काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन आज (शनिबार) त्यसतर्फ जाँदै छन् । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (फएफडी–४)’ का लागि राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने स्पेन भ्रमणमा जान लागेका हुन् ।
१६ देखि १९ असारसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने २० असार शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । उक्त भेट जुन ३० तारिखका लागि तय भएको छ भने भेटवार्ता करिब आधा घन्टाको हुनेछ ।
द्विपक्षीय भेटवार्तामा आपसी सहयोग र सम्बन्ध विस्तारका केही महत्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर पनि हुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा इजिप्ट र पोर्चुगलका राष्ट्रप्रमुखहरूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने सम्भावना रहेको छ ।
२१ सदस्यीय भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । त्यसैगरी स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतको पनि भ्रमण दलमा सामेल छन् ।
अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर
नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपेली मुलुकका पर्यटक आगमन बढने विश्वास गरिएको छ । विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकार प्रमुखहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ ।
धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्य र सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसंघीय दिगो विकास लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन पनि सो मञ्च महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए ।
प्रवक्ता क्षेत्रीले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता रहेको जनाए । नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका हुने पनि प्रवक्ता क्षेत्रीले बताए ।
प्रतिक्रिया