काठमाडौं । आज बसेको दोस्रो पटकको प्रतिनिधिसभा बैठक पनि प्रतिपक्षी दलको अवरोधले स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक प्रतिपक्षीले अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो ।
तर सभामुख देवराज घिमिरेले बैठक फेरि सञ्चालन गर्न पाँच राजनीतिक दलहरुसँग छलफल गरेर ढिलो गरी दिउँसो ३ बजे पुनः सुरु भएको थियो । तर प्रतिपक्षी दलका सबै सांसदहरुले उठेर विरोध जनाएपछि दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।
तर, सभामुख घिमिरेले पटक–पटक सबैलाई बस्न आग्रह गर्दै बैठ सञ्चालन गर्ने प्रयास गर्दा पनि नमानेपछि आजको दोस्रो बैठक पनि स्थगित भएको हो । अब अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यसको विरोधमा प्रतिपक्षी दलहरु यत्रिएका हुन् ।
प्रतिक्रिया