श्रीराम जानकी सुब्बा कुटी

ओझेलमा परेको ऐतिहासिक मन्दिर

एकसमयमा गाउँभरि हैजाको महामारी फैलिएछ । मानिसहरू भकाभक मर्न थाले । गाउँलेहरूले बाबालाई गुहार लगाउन पुगे । यी सिद्ध महात्मा मख्खन बाबाले भगवतीको आराधना गरे । भगवतीको दर्शनपश्चात् गाउँमा भइरहेका बिघ्नबाधा तथा मानिसहरू मरिरहेकाले यसलाई रोक्न आग्रह गर्दा भगवतीले भनिन्, तिमी आफूलाई बलि दिन सक्छौँ ?’ सिद्धि प्राप्त गरेका यी बाबाले दिन्छु भनेर भगवतीका वचनलाई स्वीकार गरेछन् । गाउँमा अमनचयन कायम भयो । बाबाले आफैँले खाल्डो खन्न लगाएर जीवितै समाधि लिएका हुन् ।

प्राचीन ऐतिहासिक श्रीराम जानकी मन्दिर सुब्बा कुटी धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–१ मा कासिपुर कालाबञ्जरमा ४ बिघा ५ कठ्ठा ११ धुरको क्षेत्रफलमा अवस्थित छ ।

जनकपुर धामबाट धनुषा धाम जाँदा सो मार्गमा धनुष आकारको प्रवेश द्वार छ । यस प्रवेश द्वारको ठिक दक्षिणतर्फ सुब्बा कुटी तलाउ छ । तलाउको दक्षिणतर्फको डिलको छेउमा नै चारैतिरबाट पर्खालले घेरिएका घेराभित्र यो प्राचीन मन्दिर रहेको छ । पूर्वतर्फ फर्केका मन्दिरको गर्भगृहमा श्रीराम जानकी, श्रीराधाकृष्ण, बालगोपाल र श्री नरसिंह भगवान्को मूर्तिहरू विराजमान रहेका छन् ।

यहाँ विराजमान रहेका भगवान्का विभिन्न चाडपर्वहरू धुमधामसँग मनाउने गरिन्छ । झुलन, कृष्ण अष्टमी, विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, नरसिंह जयन्तीमा राम्रै भिडभाड हुने गर्छ । १५ दिने मिथिला मध्य परिक्रमा र धनुषा धामको मेलामा समेत यो कुटी भक्तजनहरूले भरिभराउ हुने गर्छ ।

यहाँ रहेका नरसिंह भगवान्का सम्बन्धमा सुब्बा कुटीका व्यवस्थापन समितिका अध्यक्ष व्रजेन्द्र मिश्र भन्छन्, ‘यी भगवान् मिश्र परिवारका कुल हुन् ।’
प्रारम्भकालमा मिश्र परिवारका कुलका रूपमा रहेका श्रीविष्णुका चौथो अवतार श्रीनरसिंह भगवान्को मन्दिरको रूपमा यो कुटी रहेको थियो । जानकी मन्दिरको महल बन्नु पूर्वदेखि नै रहेको यो प्राचीन मन्दिर हो । पछि गएर श्रीराम जानकी लगायतका देवताहरू यस मन्दिरमा विराजमान गराइएको हो ।’

हुन त यो मन्दिरलाई ‘सुब्बा कुटी’को नामबाट सम्बोधन गर्ने गरिन्छ । ‘सुब्बा कुटी’को नामले सम्बोधन हुनुको रोचक प्रसंग रहेको छ ।
पूर्वकालका समयमा यो क्षेत्र पूर्णरूपले वनजंगलले ढाकिएको थियो । मानिसहरू दक्षिण तर्फबाट आएर वनजंगल फडानी गरी खेती गर्ने गर्थे । तत्कालीन राज्यका प्रशासनिक निकायका मान्छे त्यहाँ पुग्दा मानिसहरूको भागाभाग हुने गर्दथ्यो ।

यो देखेर जिल्ला महोत्तरी पिपरा गाविस बस्ने कौसलिय मिश्र भन्ने व्यक्ति राजदरबारमा बिन्ती चढाउन पुगे । तत्कालीन राजालाई त्यहाँका यथार्थ अवस्थाको चित्रण गर्दै त्यसलाई राज्यद्वारा नै बन्दोबस्त गरी कुतबाली लिँदा राज्यको आम्दानी बढेर आर्थिक विकास हुने कुरा जाहेर गरेका थिए । यी कुरा सुने पश्चात् राजाले उनलाई सुब्बाको उपाधि दिए र उनको नाममा कमलादेखि पश्चिम वाग्मतीदेखि पूर्व चुरेदेखि दक्षिण भारतको सीमासम्म पञ्चशाला बन्दोबस्ती गरिदिए ।

काठमाडौँबाट फर्किने क्रममा सिन्धुलीबाट जनकपुरधाम जाने मार्गमा रहेकोे जंगलमा बाघले यिनलाई मार्न पुग्यो । त्यस दिनदेखि त्यस ठाउँलाई बाहुनमारा भनेर सम्बोधन हुन थाल्यो । पछि आएर त्यस ठाउँको नाम नै बाहुनमारा हुन पुग्यो ।

केही समयपश्चात् कौसलीय मिश्रका जेठा नाति गिरिजादत्त मिश्रले दरबारमा गएर हजुरबुबाले बन्दोबस्ती पाएको कुरा वृतान्त गर्दा बि.सं. १८९२ मा तत्कालीन राजा राजेन्द्र शाहबाट जनरल भीमसेन थापाले गुठी सञ्चालनका लागि महोत्तरी प्रङ्गना महुतरी मध्ये पर्साका आबादी बैरानी जमिन १ सय साढे ३५ बिघा जग्गा पोखरी बनाई त्यस पोखरीलाई गुठी राख्न दिएको विर्ता १९९६ सालमा सुब्बा कुलानन्द झामार्फत जफ्त भएको रहेछ । पछि जाँच कमिसनका राजदरबारका सुब्बा हिरालाल झाले जाँचीबुझी गुठी राखेको ठहराई १९९८ सालदेखि छोडिदिएका रहेछन् । गुठी राखेको कुरा प्रष्टाउँदा राजा राजेन्द्र शाहले उक्त विर्ता लालमोहर ताम्रपत्र बमोजिम ‘तिमीहरूले गुठी राख्या गुठी थामी बहाल गरि बक्स्यौ …. पोखरीको गुठी सदावर्त चलाई शेष रहेको भोग गर’ भनी बि.सं. १९०० श्रावण ३० गतेका दिन गिरिजादत्त मिश्रलाई लालमोहर पुनः प्रदान गरे ।

उक्त पाएका विर्ताका जग्गा जमिनको आयस्थाबाट भगवान्को भोग राग, साधु सन्तको सेवा सत्कार, भण्डारा मेला जात्रा सदावर्त हुन थाल्यो । यी जग्गाको आयस्थाबाट मात्र सदावर्त सञ्चालनमा कठिनाइ उत्पन्न हुन थाल्यो । गिरिजादत्त मिश्रका सन्तानले विर्ता पाएका जग्गाको मालपोतले भगवान्को भोग रागमा अप्ठ्यारो परेको भनेर दरबारमा पुनः बिन्तिपत्र चढाए । थप सय बिघा जग्गा उक्त गुठीमा राजाले प्रदान गरिदिए । जसमा २२ बिघा भूतही पटेर्वा, ५ बिघा ज्योत्सिन जमीन तारसरायमा, रैतान नम्बरी साढे ५५ बिघा बाला बाखरमा र ढुबरकोट हातिलेटबाअन्तर्गत मोगंराहा ईश्वर बारामा १५ बिघा रैतान नम्बरी गरिदिए ।

यी जग्गाहरू २०२६ सालमा सर्वे नापी हुँदा नापीमा जग्गा धनीमा गुठी संस्थानको नाममा लेखिन पुग्यो । उक्त जग्गाहरूको हालसम्म लाल पूर्जा निस्कन सकेको छैन ।

जबकि निजी गुठीको रूपमा स्थापित हुन पुगेको श्रीराम जानकी सुब्बा कुटी २०३४ चैत २४ मा निजी गुठीबाट राजगुठीमा परिणत भयो । गुठी संस्थानले व्यवस्थापन समिति बनाएर उक्त गुठीलाई सञ्चालन गर्न थाल्यो ।

उक्त कुटी सञ्चालनका लागि बनेका व्यवस्थापन समितिका अध्यक्षहरू बलरामसिंह कार्की, देवनारायण यादव, राजकिशोर यादव बनेका थिए । तर राजनीतिज्ञहरू अध्यक्ष बन्दा उनीहरूले उक्त कुटीमा समय दिन नसक्दा उक्त गुठीको अवस्था खल्बलिन थाल्यो । जग्गा जमिनहरू अतिक्रमण हुन थाले । राम्रोसँग संरक्षण सम्बर्धन हुन सकेन । कुत बालीहरू उठाउन गार्हो थियो । जग्गाहरूको प्रमाण पुर्जाहरू बनाउन सकिएको थिएन । पछि गएर २०५३ सालमा लालमोहर, ताम्रपत्र प्राप्त गरेका मिश्र परिवारका देवेन्द्र मिश्रको अध्यक्षतामा व्यवस्थापन समिति गठन भयो । यिनीपछि मिश्रकै परिवारका क्रमशः नतेन्द्र मिश्र, विपिन कुमार मिश्र, हरिनन्दन मिश्र, नरेन्द्रमोहन मिश्र अध्यक्ष भएर उक्त कुटीको व्यवस्थापन गर्दै आए ।

हाल उक्त कुटीका अध्यक्ष ब्रजेन्द्र मिश्र रहेका छन् । त्यस बेलादेखि नै हालसम्म मिश्र परिवारका नै अध्यक्षतामा व्यवस्थापन समिति गठन भएर सञ्चालन हँुदै आइरहेको छ । मिश्र परिवारका अध्यक्ष हुँदा हराइरहेका जगा जमिनको संरक्षण सम्बद्र्धनतर्फ कार्यहरू अगाडि बढ्न थाल्यो । सालौँसालदेखि कुत बाली, मालपोत नदिइरहेका आसामीहरूसँग असुलउपर हुन थालेका छन् । मन्दिरको जिर्णोद्धार भयो । जग्गा जमिनहरूका प्रमाण पुर्जाहरू बनाइए । हालसम्म लगभग ८५–८७ बिघाको प्रमाण पुर्जा बनाइसकिएको कुरा दाता परिवारका सदस्य सुब्बा कुटीका कर्मचारी हिरेन्द्रकुमार मिश्र बताउँछन् । ताम्रपत्र, लालमोहरबाट राजा राजेन्द्र शाहले प्रदान गरेका लगभग २०० साढे ३५ बिघा जग्गा रहेकोमा ८५–८७ बिघाको लगत मात्र खडा भएको छ । यसै जग्गामा धनुषाधाम धर्मशाला पनि पर्दछ । यो कुटीकै अन्तर्गत रहेको छ ।

विभिन्न राजनीतिक कालखण्डमा मत प्राप्त गर्ने लोभमा त्यस भेगका राजनीतिज्ञहरूले मन्दिरको आफ्नो स्वामित्व रहेको जग्गाहरूमा अनधिकृत रूपले जब्बरजस्ती बस्ती बसालिदिएका छन् । अतिक्रमित जग्गाहरू मन्दिरले चर्चेको जग्गा हो ।

यो कुटीको लगभग २०० मिटर पूर्व मख्खन बाबाको कुटी छ । कुटीको उत्तरतर्फ प्राचीन तलाउ छ । यो तलाउलाई पनि सुब्बा कुटी तलाउ भनिने गरिन्छ । यहाँ जीवितै समाधि लिएका सिद्धपुरुष महात्मा मख्खन बाबाको समाधिस्थल छ । श्रीराम जानकी र लक्ष्मणजीको मन्दिर पनि छ । यो सुब्बा कुटीकै अन्तर्गत रहेको छ । मख्खन बाबा सिद्ध महात्मा हुनुहुन्थ्यो ।

उनले जिउँदै समाधि लिएका तथा यिनका सम्बन्धमा अन्य विभिन्न जनश्रुतिहरू रहेका छन् । गाउँलेहरू बढी रोचक ढंगबाट सुनाउने गर्छन् ।
एक जनश्रुतिअनुसार, दरबारका मान्छे एकदिन वहाँका कुत लिन पुगेछन् । कुत देउभन्दा म जोगी मान्छे कहाँबाट दिउँ ? बरु गोठमा गाईवस्तुहरू छन्, त्यही लिएर जाउभन्दा ती व्यक्ति गाईवस्तु लिन भनी गोठतर्फ लागेछन् । गोठमा हेर्दा त बाघैबाघ देख्न पुगेछन् र त्यहाँबाट कुतै नलिई कुलेलम ठोकेछन् । त्यस घटनापश्चात् यी महात्माकहाँ कुत लिन कोइ पुग्दैन थिए ।

यिनले जीवितै समाधि लिएको सम्बन्धमा पनि रोचक प्रसंग जनश्रुतिको रूपमा सुन्न पाइन्छ । यस सन्दर्भमा धनुषा गोबिन्दपुर–१ बस्ने जितेन्द्र यादव भन्छन्, एकसमयमा गाउँभरि हैजाको महामारी फैलिएछ । मानिसहरू भकाभक मर्न थाले । गाउँलेहरूले बाबालाई गुहार लगाउन पुगे । यी सिद्ध महात्मा मख्खन बाबाले भगवतीको आराधना गरे । भगवतीको दर्शनपश्चात् गाउँमा भइरहेका बिघ्नबाधा तथा मानिसहरू मरिरहेकाले यसलाई रोक्न आग्रह गर्दा भगवतीले भनिन्, तिमी आफूलाई बलि दिन सक्छौँ ?’

सिद्धि प्राप्त गरेका यी बाबाले दिन्छु भनेर भगवतीका वचनलाई स्वीकार गरेछन् । गाउँमा अमनचयन कायम भयो । बाबाले आफैँले खाल्डो खन्न लगाएर जीवितै समाधि लिएका हुन् । त्यहाँ आफूले मागेका मनोकामनाहरू पूरा हुने जनविश्वास रहिआएको छ । हराएका सामानहरू पत्ता लगाउन मानिसहरू उक्त ठाउँमा पुग्ने गर्छन् । त्यहाँ सलामी राखेपछि पुजारीले बताइदिने गर्छन् । अहिले पनि मानिसहरू पुग्ने गरेका छन् । आफूले चिताएको कुरा पुगेपछि तथा हराएका कुरा पत्ता लागेपछि मानिसहरू त्यहाँ भण्डारा गर्छन् । प्रायःजसो भण्डारा त्यहाँ चलिरहेको हुन्छ ।

उक्त कुटीमा १४ बिघा जग्गा रहेकोे छ । जसमा करिब ७ बिघा जग्गा बलुवा नदीले खाइदिएको छ । बाँकी रहेका जग्गामा अतिक्रमण गरेर घरहरू बनाइएका छन् । यो धनुषाधाम मार्गमा रहेको अति रमणीयस्थल हो । यसको संरक्षण सम्बर्धन गर्नसके धार्मिक पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्न सकिन्थ्यो कि ! अस्तु ।

प्रतिक्रिया