प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनी हुने

काठमाडौं । नेपालमा प्रचलित ललितकलाका विविध विषयमा केन्द्रित रहेर सातै प्रदेशमा प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ र ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्ने जनाएको छ । प्रतिष्ठानले पहिलोपटक प्रादेशिक प्रदर्शनीलाई समेत समेट्दै शुक्रबार सोको विस्तृत विवरणसहितको सार्वजनिक सूचना जारी गरेको कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनका अनुसार देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरिएको छ । उनले नेपालका ओझेलमा परेका कला र कलाकारलाई एक थलोमा ल्याइ कलामा नयाँ जागरण ल्याउने गरी प्रदर्शनी गरिने जनाए ।

प्रतिष्ठानले सातै प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी–अप्रतियोगी कलाकृति र आगामी जेठ १५ गते काठमाडौंमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा अप्रतियोगी र आमन्त्रित कलाकृति प्रदेशका हकमा सम्बन्धित प्रदेशको (कोसीको इटहरी मेट्रिक्स (इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नक्साल), गण्डकीको गण्डकी प्रज्ञा–प्रतिष्ठान (पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (बुटवल), सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (धनगढी) र कर्णालीको नेपाल व्यावसायिक कलाकार सङ्घ (सुर्खेत) मा कलाकृति बुझाउनु पर्ने जनाएको छ । यस्तै, राष्ट्रिय प्रदर्शनीका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा बुझाउनुपर्ने छ ।

कुलपति हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिहरूका साथै बहुुआयामिक पाटा र बाटाहरूलाई समेट्ने प्रमुख उद्देश्य रहेको बताए । उनले भने, ‘प्रदर्शनीलाई विगतमा सिधै राष्ट्रिय (केन्द्र) भनेर काठमाडौंमा केन्द्रित गरिएको थियो । त्यसो गर्दा भौगोलिक र आर्थिकरूपले सर्जकहरूको सहभागिता सहज बन्न सकेको थिएन । यसपटक सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा, विविध विधा–उपविधा, तह तप्काका र क्षेत्रमा पुुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सिर्जनात्मक कला क्रियाकलापहरू पनि गरिने छ ।’

उनले नेपाली कलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रिन्टमेकिङ्ग) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाउन पाउने जानाकारी दिए । उनले भने, ‘नेपाली ललितकलालाई राष्ट्रिय रुपमा जोड्न प्रदर्शनी फलदायी बन्ने छ । सहभागिता र जागरणका दृष्टिले समेत यो प्रदर्शनी विशेष रहने आशा लिएका छौं ।’ उनका अनुसार प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका प्रतियोगी कलाकृतिमात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्रावधान छ । उपकुलपति लामाले आ–आफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउनसमेत आग्रह गरे । प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई सो प्रदर्शनीबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गर्न सिफारिस भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार र ललितकला विधागत पुरस्कार प्रदान गरिने छ ।

प्रतिष्ठानका अनुसार सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार (१ लाख राशिको) सबै विधाहरूमध्येबाट सर्वोत्कृष्ट एक जनालाई प्रदान गरिने छ । विधागत (परम्परागत चित्रकला, समसामयिक–आधुनिक चित्रकला, परम्परागत–लोक मूर्तिकला, समसामयिक–आधुनिक मूर्तिकला, हस्तकला–शिल्पकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला र विद्यार्थी ललितकला राष्ट्रिय पुरस्कारका रूपमा क्रमशः एक–एक जनालाई ६० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने छ ।

माथि उल्लिखित राष्ट्रिय पुरस्कारका लागि कलाकृतिको मूल्याङ्कन गरी सिफारिस गरिसकेपछि छनोट–मूल्याङ्कन समितिले राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भई केन्द्रीय स्तरको पुरस्कार नपाएका प्रतियोगी कलाकृतिहरूमध्येबाट प्रदेशगत रूपमा मूल्याङ्कन गरी प्रदर्शनीमा सहभागी सबै विधाहरूमध्येबाट उत्कृष्ट एक जनालाई रु ५० हजार राशिसहित सम्मान गरिने छ । यस्तै, विधागत प्रादेशिक पुरस्कार (परम्परागत चित्रकला, समसामयिक–आधुनिक चित्रकला, परम्परागत–लोक मूर्तिकला, समसामयिक–आधुनिक मूर्तिकला, हस्तकला–शिल्पकला, लोककला, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला) र विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारका रूपमा क्रमशः एक–एक जनालाई ३०–३० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने छ ।

प्रतिष्ठानका हस्तकला विभागीय प्रमुख तथा मधेश प्रदेश समन्वय समितिका संयोजक अरुणा हिङमाङले प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग मिल्ने आशा लिएको बताइन् । उनले कलामार्फत सामाजिक जागरण ल्याउने गरी प्रतिष्ठानले काम गरिरहेको जिकिर गरिन् ।

प्रतिक्रिया