रौतहट । रौतहट प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई मंगलबार पक्राउ गरेको छ । लागुऔषध गाँजा, डाँफे नामक अटोसहित ती मानिस पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा प्रहरीको गस्ती टोलीले मंगलबार दिउँसो जिल्लाको देवाही गोनाही नगरपालिकाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले दिएको जानकारीअनुसार लागूू औषध गाँजासहित पक्राउ पर्नेहरूमा सवारी चालक सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ बथाने बस्ने वर्ष २२ को राजनमोक्तान, सोही अटोमा सवार वर्ष २३ को सुजन मोक्तान र सोही ठाउँ बस्ने वर्ष २९ की असली मायावल रहेका छन् ।
मंगलबार दिउँसो साढे २ बजेको समयमा इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरी टोलीले पक्रेको हो । जिल्ला रौतहट देवाही गोनाही नपा–८ गोनाही बजारस्थित संग्रहालय नजिक सार्वजनिक सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरू चेकजाँच गर्ने क्रममा उनीहरू समातिएका हुन्् ।
जयनगरदेखि गोनाही बजारतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २५२४ नम्बरको डाँफे सवारी नामक अटोलाई शंका लागि रोकी चेकजाँच गर्दा उक्त अटोमा दुई वटा जेब्रा झोलाभित्र लुकाई ल्याउँदै गरेको १० किलो ३ सय ग्राम लागुऔषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया