निन्दनीय कार्य

लोकतन्त्रका लागि विधि र कानुनको शासन सबैभन्दा अपरिहार्य मानिन्छ । तर, दिनदाहाडै बर्दीसहितका हतियारधारी प्रहरी टोलीले विनापूर्वसूचना शुक्रबार एकाएक सौर्य राष्ट्रिय दैनिकको कार्यालयमा प्रवेश गरी धरपकड मच्चायो । पत्रिकाका दुई जना सञ्चालकलाई प्रहरीले हिरासतमा समेत लियो । त्यसका साथै प्रहरीले पत्रिकाका प्रधानसम्पादक एवं संस्थाका अध्यक्षलाई पनि व्यापक खोजी गर्‍यो । अन्तरिम संविधानको एउटा मूल मर्म ‘प्रेस स्वतन्त्रतालाई कुण्ठित नगर्ने’ सिद्धान्तकै भावनाविपरीत प्रहरीले पत्रिकाको कार्यालयमा प्रवेश गरी विनाकसुर गिरफ्तारी गर्ने र दैनिक कार्यसम्पादनमा रहेका पत्रकारलगायत कर्मचारीलाई त्रास एवं मानसिक तनावको वातावरणमा पुर्‍याउने कार्य खेदजनक, भत्र्सनायोग्यका साथै अत्यन्त निन्दनीय छ । नयाँ नेपालको यो कस्तो लोकतन्त्र हो जहाँ राज्यको चौथो अंगका रूपमा सर्वप्रतिष्ठित सञ्चारगृहमा कुनै सूचनाबेगर राज्यको सुरक्षा निकायका प्रतिनिधि छापामार शैलीमा पस्छन् र सञ्चारमाध्यमका जिम्मेवार सदस्यलाई पक्राउ गरेर लैजान्छन् ? के यो घटनाले हिजो पञ्चायती सर्वसत्तावादविरुद्ध लोकतन्त्रको जेहाद चलाउने सञ्चारकर्मीलाई इतिहासका तिनै काला दिनहरूको सम्झना भएर आउँदैन होला त ? किन र के आधारमा त्यसरी प्रहरी सौर्य कार्यालयमा अकस्मात् प्रवेश गरे अनि तानाशाही शैलीको ताण्डव प्रस्तुत गरे ?
हो, सौर्यमा केही आन्तरिक समस्या नभएका होइनन्, छन् र तिनको यथोचित् समाधानको प्रयास अगाडि बढिरहेको पनि छ । तर, जुन किसिमले प्रहरीले अशोभनीय व्यवहार देखायो र सौर्यका केही पूर्वकामदारले दिएको झुटा, कपोलकल्पित र सौर्यलाई बद्नाम गराउने आशयले प्रेरित उजुरीका आधारमा माथिको आदेश भन्दै आफ्नो गैरकानुनी कार्यलाई गलत ढंगले पुष्टि गर्ने प्रयास गर्‍यो, त्यो नितान्त खेदजनक छ । किनभने, यथार्थ प्रहरी कार्यालयलाई थाहा छँदै छ– उक्त उजुरीलगत्तै सौर्यले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो जसमा सम्मानित अदालतले कात्तिक ५ गतेसम्म कुनै पनि किसिमको थुनछेक वा बाधा–व्यवधान नगर्नु भन्ने आदेश जारी गरेको छ । यस्तो स्थितिमा, उजुरीकर्ताका विभिन्न खाले उद्दण्ड व्यवहारलाई नै प्रश्रय दिँदै नियमित प्रकाशन भइरहेको एक जिम्मेवार राष्ट्रिय दैनिकलाई बलजफ्ती मानसिक प्रताडना दिनु कुन किसिमको ‘दायित्वबोध’ हो ?
यसमा पनि दु:खको कुरा, केही अनलाइन मिडियाले सत्य–तथ्य नबुझी हतारो गर्दै एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरे, त्यो आफैँमा उदेकलाग्दो छ । पत्रिका कार्यालयमा अनधिकृत एवं अवैध रूपमा भएको प्रहरी हस्तक्षेपको गम्भीरताभन्दा सञ्चालक पक्राउको समाचार ती मिडियाका लागि बढी सरोकारको विषय बन्न पुग्यो । यो दुर्भाग्यपूर्ण हो । समस्या नेपालका सबै सञ्चारमाध्यममा छन्, केवल त्यसको घनत्वको आकारप्रकार बेग्लै भन्ने कुरा मात्र हो । सवाल अहिले सौर्य दैनिकमा दिउँसै प्रहरी हस्तक्षेप भएको भन्ने मात्र होइन, भोलि यसैगरी अर्को कुनै दैनिक वा अन्य मिडियासित पनि यही प्रवृत्ति दोहोरिन सक्छ । काल पल्कनु सबैका लागि भयानक हुन सक्छ ।

प्रतिक्रिया