सिरहा । व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिरहास्थित रहेका चन्द्र नमुना माध्यमिक (प्राविधिक) विद्यालयका प्राधानाध्यापक मधुसुदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुद्दाको सुनुवाइको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए ।
‘अदालतको आदेशअनुसार प्रअ कर्णलाई पक्राउ गरिएको हो’, उनले भने, ‘पक्राउपछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद थप गराइएको छ ।’ उनका अनुसार कानुन बमोजिम कारबाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछन् । विद्यालयको भौतिक निर्माणका लागि सिरहा बजारमा रहेको नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सबाट सिमेन्ट, छड, तार, रंग तथा निर्माणमा उपयोग हुने अन्य सरसमान लिई भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लागेको थियो । पसल सञ्चालक रोशन कुमार यादवका अनुसार पटकपटक गरी १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ बरावरको बिल लिई चन्द्र माविका प्रअ कर्णले भुक्तानी दिन आलटाल गर्दै आएका थिए ।
‘पैसा पाउन विद्यालयमा वर्षांै धाएँ । दिएको समान वापतको पैसा पाउँछु भनेर कैयौँपटक विद्यालयमा गए । कैयाँै दिन बित्यो । विद्यालयमा बस्दा कैयौँ दिन भोकै बसेँ,’ उनले भने, ‘धेरै प्रयासपछि समान अनुसारको बिल पाएको भनी पत्र दिए पनि भुक्तानी भने दिएन ।’ भुक्तानी पाउन विद्यालयमा कैयाँैपटक मौखिक र लिखित रूपमा दिएको निवेदनलाई बेवास्ता गर्न थालेपछि अदालती प्रक्रियामा गएको उनले थपे । माग बमोजिम २०७४ सालदेखि पटकपटक विभिन्न निर्माण सामग्री दिए अनुरूप चन्द्र माविमा सोको बिल दिएको बताउँदै उनले भने, ‘चन्द्र माविमा पेस गरिएको बिलको भ्याटसमेत तिरेर दोहोरो मारमा परेको छु ।’
व्यापार घाटा भइरहँदा भुक्तानीका लागि विभिन्न निकायसँग समन्वय गर्दा र धेरै हारगुहार मागे पनि कुनै वास्ता नगरेको उनले दुःखेसो पोख्दै भने, ‘न्याय मरेको छैन भन्ने विश्वासका साथ अदालती प्रक्रियामा गएको छु । न्याय पाउँछु भन्ने पूर्ण विश्वास छ ।’
प्रतिक्रिया