काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा साढे १३ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधीमा १३ हजार ४९२ विद्युतीय सवारीसाधन भित्रिएका हुन् । यसरी भित्रिएका इभीमा ५० किलोवाटसम्मका ४ हजार ७२८ र ५० देखि १०० किलोवाटसम्मका ७ हजार ३५८ सवारीसाधन भित्रिएका छन् । १०० देखि २०० किलोवाटसम्मका १३ सय ५४ गाडी र २०० माथिका ४१ वटा छन् ।
जेठ १५ गते बजेटमार्फत विद्युतीय गाडीको कर बढ्ने हलाले विद्युतीय गाडीको आयात ह्वात्तै बढेको हो । व्यवसायीहरुले धमाधम विद्युतीय गाडी आयात गरेपनि सरकारले बजेटमा विद्युत गाडीको कर स्थिर राखेको छ ।
कर बढ्ने हल्लाले जेठ महिनामा मात्रै ३ हजार ६३८ विद्युतीय सवारी साधन भित्रिएका हुन् । वैशाखसम्म ९ हजार ८५९ गाडी भित्रिँदा ८२ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइस इन्जिन (पेट्रोल–डिजेल) का गाडीको तुलनामा विद्युतीय गाडीको मूल्य बढी हुँदा आयातको रकम ह्वात्तै बढेको देखिन्छ ।
पेट्रोल इन्जिनका ८ हजार ८७ गाडी भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ । दुईपांग्रे पेट्रोलियम साधन भने १ लाख ७५ हजार भित्रिएका छन् । ११ महिनामा १ खर्ब १ अर्ब रुपैयाँको सवारी तथा तिनका पार्टस आयात भएका छन् । सरकारले सवारीसाधनबाटै ७४ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
वीरगन्ज नाकाबाटमात्रै २ हजार ३८५ इभी आयात
पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १ अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला २ हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारी साधनको आयातबाट १ अर्ब ८४ करोड २७ लाख राजस्व संकलन गरेको जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । ‘यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात पनि औसतमा सन्तोषजनक नै छ ।’
चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।
त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। साथै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ५२ अर्ब ५८ करोड रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको जानकारी दिए । ‘चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ’, उनले भने, ‘बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।’
सो अवधिमा ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् ।
चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकी गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो ।
गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१ दशमलव ७७ प्रतिशत अर्थात् ६३ अर्ब सात करोड बढीको निर्यात भएको हो । चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ ।
चालु आवको ११ महिनामा ५५ अर्ब ३ करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने ८ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो ।
चालु आवको ११ महिनामा ८ अर्ब ४० करोड मूल्य पर्ने ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने ५ लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।
प्रतिक्रिया