय छन् । एउटै भवनमा यी दुवै विद्यालयको नाम लेखिएको साइनबोर्ड राखिएको छ । यी दुई विद्यालय भवनसँगै छ, पद्म उच्च माध्यमिक विद्यालय । त्यसको अघिल्तिर बालमन्दिर प्राथमिक विद्यालय छ । यी विद्यालयबाट करिब ५० मिटर अघि बढ्दा थप दुई विद्यालयमा पुग्न सकिन्छ ।
पचपन्नझ्याले दरबार अघिल्तिर रहेको सन्तति प्रावि पाटीपौवामा सञ्चालितछ । पाटीको बरन्डालाई बारेर विद्यालय सञ्चालन गरिएको छ । सन्तति प्राविनजिकै निकेतन विद्यालय छ ।

यसैगरी, दरबार क्षेत्रमै छन्, अर्का दुई विद्यालय कन्या हशिक्षा र शारदा उच्चमावि पनि । दुई मिनेटकै अवधिमा यी सबै विद्यालयमा पुग्न सकिन्छ । विद्यालयको
सङ्ख्या धेरै भएपछि विद्यार्थी थोरै हुने नै भए । आधाजति विद्यालयमा विद्यार्थीकै समस्या छ । जागृति मावि, बालमन्दिर प्रावि र सन्तति प्राविमा विद्यार्थी सङ्ख्या
न्यून छ । सन्तति प्राविका प्रधानाध्यापक मधु प्रधानले विद्यार्थीको यकिन तथ्याङ्क उपलब्ध गराइनन् । उनले सञ्चारकर्मीलाई कक्षाकोठा अवलोकन गर्नसमेत रोक लगाइन् ।

प्रधानाध्यापक प्रधानले भनिन्, ‘हाम्रो स्कुलमा ६०, ६५ जनाजति विद्यार्थी छन् तर आज शुक्रबार परेकाले ३०, ३५ जनाजति आएका होलान् ।’ विद्यालयमा भने पाँच सातजना विद्यार्थी र उनीसहित तीन शिक्षक मात्र देखिन्थे । ‘विद्यालय व्यवस्थापन समितिले कसैलाई पनि भित्र पस्न नदिनू’ भनेको बताउँदै उनले विद्यालयको तस्बिर खिच्नसमेत रोक लगाइन् । विसं ०४५ मा गएको भूकम्पबाट पीडितका बालबालिकाका निम्ति उक्त विद्यालय सञ्चालनमा ल्याइएको थियो ।

भक्तपुर जिल्ला शिक्षा कार्यालय तथ्याङ्क शाखाका कर्मचारी मोतीराम भट्टराईका अनुसार ६ कक्षासम्म सञ्चालित बालमन्दिरमा गत जेठ महिनामा भर्ना भएका विद्यार्थीको सङ्ख्या जम्माजम्मी २९ छ । जागृति माविमा एक सय ३२ विद्यार्थी अध्ययनरत छन् । सन्तति प्राविमा ०६७ को रिपोर्टले विद्यार्थी सङ्ख्या ८० देखाएको छ । पद्म उमाविमा पाँच सय ३९, कन्या सहशिक्षा माविमा तीन सय ८१, शारदा उमाविमा दुई सय ४२ र विद्यार्थी निकेतन माविमा दुई सय १६ जना विद्यार्थी छन् ।

जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीले विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको तथ्याङ्क सङ्कलन कार्य भइरहेको जानकारी दिए । प्रतिवेदन आएपछि त्यस्ता विद्यालय बन्द गर्ने प्रक्रियामा लाग्ने जिशिअ क्षेत्रीको भनाइ छ । ‘भक्तपुरका केही विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ,’ उनले भने, ‘तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, विद्यार्थी सङ्ख्या कम भएका विद्यालय बन्द गर्छौं ।’ विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई गाभ्ने शिक्षा मन्त्रालयको कार्यक्रम स्थानीयले सहयोग नगर्दा प्रभावकारी बन्न सकेको छैन ।

प्रतिक्रिया