ढकालको आगमनसँगै मधेसमा सुरक्षा सुदृढीकरण अभियान सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले मधेस प्रदेशको छिन्नमस्ता बाहिनीको नेतृत्व सम्हाल्ने बित्तिकै मातहत सुरक्षाकर्मीहरूसँग कडा निर्देशनका साथ आफ्नो कार्यशैलीको प्रारम्भ गरेका छन् ।

सशस्त्र प्रहरी संगठनभित्र कडाइ, इमान्दारिता र सक्रियताका लागि परिचित रहेका ढकालको आगमनसँगै मधेसमा नयाँ ऊर्जा, अनुशासन र सुरक्षा रणनीति लागू हुने अपेक्षा गरिएको छ ।

कार्यभार सम्हालेकै दिनदेखि डीआईजी ढकालले सबै प्रहरी अधिकारी तथा सुरक्षाकर्मीलाई निर्देशित गर्दै भने, ‘आफ्नो कर्तव्यमा कमजोरी गर्नेलाई कुनै छुट छैन, नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमान्दार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता हो ।’

उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार र तस्करीजस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने बताए । मधेस प्रदेशको भौगोलिक अवस्थिति अत्यन्तै संवेदनशील रहेको र भारतसँग खुला सिमाना रहेकाले यहाँ सिमाना सुरक्षा, तस्करी र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालको खतरा अधिक हुने उनको भनाइ छ ।

यसलाई मध्यनजर गर्दै ढकालले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा थप सतर्क, संयमित र सक्रिय रहन निर्देशन दिएका छन् । ‘छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै, नेपाली भूमि आतंकवादी वा आपराधिक गतिविधिको केन्द्र नबनोस् भन्ने हाम्रो दृढ संकल्प हो,’ उनले भने ।

रातभर अनुगमन, स्थलमै निर्देशन

डीआईजी ढकालले हालै पर्सा, बारा र रौतहटका विभिन्न सिमावर्ती क्षेत्रहरूको रातभर अनुगमन गर्दै स्थलगत निरीक्षण गरेका छन् । उनले आफैँ उपस्थित भई सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुका साथै स्थानीय समस्याको स्थलगत मूल्यांकन गरेका छन् ।

प्रतिक्रिया