काठमाडौँ । २ महिने लामो तराई–मधेस जागरण अभियानबाट हौसिएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) अब पहाडी क्षेत्रमा उक्लिने भएको छ । तराई–मधेसको अभियानबाट पार्टीलाई ‘फर्मेसन’ गर्ने ‘गर्मी’ प्राप्त भएको निष्कर्षसहित माओवादीले लगत्तै मध्यपहाडका जनतासँग साक्षात्कार गर्न लागेको हो ।
तराई–मधेस दौडाहाका क्रममा सरकार परिवर्तन गर्ने उत्कट चाहना राखेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अभियान सकिनासाथ सत्ताको उल्झन छाडेर पहाड उक्लिने निर्णयमा पुगेका हुन् । गत फागुन १२ गतेदेखि झापाको कचनकबलबाट माओवादीले सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ वैशाख १७ गते कञ्चनपुरको भीमदत्त पुगेर समापन गरिएको थियो ।
जनतासँगको सम्बन्ध नवीकरण गर्ने र उनीहरूका समस्या समाधानका लागि भूमिका खेल्न भनी माओवादीले अभियान चलाएको जनाएको छ । तराई–मधेसका अभियान सफल भएको निष्कर्षसहित माओवादीले आगामी जेठ २ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले अभियान सञ्चालनको निर्णय गरेको हो । जेठ २ गते बैतडीस्थित झुलाघाटबाट अभियान सुरु गरी पूर्वमा चिवाभञ्ज्याङ पुगेर समापन गरिनेछ । २ चरणमा गरिने अभियानको पहिलो चरणमा जेठ १५ सम्म पोखरासम्म र दोस्रो चरणमा पोखराबाट चिवाभञ्ज्याङ पुगेर समापन गने तयारी छ ।
यसअघि भएको तराई–मधेस अभियानका क्रममा उपमहासचिवदेखि माथिल्लो तहका पदाधिकारीहरू सहभागी थिए । अभियानका लागि केन्द्रीय तहका नेताहरूदेखि प्रदेश, जिल्ला र पालिका तहसम्मका नेता सक्रिय भएका थिए । अरू बेला निष्क्रियप्रायः हुने संगठनहरू पनि अभियानमा जुर्मुराएका थिए । अभियानले पार्टीलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । ‘यो अभियान राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले माओवादीको मात्र नभई सिंगो राष्ट्रकै अभियान बन्न पुग्यो,’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले तराई–मधेस अभियानमा प्राप्त सुझावका आधारमा पार्टी संगठन र संरचना सुव्यवस्थित गर्ने बताए । स्थानीय स्तरमा जनताले माग गरेका विकास निर्माणका कामको सूची अर्थ मन्त्रालयमा बुझाउने तयारी गरिएको छ ।
‘आन्तरिक राजनीतिलाई राष्ट्रिय राजनीतिमा जोड्न हुँदैन’
काठमाडौँ । नेकपा (एमाले) ले दलको आन्तरिक समस्या राष्ट्रिय राजनीतिमा जोड्नु नहुने निष्कर्ष निकालेको छ । ‘दलहरूमा आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउनुहुँदैन,’ आइतबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘पार्टीका समस्या पार्टीमै समाधान गर्नुपर्छ, राष्ट्रिय राजनीतिमा जोड्न थालियो भने राम्रो हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’ बैठकले आगामी बजेटमा योजना छनोट, स्रोत विन्यास र योजनाको प्राथमिकीरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । नेताहरूले कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।
टिआरसीबारे ओली–प्रचण्ड छलफल
काठमाडौँ । आफूसँग अनौपचारिक छलफल नभई प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बैठकमा नजाने अड्डी कसेका माओवादी अध्यक्ष प्रचण्ड आइतबार भने ओलीलाई भेट्न पुगे । संक्रमणकालीन न्यायसम्बन्धी काममा भइरहेको प्रगतिको सम्बन्धमा छलफल गर्न २ नेताबीच छलफल भएको हो । प्रचण्डले पीडित पक्ष र विभिन्न सरोकारवालाले उठाएका विषय र त्यसबारे भइरहेको प्रक्रियाका बारेमा ओलीलाई सोधेका थिए भने जबाफमा ओलीले सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया