ललितपुर । ‘सीता जन्ती’ को अवसरमा मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका एंव पत्रकार अर्चना झालाई ‘सीता’ उपाधिसहित सम्मान गरिएको छ ।
मिथिला संस्कृति समाजले यस वर्ष मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका साहित्यकार एवं राष्ट्रिय समाचार समितिका पत्रकार झा तथा काठमाडौं जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेद्वारा ‘सीता’ उपाधि दिएर सम्मानित गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिए ।
मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उनले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौँ ।’ उनले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताए ।
मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन, संस्थाप्रति योगदान दिनेहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताए ।
प्रतिक्रिया