राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप औपचारिक रूपमा राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा साइबर जोखिम न्यूनीकरण र सुरक्षाका उपायहरू सुदृढ गर्न यो पहल गरिएको हो । उक्त रोडम्याप फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रालिका प्रमुख कार्यकारी चिरञ्जीबी अधिकारीको अगुवाइमा तयार पारिएको हो । सूचना प्रविधि तथा सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूको संयुक्त प्रयासले तयार गरिएको रणनीतिक योजनालाई भविष्यका साइबर खतरासँग लड्न ‘माइलस्टोन’ मानिएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ डा. शालिग्राम पराजुली, सीएसआरआई महासचिव डा. भोजराज घिमिरे र सचिव बन्दना शर्माले अनुसन्धान तथा विकासको महत्त्वमा जोड दिए । क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले संस्थागत प्रतिबद्धता दोहो¥याए । एनसीईआरटी उपाध्यक्ष सुमन शर्मा र बोर्ड सदस्य रोजिना डाँगीले नयाँ फिनसीईआरटी निर्माण, साइबर सचेतना र समन्वयात्मक प्रतिक्रिया प्रणालीको महत्त्वबारे प्रकाश पारे ।

रोडम्यापले साइबर सुरक्षालाई सुदृढ बनाउन १२ वटा मुख्य बुँदा प्रस्ताव गरेको छ । जसमा सीआईएसओ अनिवार्य नियुक्ति र उच्चस्तरीय आईटी जोखिम समिति गठन, फिनसीईआरटी–नेपालको स्थापना र साइबर घटना व्यवस्थापन, एनपीसीईआरटीसँग एकीकरण गर्नुपर्ने जस्ता सुझाव समेटिएका छन् । त्यस्तै, त्रैमासिक जोखिम मूल्यांकन र शून्य–विश्वास सुरक्षा मोडेल, डिजिटल भुक्तानी सुरक्षामा सुधार, २४/७ सुरक्षा अपरेसन केन्द्र (एसओसी) स्थापना, तेस्रो पक्ष र क्लाउड सुरक्षाको अनुपालन, वार्षिक साइबर सुरक्षा तालिम र जनचेतना अभियान, छात्रवृत्ति कोष र नवप्रवर्तन प्रवद्र्धन, नियमित अडिट र कडा प्रवर्तन र गैर–अनुपालनमा कारबाही गर्ने लगायतका बुंदा रहेका छन् ।

यसैगरि, छात्रवृत्ति कोषमार्फत विश्वविद्यालयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने र नवप्रवर्तन प्रवद्र्धन गर्न उद्योग–शैक्षिक सहकार्यलाई समेत जोड दिइएको छ । राष्ट्र बैंकले रोडम्याप अनुसार तत्कालै सीआईएसओ नियुक्ति, आईटी समिति गठन, फिनसीईआरटी को सुरुवात जस्ता कार्यहरू थाल्ने बताइएको छ। दीर्घकालीन रूपमा पहिलो अनुपालन अडिट र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
साइबर सुरक्षा विज्ञहरूको सहकार्यबाट तयार पारिएको यो रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वसनीय बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया