एकल साँझमा मुरलीधर

विराटनगर, १७भदौ । खचाखच दर्शकका बीच एकाएक गुन्जिन थाल्यो– उडायो सपना सबै हुरीले.. । दर्शकहरूले उत्साहसाथ ताली पिट्दै मञ्चबाट गुन्जिरहेको सांगीतिक आवाजलाई स्वागत गरे । गायक तथा संगीतकार मुरलीधर हौसिँदै आफ्ना चर्चित गीतहरू घन्काउन थाले ।
‘उडायो सपना सबै हुरीले…’, ‘निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ…’ लगायत गीतका गायक तथा संगीतकार मुरलीधर विश्कर्मालाई गीतसहित आफूमाझ पाउँदा विराटनगरवासीको खुसीको सीमा नै थिएन । ती गीत उनै मुरलीधरले गाएका र संगीत भरेका हुन् भन्ने थाहै रहेनछ कतिलाई चाहिँ । भोजपुरको विकट गाउँमा जन्मिई तीन दशकअघि भारत पुगेर संगीत साधनामा बिताएका मुरलीधरले शुक्रबार साँझ नेपाली, हिन्दी र राजस्थानी गरी दर्जन दर्जन भन्दा बढी गीत गाए । विराटनगरको रत्ना होटलमा न्यू सृष्टि दैनिकले गायक मुरलीधरको एकल सांगीतिक साँझ आयोजना गरेको थियो ।
भारतीय सिनेमामा पनि नाम कमाएका मुरलीधर नेपाली हुन् भन्ने थाहा पाएपछि कतिपय दर्शक हौसिए । कार्यक्रम सञ्चालकले उनको जन्मस्थान, ससुराली गाउँ तथा उनको संघर्षको व्याख्या गरिरहँदा कतिपय दर्शकले पत्याएनन् । जब उनलाई नेपाली ढाकाटोपी पहिर्‍याएर सम्मान गरियो, सबै भावुक भए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले मुरलीधरकी पत्नीलाई आफूले पढाएको बताउँदा साहित्यकार दधिराज सुवेदीले मुरलीधर आफ्ना गाउँले भएको उल्लेख गरे । मुरलीधरले २०५३ सालमा मोरङ, इटहराकी विष्णुमायासँग बिहे गरेका हुन् । उनले आफू मुम्बईबाट नेपाल आएपछि फर्कन मन नलागेको बताए ।
मुरलीधरलाई सघाउन काठमाडौंबाट बाँसुरी वादक जेबी लामा र तबला वादक प्रमोद उपाध्यायसमेत आएका थिए । विराटनगरवासीले देखाएको मायाले आफू निकै भावुक बनेको र पूर्वाञ्चलमै बसेर केही गरौँ भन्ने भावना जागेको मुरलीधरले बताए । एकल साँझ सुरु हुनुपूर्व मुरलीधरलाई नेपाली कलासंगीतमा पुर्‍याएको योगदानका लागि सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया