मौलापुर– ९ का वडाध्यक्ष साहले महिलामाथि यौन शोषण गरेको आरोप

रौतहट । जिल्लाको मौलापुर नगरपालिका– ९ सोनरनियाका निर्वाचित वडाध्यक्षमाथि गाउँकै एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छन् । विवाहको प्रलोभन देखाएर विगत पाँच वर्षदेखि वडाध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीडित भनिएकी महिलाले आरोप लगाएकी हुन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पीडित भनिएकी ती महिलाले कोरोना भाइरसको प्रकोप आउनुभन्दा दुई महीना अघिदेखि उडाध्यक्ष साहले आफूसँग प्रेम सम्बन्ध राखेको बताइन् । जग्गा बिक्रीको सिलसिलामा गएको बेला अरुबाट आफ्नो मोबाईल नम्बर लिएर फोन गरेर रिलेसनसिपमा बस्न तथा विवाह गर्न प्रस्ताव गरेको भन्दै पीडित महिलाले आफूलाई दुई वर्षसम्म वीरगञ्जमा राखेको बताइन् ।

आफैँ विवाहित रहेकी तथा पीडित भनिएकी ती महिलाले आफ्नो श्रीमानसँगको सम्बन्ध बिगारेर अहिले विवाह गरी घरमा राख्नसमेत वडाअध्यक्ष साहले इन्कार गरेकाले आफू मिडियामा आउन बाध्य भएको दुखेसो गरिन् । दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका साहले विवाह गरेर आफ्नो घरमा राख्न नमानेकाले न्यायको लागि मिडियाको सहारा लिनुपरेको भन्दै पीडित भनिएकी ती महिलाले वडाध्यक्ष साहले गरेको यौन सम्पर्कको कारण गर्भमा भएको ३ वटा बच्चा गर्भपतन गराएको समेत दाबी गरेकी छन् ।

वीरगञ्जमा राखेर घर खर्चसमेत दिँदै आएका वडाध्यक्ष साहले अहिले घरमा राख्न तथा खर्च दिनसमेत छाडेको ती महिलाले बताएकी छन् । आफ्नो न्यायका लागि इलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिँदा दबाबमा गाउँका आश महमद समेतका व्यक्तिले मिलापत्र गराएको र सो बमोजिम पनि वडाध्यक्ष साहले कार्य नगरेको उनको भनाइ छ ।

अहिले आफ्नो श्रीमानले आफूलाई छाडिदिएको र आफैँ विवाहित वडाध्यक्ष साहले पद र पावरको दम्भमा बेवास्ता गरेको महिलाले बताएकी छन् । उनले भनिन्, ‘अब न्यायको लागि बाध्य भएर मिडियाको सहारा लिएको छु, मिडियाले न्याय दिलाउन मद्दत गर्छ भन्ने विश्वास लिएको छु ।’

आफूलाई शारीरिक शोषण, मानसिक यातना, शारीरिक यातना दिने गरेका वडाध्यक्ष साहमाथि कानुनी कारवाही गर्नुको साटो प्रहरीले राजनीतिक दबाबमा मिलापत्र गराएको पीडित महिलाले बताएकी छन् । वडाध्यक्ष साहले ७ लाखको चेक दिए पनि सो चेक आफ्नो नाममा नरहेको तथा चेक कार्यपालिका सदस्य आश महमदले नै राखेको महिलाले आरोप लगाएकी छन् ।

आफ्नो हकअधिकार र न्यायको लागि आवाज उठाउँदा ज्यान मार्ने धम्कीसमेत आएको उनको भनाइ छ । आफूले न्याय नपाए ज्यान दिनेसमेत पीडित महिलाले बताएकी छन् । सार्वजानिक पद धारण गरेका वडाध्यक्ष साहको रबैया देखेर गाउँका स्थानीयले नकारात्मक टिप्पणी गर्ने गरेको पनि महिलाले बताएकी छन् ।

प्रतिक्रिया